औषधि किन्न ‘सिन्डिकेट’

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरस्थित न्यूरो अस्पतालमा बिरामीलाई अस्पतालकै औषधि पसलमा औषधि किन्न बाध्य पार्ने गरेको पाइएको छ । अस्पतालको औषधि पसलमा औषधि खरिद नगर्नेलाई बाहिर नपाइने खालका अरु औषधि समेत किन्न नदिएको उदाहरण भेटिएको छ ।

तेह्रथुमको फेदाब गाउँपालिका २ का घनश्याम भट्टराईको १२ बर्षीय छोरा सबिन भट्टराई झापाको गौरादहमा असोज २३ गते टेम्पोले ठक्कर दिएपछि घाइते भए । सबिनको टाउको रगत जमेको र देब्रे हात र खुट्टा भाँचिएकाले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराएको छ । टेम्पो चालक लालबहादुर राजबंशीले न्यूरो अस्पताल बाहिरको औषधी पसलबाट औषधि खरिद गर्न भनेको तर अस्पतालका कर्मचारीहरूले बाहिरबाट खरिद गरेको औषधी अस्पतालभित्र लग्न नदिएको घनश्यामले गुनासो पोखे ।


‘कर्मचारीहरूले बाहिरबाट खरिद गरेको औषधी लग्न नदिएपछि लुकाईछिपाई लगेर छोराको उपचार गराउँदै आएको थिएँ,’ उनले भने, ‘सबिनको खुट्टाको शल्यक्रिया बुधबार गर्नुपर्ने भन्दै चिकित्सकले औषधी ल्याउन लेखिदिनु भयो तर अस्पताल बाहिरको औषधी पसलमा बुपिकेन हेभी सुई कही पाइएन ।’


अस्पतालभित्रको औषधी पसलमा उक्त औषधी खरिद गर्न जाँदा पूर्जामा लेखिएको सबै औषधी खरिद गरेमात्रै औषधी दिन सकिने होइन भने एउटा मात्रै औषधी नदिने अस्पतालका कर्मचारीहरूले भनेको घनश्यामले बताए ।


अस्पतालभित्रको औषधी पसलले औषधी नदिएको विषय अस्पताल प्रशासनलाई गुनासो गरेपछि अस्पतालका निर्देशक राजेश भट्टराईसँग छलफलमा बसेको उनले सुनाए । ‘छलफलमा बसेपछि अस्पतालभित्रको औषधी पसलमा किन औषधी खरिद नगरेको भन्दै उल्टै धाक धम्की देखाउँदै अभद्र व्यवहार गरे,’ घनश्यामले भने, ‘विरामी पक्षले आफ्नो सुबिधा अनुसार मन लागेको ठाउँबाट औषधी खरिद गर्न पाउनु पर्ने भन्ने बित्तिकै राजेशले अभद्र गालीगलौज समेत गर्‍यो ।’


अस्पतालभित्रको औषधी पसल राजेशकै भएकोले उपचारका आउने बिरामीहरूलाई आफ्नै औषधी पसलमा औषधी खरिद गर्न लगाउने गरेको अन्य बिरामीहरूको पनि गुनासो छ । राजेशले घनश्यामको छोराको उपचार भइरहेको र वाहिरैबाट औषधी पनि खरिद गरेर ल्याइरहेकोले कुनै किसिमको सिण्डिकेट नभएको दाबी गरे ।





प्रकाशित : कार्तिक १, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?