१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बुर्काबाट बाहिरिँदा....

सुम्निमा चाम्लिङ

इटहरी — अरू समुदायसँग घुलमिल गर्न नपाइने । घरबाहिर निस्कन कडा नियम । कतै जानुपर्ने भए कालो बुर्का वा हिजाब लगाएर मात्रै निस्कनुपर्ने । त्यो पनि परिवारको अनुमति लिएर ।

बुर्काबाट बाहिरिँदा....

थुप्रै समुदाय मिलेर बसेको समाजमा आफूजस्तै अरूले पर्दा बाहिर निस्कन पाएका छन्, मुस्लिम महिलाका लागि नियम कडा छन् । कतिपय मुस्लिम महिलाले भने यस्तो समस्या झेल्दै साहसका साथ सामाजिक काममा आफूलाई समर्पित गरिरहेका छन् । यसको उदाहरण बनेकी छन्– इनरुवा बबिया चोककी ३८ वर्षीया सहजादी प्रवीन ।


डेढ दशकदेखि महिला अधिकारका क्षेत्रमा सक्रिय उनी पूर्वाञ्चल महिला मानव अधिकार सञ्जालकी सदस्य हुन् । हरेक क्षेत्रमा मुस्लिम महिलाको न्यून उपस्थित रहेको अवस्थामा विवाहित महिलालाई घरबाहिर निस्कनु चानचुने कुरा होइन । समाज र परिवारको डर पालेर आफ्नो आकांक्षा मार्ने कैयौं मुस्लिम महिला छन् । उनी भने सामाजिक काममा मग्न छिन् ।


उनी मोरङको विराटनगरमा हुर्किन् । निजी विद्यालयमा पढ्ने अवसर पाइन् । कक्षा १० मा पढ्दै गर्दा हजुरआमाको अडानका कारण उनको १५ वर्षको उमेरमै विवाह भयो । परिवार छोरीका लागि कडा नियम मान्दैनथ्यो । त्यसैले विराटनगरमा हुर्केकी उनलाई बाल्यकालमा मुस्लिम समुदायका कडा नियम पालन गर्नुपरेको थिएन । विवाहपछि निकै बाँधिनुपर्‍यो । ठूलो परिवार भएकाले खाजा र खाना बनाउँदा नै दिन बित्ने गरेको थियो ।


व्यक्तिगत खर्चका लागि समेत परिवारको सदस्याको आस गर्नुपर्ने अवस्था थियो । घरबाट बाहिर आफूखुसी निस्कन पाइँदैनथ्यो । पारिवारिक वातावरण यतिसम्म कडा थियो कि, दैलो बाहिरसम्म जाने आँट महिला सदस्यको हुँदैनथ्यो । उनी भन्छिन्, ‘घरको सिकुवासम्म निस्कँदासमेत श्रीमान्ले गाली गर्नुहुन्थ्यो । यस्तो अवस्थामा खुलेर काम गर्ने भन्ने टाढाका कुरा थियो ।’


घरेलु हिंसापीडित उनले एक कठोर निर्णय गरिन् । ‘अब चुपचाप बसेर हुँदैन, संघर्ष गर्छु भन्ने निर्णय गरें,’ उनले भनिन्, ‘घरदेखि बाहिर संसार हेर्ने र महिलाको क्षेत्रमा काम गर्ने चाहना थियो ।’ जब उनले संघर्ष गर्ने निर्णय गरेकी थिइन्, त्यहीबेला एक नातेदारले वडामा स्वयंसेविकाको जागिर खुलेको बताए । त्यसका तलबको व्यवस्था थिएन ।


उनलाई पैसाभन्दा घरदेखि बाहिर निक्लने वातावरण चाहिएको थियो । उनले मौकालाई सदुपयोग गरिन् । घर बाहिर निस्कँदा दोस्रो सन्तान भइसकेको थियो । तीन महिने नानी लिएर तालिम लिन पुगेकी थिइन् । आफूलाई घरबाहिर पनि काम गर्न पाउँदा थप ऊर्जा बढ्दै थियो । महिलाको क्षेत्रमा काम गर्ने संस्थासँग पनि जोडिने मौका पाउन थालिन् ।


घरको कामलाई समेत अघि बढाउँदै आफूलाई अब्बल सावित गर्दै अघि बढ्दै गइन् । सुरुका दिनमा परिवारबाट सहयोग थिएन । तैपनि आत्मविश्वासका साथ कामलाई निरन्तरता दिँदै गइन् । विस्तारै श्रीमान् र परिवारबाट सहयोग मिल्दै गयो । ‘अधिकारको क्षेत्रमा काम गर्न थालेपछि वर्कसपहरूमा जानुपर्ने हुन्थ्यो,’ उनले भनिन्, ‘होटलमा कार्यक्रमहरू हुन्छ भन्दै फेरि श्रीमान्ले रोक्न खोज्नुभयो । तर मैले विस्तारै बुझाएँ ।’ स्नातक पूरा गरेका श्रीमान्ले समेत साथ नदिँदा दुःख लाग्ने गरेको उनले बताइन् ।


कार्यक्रमहरूमा महिला दिदीबहिनीसँग भेट्न पाउँदा महिलाको क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच आउने गर्थ्यो । कुनै समय श्रीमान्ले छाडेमा जीवन सकियो ठान्ने बुझेकी सहजादी, हिजोआज महिला हकअधिकारको विषयमा आवाज उठाउँदै आएकी छन् । तीन सन्तानकी आमा उनी अनुभवले खारिएकी छन् ।


उनको घरमा हिंसापीडित महिला सहयोग माग्न आउँछन् । सकेको सहयोग र पैरवी गरिदिने गर्छिन् । आर्थिक रूपमा भरपर्दो नभए पनि काम गर्दा आत्मसन्तुष्टि मिल्ने उनी बताउँछिन् ।


महिला अधिकारको क्षेत्रमा काम गर्दा राजनीतिक दबाब झेल्नुपरेको अनुभव सुनाइन् । यस्तो अवस्थामा सामूहिक रूपमा समाधान गर्ने गरेको बताइन् । कुनै समय समाजले उनको विरोध गर्ने गर्थे । अचेल त्यही समाज उनलाई देखेर गर्व गर्छन् ।

प्रकाशित : कार्तिक २, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?