१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बक्राहा खोलामा तटबन्ध निर्माण : खरिद गुरु योजना ४९ करोड, बजेट ५ करोड

देवनारायण साह

मोरङ — बक्राहा खोलामा आउने बाढीबाट क्षति न्यूनिकरणका लागि सरकारले तटबन्ध निर्माण कार्य अगाडि बढाएको छ । गत वर्षबाट कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना कार्यालय विराटनगरमा स्थापना गरेर सरकारले नदी नियन्त्रणका लागि काम अघि बढाएको हो । 

बक्राहा खोलामा तटबन्ध निर्माण : खरिद गुरु योजना ४९ करोड, बजेट ५ करोड

३ अर्ब ९४ करोड ४७ लाखको लागतमा नदीको दायाँबायाँ गरी ६८.३५ किलोमिटर तटबन्ध, ८८ वटा स्पर, २६ वटा कल्भर्ट लगायतका निर्माण काम गर्न १० वर्षे गुरुयोजना ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले स्वीकृत गरेको छ । स्वीकृत गुरु योजनामा कुन आर्थिक वर्षमा के के र कति काम, कति लागतमा गर्ने बारे समेत तोकिएको छ । गुरु योजनामा यसअघि निर्माण भएको ५३.२७ किलोमिटर तटबन्धको मर्मतसमेत गर्नुपर्ने उल्लेख छ ।


चालू आर्थिक वर्षमा ४९ करोडको लागतमा ६ वटा प्याकेजको काम गर्नुपर्ने गुरु योजनामा उल्लेख छ तर सरकारले ५ करोड ३५ लाख मात्रै बजेट उपलब्ध गराइदिएको आयोजनाले जनाएको छ ।


आयोजना प्रमुख भिलानन्द यादवले बक्राहा नदीमा आउने बाढीले वर्षेनी क्षति पुर्‍याउँदै आएकोले तटबन्ध निर्माणको काम समयमा गर्नु आवश्यक रहेको बताए । ‘बक्राहा नदीको क्याचमेन्ट एरिया ४ सय ३० वर्ग किलोमिटर भएकोले वर्षेनी अत्यधिक बाढी आउने गरेको छ,’ उनले भने, ‘वर्षा भएपछि एकैचोटी बाढीको भेल आउँदा बालुवा माटोको तटबन्ध कटान गरेर गाउँ पस्दा क्षति हुने गरेको छ ।’ गत वर्षदेखि आर्थिक वर्ष ०८४/८५ सम्ममा तटबन्ध निर्माण गर्नु पर्ने विस्तृत अध्ययन प्रतिवेदन तत्कालीन जल उत्पन्न प्रकोप व्यवस्थापन विभागले ०७४ कार्तिक १५ गते स्वीकृत गरेको यादवले बताए ।


असार २२ गते आएको बाढीबाट तटबन्ध र गाउँ जोगाउन तटबन्ध, स्पर निर्माण र बाँसको परकुपाइन राख्न ३ करोड २१ लाख भएको खर्च पनि यही बजेटबाट भुक्तानी गर्दा चालु आर्थिक वर्षमा काम गर्न २ करोड १४ लाख बजेट मात्रै बाँकी रहेको उनले सुनाए । उक्त बजेटले एउटा पनि प्याकेजको काम सम्पन्न गर्न नसकिने र नदीमा अधुरो काम गरेर बाढीले बगाउने भएकोले चालु आर्थिक वर्षमा काम अगाडी बढाउन नसकिने अवस्था रहेको यादवको भनाई छ ।


यस्तै सरकारले यस वर्ष तटबन्ध निर्माणका लागि मोरङस्थित लोहन्द्रा, चिसाङ र डाँस खोलासमेत कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना कार्यालयको कार्य क्षेत्रभित्र राखेर बजेट विनियोजन गरेको छ ।

प्रकाशित : कार्तिक ३, २०७६ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?