१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डाँडामा सुन्दर पार्क

कान्तिपुर संवाददाता

काँकडभिट्टा — बीपी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृतिमा वनवाटिका निर्माणका लागि करिब १० कठ्ठा सरकारी जमिन छुट्याइएको थियो  । जहाँ बेला–बखत वृक्षरोपण हुन्थ्यो  ।

बस्तीभन्दा अलि परै भएकाले लागु पदार्थका दुव्र्यसनीको अखडा जस्तै थियो । थुप्रिएको फोहोर देख्दा डम्पिङसाइट जस्तो पनि लाग्थ्यो । यस्तो दुर्गन्धित डाँडामा सुन्दर पार्क बनेको छ । काँकडभिट्टाको ‘पञ्चायत डाँडा’ पहिले सर्वसाधारण जान समेत डराउने ठाउँ थियो । यतिबेला बालबालिकादेखि वृद्धवृद्धासम्म टहलिने उपयुक्त स्थल बनेको छ ।


दुर्गन्धित डाँडालाई सुन्दर पार्कको स्वरुप दिने मुख्य श्रेय स्थानीय होटल व्यवसायी रामबहादुर तामाङलाई जान्छ । बीपी–पुष्पलाल पार्क तथा सहिद स्मृति उद्यान निर्माणको नेतृत्व गरेका तामाङले करिब तीन वर्षमा दुर्गन्धित डाँडालाई कायापलट गरिदिए । ‘यसलाई सुन्दर पार्क बनाउने काममा हाम्रो सिंगो टिमले काम गरेको छ,’ तामाङले सुनाए, ‘हामी नलागेको भए अवस्था यस्तो हुने थिएन होला ।’


पर्यटन मन्त्रालय अन्तर्गत तत्कालीन विराट क्षेत्र प्रवद्र्धन विकास समितिले पार्क निर्माणको आरम्भका लागि ५ लाख रुपैयाँ उपलव्ध गराएको थियो । त्यही सानो रकमबाट तामाङले काम थाले । ‘५ लाखले जमिन बारबेर गर्न मात्रै पुग्यो,’ उनले सुनाए, ‘त्यसपछि थप बजेटका लागि नगरपालिकासँग प्रस्ताव गरियो ।’

नगरपालिकाले पनि ५ लाख निकासा गरिदियो । त्यो रकमले पार्कमा फलामे बेन्च, वृक्षरोपण, चिनिया झार रोपणलगायतका काम गरे । बजेट सकियो । काम अधुरै रह्यो । वडा नम्वर ६ वाट थप ५० हजार प्राप्त भयो । रेलिङहरू बनाए । नगरले गत वर्ष पुन: २ लाख दियो । त्यो रकमवाट अन्य काम गरे । दुर्गन्धित डाँडा दिनदिनै हेर्न लायक बन्दै थियो । यही मेसोमा स्थानीयवासी समेत रहेका प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको पहलमा प्रदेशको पर्यटन मन्त्रालयबाट १६ लाख ८० हजार बजेट उपलब्ध भयो । यो रकमले पार्क निर्माणमा राम्रै सहयोग पुग्यो ।


प्रदेश सरकारले पुन: करिब २० लाख जति बजेट विनियोजन गरेको तामाङले बताए । उनले भने, ‘यो रकम आएपछि पार्क निर्माण लगभग पूर्ण हुनेछ ।’


तामाङका अनुसार काँकडभिट्टा हुँदै नेपाल भित्रने पर्यटक र आन्तरिक पर्यटकका लागि घुम्ने, समाइलो गर्ने उपयुक्त स्थान थिएन । त्यही भएर पार्क निर्माणको योजना बनेको सुनाए ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?