३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सतायो फौजीकिराले

उदयपुर/सुनसरी — धानबाली पाकेर काट्न लागेका बेला सुनसरी, उदयपुर र झापाका विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढेको छ । प्रदेश १ को बालीसंरक्षण प्रयोगशाला विराटनगरका अनुसार झापामा सबैभन्दा बढी फौजी किराको प्रकोप देखिएको छ । बाली संरक्षण अधिकृत मुकेशकुमार यादवका अनुसार झापामा ४ सय २५ बिघा, उदयपुरमा ३ सय बिघा, सुनसरीमा ७५ बिघा र मोरङमा २० बिघामा फौजीकिराको प्रकोप देखिएको छ । 

सतायो फौजीकिराले

उदयपुरको त्रियुगा नगरपालिका १, २, ३, ५, ७ र ९ किसानले लगाएको धान बालीमा फौजी किराले क्षति पुर्‍याएको नगर कृषि शाखाले जनाएको छ । धान काट्ने बेलामा प्रकोप देखिएपछि किसान चिन्तित छन् । फौजी किरा फैलने क्रम नियन्त्रण बाहिर गएको नगरपालिकाले जनाएको छ । प्रकोप नियन्त्रणका लागि स्थानीय किसानले प्रयास गरिरहे पनि पर्याप्त भएको छैन ।


‘काट्ने तयारी गर्दा–गर्दै किराले काटेर बोट नै नष्ट गरिदिएको छ,’ त्रियुगा नगरपालिका १ जोगिदहका किसान कृष्ण अधिकारीले भने, ‘कतिपय किसानले धान काटेरै फालेका छन् ।’


पाकिसकेका धानको बाला फौजी किराले भुइँमा झारी दिँदा किसानलाई ठूलो क्षति पुगेको स्थानीयले बताए । पाकेको धानको बाला काटेर भुइँमा झरिदिँदा किसानले नोक्सानी बेहोर्नु परेको छ ।


फौजी किरा दिनभर धानको गाँजमा लुक्ने र राति एकसाथ धानबालीमा आक्रमण गर्छन् । किराले खानेभन्दा बढी काट्ने भएकाले खेतैभरि धान खसेको देखिन्छ । किसानलाई पाकेको धानबाली नै जोगाउन समस्या भएको स्थानीयले बताए ।


त्यस गरी चौदण्डीगढीको ९, १० र ५ वडामा पनि धान बालीमा फौजी किराको प्रकोप देखा परेको स्थानीयले बताए । पहिले मकैमा समान्य रूपमा देखापरेको किरा अहिले पाकेको धानबालीमा देखापरेको १० नम्बर वडाअध्यक्ष रामकुमार खडकाले बताए ।


बेलका नगरपालिका–१, २ र ५ नम्बर वडामा पनि धान बालीमा फौजी किराले क्षति पुर्‍याएको बेलका नगरपालिका नगर प्रमुख दुर्गाकुमार थापाले बताए । धान खेतीमा एक्कासि ठूलो संख्यामा किरा आएर धानबाली क्षति पुर्‍याएपछि किसानले नगरपालिकामा जानकारी गराएको र नगरपालिका र प्रदेश कृषि मन्त्रालयको टोलीले अध्ययन गरेपछि मात्र फौजी प्रमाणित भएको बेलका नगरपालिकाका कृषि इन्जिनियर वृद्धिनाथ तिम्सिनाले बताए ।


सुरुमा थोरै धान खेतीमा देखा परेको फौजी किराले एक रातमै ५ सय हेक्टरभन्दा बढी जमिनमा लगाएको धानबालीमा क्षति पुर्‍याएको तिम्सिनाले बताए ।


‘विगत वर्षभन्दा यस वर्ष धान निकै राम्रो भएको थियो,’ तिम्सिनाले भने, ‘एक कठ्ठामा साढे दुई क्विन्टल फल्ने अनुमान गरेका थियौं ।’ तर, घरमा भित्र्याउने बेला फौजी किराले सखाप पारेको उलने बताए ।


पाकेर धान घर भित्र्याउने समयमा फौजी किराले नष्ट बनाएको किसानले गुनासो गरे । ‘लहलह बाला झुलेको खेतमा अहिले बाला नै देखिँदैन’ स्थानीय किसान ध्रुव कोइरालाले भने, ‘बेलकाका किसानले लगाएको धानमा दिनप्रति दिन फौजी किरा फैलिँदै गएको छ ।’ बेलकाको दुई वटा वडामा मात्र हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा किराको प्रकोप फैलिएको उनले बताए ।


