कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकल्प नहुँदा गाँजा खेती

बाख्रापालन र सुन्तला खेतीलाई गाउँपालिकाले ५० हजार नगदसहित ५० प्रतिशत अनुदान दिए पनि किसान आकर्षित भएनन्
डिल्लीराम खतिवडा

उदयपुर — जीविकोपार्जनको विकल्प नहुँदा उदयपुरको पश्चिम उत्तर क्षेत्रका किसान फेरि गाँजा खेतीमै फर्किएका छन्  । ३ वर्षयता गाँजा खेती छाडेर विकल्प खोज्दै बसेका किसान सोचेजस्तो उपलब्धि नपाएकाले गाँजा खेतीमा फर्किएका हुन्  ।

दुई दशकभन्दा बढी गाँजा खेतीमै लागेका किसान सरकारी स्तरबाट त्यसको विकल्पको पर्खाइमा थिए । ०४८ यता झन्डै २५ वर्ष ताप्ली गाउँपालिका र आसपासको क्षेत्रमा गाँजा खेती हुँदै आएको जानकार बताउँछन् ।


सशस्त्र द्वन्द्वका बेला फस्टाएको गाँजा खेती पश्चिम उत्तरका साविक १२ गाविसमा हुने गरेको थियो । मुलुक शान्ति प्रक्रियामा गएसँगै प्रहरी प्रशासनको कडाई र स्थानीय तहको गठनपछि गाँजा खेती क्रमश: घट्दै गएको थियो । पछिल्लो ३ वर्ष संघ, प्रदेश र स्थानीय सरकारले विकल्प अन्य खेतीमा दिन्छ कि भन्ने आशमा संलग्न किसान पर्खिरहेका थिए । ‘गाँजाबाट छोटो समयमा मोटो रकम हात पार्ने बानिपरेका किसानको अन्य खेतीमा आँखै लागेन,’ ताप्ली गाउँपालिकका अगुवा किसान समेत रहेका कृषि अभियन्ता तोपबहादुर ज्यूठकुरीले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजाना अन्तर्गत ताप्ली गाउँपालिकामा अमिलो जात (विशेष गरेर सुन्ताल जोन­) कार्यक्रम लागू गरेको, त्यसले किसानलाई गाँजको विकल्पमा सुन्ताल खेतीका लागि सहयोग गरे पनि किसानले खासै चासो देखाएनन् ।’


रोपेको सुन्तालको बोट पनि खडेरीले खायो, उत्पादन ढिलो हुँदा आम्दानी पनि ढिलो हुने भएकाले पनि किसान सुन्तला खेतीमा नलागेको उनले बताए । तर, पहिलेको जस्तो गाँजा खेती भने अहिले छैन । ५/७ वर्षअघिसम्म अन्य बाली छोडेर जताततै गाँजामात्रै खेती हुने गरेको थियो । अहिले सडकले छोएको, झट्ट र्हेदा देखिने र सबैको नजर पर्ने स्थानमा गाँजा खेती नभएको स्थानीय बताउँछन् ।


‘सडक पुगेको स्थानमा गाँजा खेती छैन,’ कृषि अभियन्ता ज्यूठकुरीले भने, ‘तर अन्य स्थानमा पुन: खेती हुन थालेको छ ।’ गाँजा खेती गर्ने ताप्ली गाउँपालिका क्षेत्रका किसानको पहिले जीवनस्तर माथि उठेको थियो । गाँजाबाटै वार्षिक लाखौं रुपैयाँ आम्दानी हुँदा छोराछोरीलाई काठमाडौं, धरान, विराटनगर लगायतमा मुख्य सहरमा राखेर उच्चशिक्षा अध्ययन गराएका थिए । गाँजाकै आम्दानीबाट १५ परिवारले सुनसरीको झुम्कामा घडेरी जोडेको स्थानीयले बताए । तर, गाँजा खेती छोडेपछि बिस्तारै त्यही घडेरी बिक्री गर्दै खाँदै गर्दा अहिले १४ जनाले बिक्री गरिसकेको उनीहरू बताउँछन् ।


‘वार्षिक ५/७ लाख आम्दानी हुने भएपछि खाने, लाउने र मोजमस्ती गर्ने बानी परियो,’ केही वर्षअघिसम्म गाँजा खेती गर्दै आएका ५९ वर्षीय वीरबहादुर रास्कोटीले भने, ‘राम्रो आम्दानी हुँदा प्राय: मासु भात नै खाइयो, गाँजा खेती नै गरेर भए पनि चिटिक परेको लुगा लगाइयो, छोराछोरीलाई राम्रो ठाउँमा राखेर पढाइयो ।’ घर घडेरी जोडिए पनि अहिले खेती हुन छोडेपछि त्यसैलाई बिक्री गरेर खाँदै गरेको उनले बताए ।


हिजो गाँजा खेतीमा संलग्नलाई ठूलो रकम खेलाउने बानी परिसकेको छ । झन्डै २० वर्षसम्म वार्षिक १० लाख रुपैयाँसम्म कमाई गर्ने किसान अहिले १० हजार पनि कमाई नहुँदा डिप्रेसन भए जस्तै भएका छन् । त्यसैले तरकारी, मसला (अदुवा, बेसार, तेजपात), फलफूल, बाख्रा पालनमा खासै आकर्षित हुन सकेका छैनन् । गाउँपालिकाले विकल्प दिएको छ । सुन्तला लगायत अमिलो जातको फलफूल खेती जोन कार्यक्रमबाट सुन्तला लगायत अमिलो जातमा अनुदान समेत दिएको गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताए । ‘तर, गाँजाको जस्तो छिटो र धेरै आम्दानी हुने नदेखेर किसान खासै आकर्षित भएका छैनन्,’ प्रमुख थापले भने, ‘त्यसमा पनि गएको फागुनदेखि असारसम्मको खडेरीले लगाएका बिरुवा मरेपछि किसान झनै निराश भए ।’

एकमुष्ट मोटो रकम आम्दानी गर्दै आएका किसान सुन्तला र मसला जातको खेतीसँगै बाख्रा पालनबाट आम्दानी नहुने देखेपछि पुरानै खेतीमा लगेको उनले बताए ।


ताप्ली गाउँपालिका सुन्ताललगायत बाख्रा पालनका लागि ठूलो सम्भावना बोकेको क्षेत्र हो । त्यसैले गाँउपालिकाले पनि गाँजाको विकल्पमा सुन्तला खेती र बाख्रा पालन गर्ने किसानलाई ५० हजार रुपैयाँ ५० प्रतिशतमा अनुदान दिने योजना अघि सारेको थियो । तर, त्यसमा पनि किसान खासै आकर्षित नदेखिएको प्रमुख थापाले बताए ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?