३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फक्तालुङ दर्शन आजदेखि

कान्तिपुर संवाददाता

ताप्लेजुङ — किराँत धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मानिएको फक्ताङलुङ दर्शन मेला सुरु भएको छ । कात्तिक ५ गतेबाट सुरु भएको फक्तालुङ दर्शन सेवा ११ गतेसम्म चल्ने छ । यो वर्ष देश–विदेशका गरी ८ सय यात्रु जाने आयोजकले बताएका छन् ।

फक्तालुङ दर्शन आजदेखि

यो वर्ष इलामको लारुम्बाबाट धर्मगुरु आत्मनन्द लिंदेन र उहाँकी धर्मपत्नी समेत सेवामा जाने भएकाले यसलाई विशेष उत्सवका रूपमा मनाइँदैछ ।


राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले तपस्या गरेको स्थलमा बर्सेनि पूजाआजा तथा तपस्याका लागि तीर्थयात्री जान्छन् । देशविदेशबाट आएर यहाँ जानेका लागि समन्वय गरिरहेको फक्तालुङ टेकिङ एजेन्सी प्रालिका ताप्लेजुङ संयोजक गंगाबहादुर कङलिवाका अनुसार तराईबाट ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म आउने र फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको रानीपुलसम्म जानेका लागि गाडी व्यवस्था गरिएको छ ।


त्यहाँबाट भने पैदल यात्रा गर्नुपर्छ । कात्तिक ७ र ८ गते दुईदिन हेलिकप्टर सेवा पनि सञ्चालन गरिने भएको छ । सुकेटारबाट चल्ने हेलिकप्टरका लागि प्याकेजको ९० हजार रुपैयाँ भाडा निर्धारण गरिएको उनले बताए । ‘कुन एयरलाइन्सको हेलिकप्टर चल्ने भन्ने विषयमा मंगलबार बिहानसम्ममा टुंगो लाग्छ,’ कङलिवाले भने ।


ट्राभलका अनुसार सोमबार ६५ जनाको टोली सदरमुकाम फुङलिङबाट गएको र मंगलबार १ सय ६५ जनाको टोली पैदलयात्रा गरेर जाने तयारीमा रहेको छ । धार्मिकस्थल ४२ सय मिटर उचाइमा रहेको र चिसो भएकाले तीर्थयात्रीलाई ओड्ने आफैंले बोकेर आउन सूचना गरिएको आयोजक सदस्य चरपे लिम्बूले बताए ।


यसको नजिकै खम्बाछेन बस्ती भए पनि कञ्चनजंघा हिमालको बेसक्याम्प जानेले भरिएकाले ओड्ने ओछ्याउनेको समस्या रहेको चरपे बताउँछन् । बस्नेहरूका लागि सामान्य व्यवस्थाका लागि भने १५ दिन अघिदेखि एउटा समूह क्रियाशील छ । तपस्या गर्नेहरूका लागि पाल ओडाएर व्यवस्थापन गरिएको हो ।


विदेशमा बस्नेहरूले यो समयमा बिदा मिलाएर आउने र हेलिकप्टरमार्फत् गएर पनि दर्शन गरेर फर्कने गरेका छन् । यो सिजनमा दर्शन गर्न जानेले २४ दिने यात्रा पनि गरेको पाइन्छ । लारुम्बामा गुरुको आशीर्वाद लिएपछि सुरु हुने यात्रा पोखरी, ताल हुँदै फक्ताङलुङमा गएर दर्शन गरेर फर्किएपछि टुंगिने गरेको छ । कतिपयले हिमाली क्षेत्रमा पालिएका चौंरीलाई नुन, पिठो पनि खुवाउने गरेको चरपे बताउँछन् ।


प्रकाशित : कार्तिक ५, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?