२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दूषित पानी बेच्ने धरौटीमा रिहा

कान्तिपुर संवाददाता

विराटनगर — दिसामा पाइने जीवाणु ‘कोलिफर्म’ मिसिएको पानी बेच्ने विराटनगर–७, बुद्धमिलन चोकस्थित ओम जेके पानी उद्योगका तीन सञ्चालकलाई जिल्ला अदालत मोरङले शुक्रबार जनही २ लाख रुपैयाँ धरौटी लिएर छाडेको छ । 

थुनछेक बहस लगतै न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले दिएको आदेश अनुरूप उद्योगका सञ्चालकहरू सुनसरी कोसी गाउँपालिका–१ का २९ वर्षीय जितेन्द्र यादव, महोत्तरीका २९ वर्षीय कैशलेन्द्र कुमार कर्ण र सप्तरी कंकालिनी नगरपालिका–१ का २७ वर्षीय ओमप्रकाश राउतले धरौटी बुझाएका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य ऐन २०२३ अन्तर्गत ‘गुणस्तरहीन प्रशोधित पिउँने पानी उत्पादन तथा बिक्री–वितरण’ मा मुद्दा दर्ता गरेको थियो ।


उक्त कार्यालयले कानुनी प्रावधान अनुरूप ५० हजार जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गरेको छ । उक्त उद्योगले ‘एच टू’ नामबाट जार र बोतलको पानी बेच्दै आएको छ । उक्त कार्यालयले १७ भदौमा उक्त पानी उद्योगको आकस्मिक अनुगमन गर्दा शौचालयको सेफ्टी ट्यांकी नजिक उत्पादनमा प्रयोग हुने बोरिङ मेसिन राखिएको फेला परेको थियो । अनुगमन टोलीले तत्कालै उद्योगको पानीको उत्पादन एवं बिक्री–वितरणमा रोक लगाएर नमुना संकलन गरेको थियो । झन्डै एक महिना लगाएर उद्योग सञ्चालकहरूको बयान र अनुसन्धान प्रक्रिया पूरा गरेपछि उक्त कार्यालयले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा बिहीबार मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित : कार्तिक ३, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?