धरानमा समाजवादीको उम्मेदवारी

कान्तिपुर संवाददाता

सुनसरी — समाजवादी पार्टीले धरान उपमहानगरको प्रमुख पदको उम्मेदवारका लागि सर्वसम्मतले गजेन्द्र इस्वोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको जिल्ला, प्रदेश तथा केन्द्रका नेता र सल्लाहकारसमेतको बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि यो निर्णय गरेको हो ।

धरानमा समाजवादी नेकपा र कांग्रेसपछि तेस्रो शक्तिका रूपमा छ । समाजवादीले इस्वोको नाम सिफारिस गरेपछि कांग्रेसले समाजवादीसँग गठबन्धन गर्ने रणनीतिको ‘च्याप्टर क्लोज’ भएको समाजवादीका नगर अध्यक्ष ताजुव लिम्बूले बताए ।


उनले धरानको उपचुनावमा कांग्रेससँग समाजवादीको गठबन्धनको सम्भावना समाप्त भएको बताए । पार्टीको बैठकले कांग्रेससँग गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने सुझाव र दबाब दिएपछि इस्वोको नाम सर्वसम्मत गरिएको थियो ।


पार्टीको उक्त निर्णयसंगै जनअभिमत थाहा पाउनका लागि पनि एक्लै चुनाव लड्ने र सकेसम्म जित हासिल गर्न कोसिस गर्ने भन्ने राय, सुझाव आएको आधारमा पार्टीको वडा अध्यक्षहरूको संयुक्त बैठकले पनि गठबन्धन गर्न नहुने भन्दै पार्टीलाई दबाब दिएको थियो ।


इस्बो पूर्व एमालेका इमान्दार कार्यकर्ता मात्र नभएर व्रिटिस गोर्खा सैनिक संघका गेसोका केन्द्रीय सदस्य, धरानका दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आबद्ध सक्रिय समाज सेवीका रुपमा चिनिन्छन् ।


प्रकाशित : कार्तिक ५, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?