अस्पताल छ उपचार छैन

कान्तिपुर संवाददाता

(भोजपुर) — रामप्रसाद राई गाउँपालिकाकी कमला राई सदरमुकामस्थित भोजपुर नगरपालिका वडा ९ मा कोठा भाडामा बस्थिन् । उनलाई राति २ बजेतिर प्रसूति व्यथाले च्याप्यो । सदरमुकामको जिल्ला अस्पतालकै छेउमै भए पनि उनलाई अस्पताल लाने समय पुगेन । परिवारको सहयोगमा उनले डेरामै छोरा जन्माइन् । 

परिवार खुसी भयो । कमलाले पनि छोरा जन्मिएको खुसीमा प्रसव पीडालाई बिर्सेर मुहारमा खुसी देखाइन् । तर, उनको र परिवारको खुसी धेरैबेर टिकेन । छोरा जन्माएको धेरै समयसम्म पनि उनको श्राव कम भएन । उनलाई झन् गाह्रो भयो । परिवार चिन्तित बन्यो । राति नै हतारहतार जिल्ला अस्पताल पुर्‍याइयो । त्यहाँ उनको उपचार सम्भव भएन । डाक्टरले सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दिए । लान त लाने । तर कसरी रातको समय । परिवार दुविधामा पर्‍यो । उनले अकालमा ज्यान गुमाउनु परेन । तत्कालै हेलिकोप्टरमार्फत उद्धार गरेर उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा पु‍र्‍याइयो । समयमै उपचार पाएर उनी बाँचिन् । कमलाको घटना त भोजपुरका लागि एउटा उदाहरण मात्र हो । यहाँका सयौं बासिन्दाले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।


भोजपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गोपाल कार्कीका अनुसार भोजपुर स्वास्थ्यका क्षेत्रमा निकै पछि परेको जिल्ला हो । रातको समयमा कसैलाई स्वास्थ्य समस्या परे उसले भोलिपल्ट बिहानसम्म पर्खनैपर्ने अवस्था रहेको उनी बताउँछन् । उनले भने, ‘जिल्लामा सुविधासम्पन्न अस्पताल छैन । यातायातको साधन सहज सञ्चालनका लागि सडकको अवस्था पनि सुधार भइसकेको छैन भने हवाइ उडानको कुनै टुंगो छैन ।’ भोजपुर सदरमुकाममा एउटा जिल्ला अस्पताल त छ । तर, यो आफैं बिरामी हालतमा छ । पछिल्लो समय अस्पतालमा डाक्टर समेत छैनन् । न त आवश्यक उपकरण नै छन् । अस्पतालका लागि अहिले ५० शय्या बराबरको भवन पनि बन्दै छ । अस्पतालमा स्वास्थ्यकर्मी भए पनि आवश्यक उपकरण र साधनको अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ ।


छैन ब्लड बैंक

जिल्लाको अर्को मुख्य समस्या भनेको हालसम्म पनि ब्लड बैंक स्थापना हुन नसक्नु हो । समय समयमा ब्लड बैंक सञ्चालनका विषयमा चर्चा चल्छ, त्यत्तिकै सेलाउँछ । कुनै सुत्केरी महिला वा अन्य बिरामीलाई रगत आवश्यक परेमा जिल्लाका सुरक्षाकर्मी र आफन्तले रगत दिनुपर्छ । रगत सञ्चय गरेर राख्ने व्यवस्था नभएकै कारण कतिपय बिरामीको रक्तसमूहको रगत पाइँदैन । र बिरामीले मृत्युवरण गर्नुको विकल्प छैन ।


भर छैन हवाई उडानको मात्र सातामा केही उडान गर्छ । त्यो पनि नियमित हुँदैन । कहिले मौसम बिग्रेर उडान स्थगित, कहिले जहाज नै बिग्रेर । यस्तो अवस्थामा जिल्लाबासीलाई सारोगाह्रो पर्दा एकमात्र भरपर्दो साधन भनेको हेलिकोप्टर नै हो । गाडीबाट जानका लागि सडकको समेत राम्रो व्यवस्था छैन ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?