बक्राहामा तटबन्ध : योजना ४९ करोड, बजेट ५ करोड

देवनारायण साह

(मोरङ) — बक्राहा नदीमा आउने बाढी नियन्त्रणका लागि चालु वर्षमा ४९ करोडको लागतमा ६ वटा प्याकेजको काम गर्नुपर्ने छ । सरकारले भने ५ करोड ३५ लाख मात्रै बजेट उपलब्ध गराइदिएको आयोजनाले जनाएको छ । बाढीले बर्सेनि क्षति पुर्‍याउँदै आएको छ ।

बक्राहामा तटबन्ध : योजना ४९ करोड, बजेट ५ करोड

बाढीले चुरेदेखि दक्षिणी सीमासम्मका गाउँबस्ती डुबान, कटानकासाथै खेतीबालीमा समेत ठूलो क्षति गर्दै आएको हो ।

उक्त नदीमा आउने बाढीबाट क्षति न्यूनीकरणका लागि सरकारले तटबन्ध निर्माण गर्न गत वर्षबाट कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजना कार्यालय विराटनगरमा स्थापना गरेर काम अघि बढाएको छ । उक्त नदीमा ३ अर्ब ९४ करोड ४७ लाखको लागतमा दायाँबायाँ गरी ६८ दशमलव ३५ किमि तटबन्ध, ८८ वटा स्पर, २६ वटा कल्भर्ट लगायतका निर्माण काम गर्न १० वर्षे गुरु योजना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वीकृत गरेको छ ।

स्वीकृत गुरु योजनामा कुन आर्थिक वर्षमा के के र कति काम, कति लागतमा गर्ने बारेसमेत तोकिएको छ । गुरु योजनामा यसअघि निर्माण भएको ५३ दशमलब २७ किमि तटबन्धको मर्मतसमेत गर्नुपर्ने उल्लेख छ । आयोजना प्रमुख भिलानन्द यादवले बक्राहा नदीमा आउने बाढीले बर्सेनि क्षति पुर्‍याउँदै आएकाले तटबन्ध निर्माणको काम समयमा गर्नु आवश्यक रहेको बताए ।

‘बक्राहा नदीको क्याचमेन्ट एरिया ४ सय ३० वर्ग मिटर भएकाले बर्सेनि अत्यधिक बाढी आउने गरेको छ,’ उनले भने, ‘वर्षा भएपछि एकैचोटि बाढीको भेल आउँदा बालुवा माटोको तटबन्ध कटान गरेर गाउँ पस्दा क्षति हुने गरेको छ ।’

गत वर्षदेखि आव ०८४/८५ सम्ममा तटबन्ध निर्माण गर्नुपर्ने विस्तृत अध्ययन प्रतिवेदन तत्कालीन जल उत्पन्न प्रकोप व्यवस्थापन विभागले ०७४ कात्तिक १५ गते स्वीकृत गरेको यादवले बताए ।

‘मन्त्रालयका सचिव डा. संजय शर्माले ४ वर्षको १ अर्ब ४७ करोड २ लाख १५ हजारको खरिद गुरु योजना ०७६ असार १ गते स्वीकृत गरेर काम अघि बढाएको छ,’ उनले भने, ‘स्वीकृत गुरु योजना अनुसार चालु वर्षमा ४९ करोड बजेटमा ५ वटा ठेक्का र एउटा प्याकेजको काम उपभोक्ता समितिबाट गराउनु पर्ने हो तर सरकारले ५ करोड ३५ लाख मात्रै बजेट विनियोजन गरिदिएर समस्या भएको हो ।’

असार २२ गते आएको बाढीबाट तटबन्ध र गाउँ जोगाउन तटबन्ध, स्पर निर्माण र बाँसको परकुपाइन राख्न ३ करोड २१ लाख भएको खर्च पनि यही बजेटबाट भुक्तानी गर्दा चालु वर्षमा काम गर्न २ करोड १४ लाख बजेट मात्रै बाँकी रहेको उनले सुनाए । उक्त बजेट एउटा पनि प्याकेजको काम सम्पन्न गर्न नसकिने र नदीमा अधुरो काम गरेर बाढीले बगाउने भएकाले चालु वर्षमा काम अगाडि बढाउन नसकिने यादवको भनाइ छ ।

आयोजनामा तीन नदी थप

सरकारले यस वर्ष तटबन्द निर्माणका लागि मोरङस्थित लोहन्द्रा, चिसाङ र डाँस खोलासमेत कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजना कार्यालयको कार्य क्षेत्रभित्र राखेर बजेट विनियोजन गरेको छ । चालु वर्षमा तीन वटै खोलाको तटबन्ध निर्माणका लागि ३०/३० लाख र सर्वेक्षण, अध्ययन र गुरुयोजना निर्माणका लागि ५/५ लाख बजेट आएको आयोजना प्रमुख यादवले बताए ।


प्रकाशित : कार्तिक ५, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?