कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ठगिएकाहरूले पाएनन् न्याय

विनु तिम्सिना

विराटनगर — मोरङको कानेपोखरी–५ का मनीषकुमार राजवंशी क्यानाडा जाने प्रलोभनमा ठगिए । काठमाडौं बसोबास गर्ने असिम गुरुङले क्यानाडा लैजाने भन्दै १३ लाख रुपैयाँ लिएर बेपत्ता भएको उनको भनाइ छ ।

आठ महिनाअघि पैसा लिएर हिँडेका गुरुङ सम्पर्कमा छैनन् । विराटनगरस्थित श्रम कार्यालयमा प्रेम सञ्जेल प्रमुख भएर आएपछि वैदेशिक रोजगारका नाममा ठगिएका आफूजस्ता धेरै पीडितको डुबेको रकम फिर्ता भएको सुनेका राजवंशी श्रम कार्यालय पुगे ।


भदौ १५ मा श्रम कार्यालयमा उजुरी दिएका उनी कुनै कारबाही नभएपछि निराश छन् । मोरङकै ग्रामथान–५ का हेमनारायण चौधरी पनि मोरिसस पुग्ने प्रलोभनमा ठगीमा परे । सुनसरी इटहरीका विवेक पोखरेलले मोरिसस लगिदिने भन्दै ७ लाख ७० हजार रुपैयाँ लगेको उनले गुनासो गरे ।


चौधरीले भने, ‘मोरिसस लाने भन्दै मलाई काठमाडौंमा ३ महिना र दिल्लीमा २ महिना राखियो ।’ यसरी महिनौं काठमाडौं र भारतको दिल्लीमा अल्झाएपछि उनले आफू ठगिएको थाहा पाए । दुःख गरेर कमाएको रकम दलालले ठगेपछि उनले पनि श्रम कार्यालयमा उजुरी दिए तर सुनुवाइ भएन । वैदेशिक रोजगारीमा पठाउने भन्दै दलालबाट ठगिएका पीडितहरू दैनिक उजुरी दिन श्रम कार्यालयमा आउँछन् ।


कार्यालयले भने उजुरी नै लिन छाडेको छ । श्रम कार्यालय प्रमुख सञ्जेललाई ठगीका मुद्दा नहेर्न भन्दै श्रम विभागले रोक लगाएपछि पीडितहरू निराश हुँदै फर्कनु परेको हो ।


आफ्नो कार्यकालको छोटो अवधिमै धेरै ठगिएका पीडितको २ करोड १२ लाख बढी ठगी रकम उठाएर प्रशंसा कमाएका सञ्जेललाई श्रम विभागले ठगी मुद्दा नहेर्न भन्दै पत्र पठाएको छ ।


विभागका निर्देशक राजेश्वर अर्यालले गत वैशाख ३१ मा वैदेशिक रोजगारीको नाममा ठगीएको भन्ने उजुरीमा कुनै कारबाही नगर्न भन्दै चलानी नम्बर २७२२ को पत्रबाट सञ्जेललाई निर्देशन दिएका छन् । त्यसखालका काम जिल्ला प्रशासन कार्यालयबाट हुने पत्रमा उल्लेख छ ।


श्रम तथा रोजगार विभागले पत्र पठाउनुअघि ठगीमा परेको २ करोड १२ लाख रुपैयाँ फिर्ता गराएका छन् भने ५६ लाख रुपैयाँ फर्ता गराउने प्रक्रियामा रहेको सञ्जेलले जनाए । पत्रपछि भने आफूले ठगीका मुद्दा हेर्न नमिल्ने उनले बताए । प्रदेश १ बाहेक अन्य प्रदेशका श्रमले ठगीका मुद्दा नलिएको उनले जनाए ।

प्रकाशित : कार्तिक २, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?