क्षण भरमै किराले धान नष्ट पार्ने भएकाले नियन्त्रणको प्रयास भए पनि सोचे जस्तो सफल हुन नसकेको स्थानीय बताउँछन् । तीन दिनयतादेखि फौजी किरालाई नियन्त्रण गर्न प्रदेश १ का कृषि मन्त्रालयबाट कृषि प्रसार अधिकृत मुकेश यादव, हेल्बेटासबाट बालसंरक्षण अधिकृत सूर्य पौडेल र बेलका नगरपालिकाका कृषि इन्जिनियर वृद्धिनाथ तिम्सिना सहितको छुट्टा छुट्टै तीन/तीन वटा टोलीले ५०० हेक्टर धान खेतलाई घेराबन्दी गरी नियन्त्रणको प्रयास गरेको नगरपालिकाले जनाएको छ ।


उर्बर भूमिमा प्रकोप

धरान उपमहानगरपालिकाको वडा ५ र वडा १७, बराहक्षेत्रनगरपालिकाको वडा २ मा पर्ने जब्दी, वडा ३ मा पर्ने वीचपानी र वडा ९ मा पर्ने हिडोल्वा, बराहक्षेत्र नगरकै छिमेकी नगरपालिका कोशी पारी उदयपुरमा यस्तो समस्या देखिएको छ । प्रकोप बढेपछि धरान ५ र १७ वडाका खेतमा बुधबार तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका किट वैज्ञानिक किशोर भण्डारी र धरान उपमहानगरपालिका कार्यवाहक प्रमुखले स्थलगत अवलोकन गरेका थिए । फौजी किराले सखाप पारेका धानबाली अवलोकन गरेपछि किट वैज्ञानिक भण्डारीले धरानक्षेत्रमा देखिएको फौजी किरामध्ये वडा १७ मा अमेरिकी फौजी किरा स्पोडोप्टेरा फ्रुजीपेरडा भएको र वडा ५ मा देखिएको किरा रैथाने मिथिम्ना सेपाराटा प्रजातिको भएको बताए ।


उनले भने, ‘रैथानले पाकेको धानको कलिलो बाला खाइदिन्छ भने अमेरिकनले हरियो बाली नै सबै खाइदिन्छ । फौजी किराको प्रकोपपछि धरान ५ र १७ का किसानले किराको प्रकोप रोकथाम र नष्ट भएको अन्नबालीको क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन् । स्थानीय कृषक शुक्रबहादुर लिम्बूले आफ्नो खेतमा उत्पादन भएको धानले वर्षभरि पुर्‍याउने गरेकोमा यसपटक फौजी किराको प्रकोपले एक महिना पनि खान नपुग्ने भएको बताए । कार्यवाहक भण्डारीले राहतको लागि पहल गर्ने बताइन् ।


बराहक्षेत्र नगरका धानखेतमा तीनदिन अघिमात्र फौजी किराको प्रकोप देखिएको हो । सामान्यतया फल आर्मीबम (एफएडब्लु) भनिने फौजीकिरा गर्मी महिनामा एकरातमै सय किमिको दूरी पार गर्न सक्ने कृषि तथा किट विज्ञ बताउँछन् । फौजी किरा पुतली समूहमा पर्छ । रातको समयमा बढी सक्रिय हुने उक्त किराले धानबाली सखाप पारेपछि रुनु न हाँस्नु भएको बराहक्षेत्रनगरस्थित भरौल किसान समूहका सदस्य लक्ष्मी गुरागाईले बताए ।


उनले ११ कट्ठामा अलिक ढिलो पाक्ने मन्सुली जातको धान लगाएकाले ती हरियै भएकाले त्यहाँ फौजी किराले आक्रमण गर्न नभ्याएको तर चाँडो फल्ने उन्नत जातको धानबाली लगाएका खेतमा धानको नलमात्र रहेको बताए । समूहका अगुवा मुक्तिराम राईले बराहक्षेत्रका सयौं बिघामा फौजी किराको प्रकोप देखिएको बताए ।


उनले भने, ‘भरौल बीचपानीका अधिकांश किसानका पाक्न लागेका धानबाली अहिले नल मात्र छ । धान जति सखाप भएका छन् । राति किराले खाएर खेतमा खसेका धानका बाला बटुलेर कतिपय किसानले घरमा लगेका छन् ।’


बराहक्षेत्र नगरपालिकामा स्थानीयले लगाएको धानखेतीमा फौजी किराले सखाप पारेको कृषि विकास शाखाका प्राविधिक नीरबहादुर राईले बताए । मंगलबार स्थानीय कृषकले फौजी किराको प्रकोपबारे जानकारी गराएपछि बराहक्षेत्र नगर उपप्रमुख कमला मगरको नेतृत्वमा कृषि शाखाका प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । कृषक तीर्थ विकले फौजी किरोको प्रकोप बढेपछि नियन्त्रणका लागि नगरपालिकामा निवेदन दिएको बताए ।


तत्कालका लागि फौजी किरा प्रभावित किसानको राहतका स्वरूप वराहक्षेत्र र बेलका नगरपालिकाले स्थानीय कृषकलाई निःशुल्क विषादी वितरण गरेको थियो । प्रदेश सरकारको ६० हजार र बेलका नगरपालिकाको ३० हजार रुपैयाँ बराबरको विषादि स्थानीय कृषकलाई प्रदान गरिएको छ । ती विषादीमा क्लोरोपाइरिफ, साइपरमेथ्रिन र इमामेक्टिन बेन्जोइटलगायत छन् ।


बाली संरक्षण अधिकृत मुकेशकुमार यादवले विषादी प्रयोग गर्न ढिला गर्न नहुने बताए । तापक्रममा एक्कासि परिवर्तन आउँदा फौजी किराको प्रकोप देखिने गरेको उल्लेख गर्दै उनले भने, ‘गर्मी हुँदाहुँदै पानी पर्दा फौजी किरा अनुकुलको वातावरण बन्छ । सिफारिस गरेको रासायनिक मल बढी भएमा र खेतमा बढी घाँस पलाउँदा पनि फौजी किरा लाग्छ ।’


किरा विज्ञ र कृषि विज्ञहरूले पाकेको बाली फौजी किराको आक्रमणबाट बचाउन केही उपाय सुझाएका छन् । खेतबारीमा ८० प्रतिशत पाकी सकेको भए काटेर सुरक्षित स्थलमा भण्डारण गर्नु पर्ने, हरियै अवस्थामा भए वा नपाकेको अवस्था भए खेतमा पानी पटाएर (जमाएर) मट्टीतेल हाल्नु पर्ने, पानी अभाव भए दुईतीन मिटरको फरकमा १ फिट गहिरो खाडल खनेर चुनासहित घाँस पतिंगर हाल्न सके र विषादि प्रयोग गरे फौजी किराबाट पाकेको अन्नबाली जोगाउन सकिने किट विज्ञ किशोर भण्डारीले बताए ।


के हो फौजीकिरा ?

फौजी किरा पुतली समूहको किट हो । अन्डा पारेको करिब १० दिनपछि यो लार्भा हुन्छ । करिब १ महिनासम्म यो लार्भा अवस्थामा हुन्छ । लार्भा अवस्थामा बढी भन्दा बढी खाने भएकाले यसलाई खन्चुवा पनि भनिन्छ । प्युपा २ सातासम्म हुन्छ । त्यसपछि पुतली बन्छ । सबै जीवन चक्रगरी दुई महिनाको आयु रहेको यो किरा अमेरिकन र रैथाने रहेका छन् । अमेरिका हुँदै भारतसम्म आइपुगेका फौजी किरा भने नेपालमा गत वैशाख २७ गते फेला परेको हो ।


यसले खेतबारीमा लगाएको अन्नबालीलाई व्यापक नोक्सानी पुर्‍याउँछ । फौजी किराको लार्भाले अन्नबाली लगायत विभिन्न ८० प्रकारका बालीनालीमा क्षति पुर्‍याउने गरेको किट विज्ञहरू बताउँछन् । विज्ञहरूका अनुसार मकै मन पराउने फौजी किराले मकै नपाएको अवस्थामा धान, गहुँ, कोदो, जुनेलो, उखु, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेतमा व्यापक क्षति पुर्‍याउने गर्छ ।

प्रकाशित : कार्तिक २, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?