२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तलब माग्दै आन्दोलन

अर्जुन राजवंशी

(बिर्तामोड) — कनकाई बहुमुखी क्याम्पसका प्राध्ध्यापकहरूले ७ महिनादेखि तलब पाएका छैनन् । नियमित तलब नपाउँदा चाडपर्वसमेत खल्लो भएको उनीहरूको दुखेसो छ ।

कनकाई नगरपालिका ३ र ४ सुरुंगास्थित क्याम्पसमा कार्यरत प्राध्यापकहरूले गत चैतदेखिको नियमित तलबभत्ता नपाएका हुन् । दसैंमा समेत तलब नपाएपछि उनीहरू आन्दोलित बनेका छन् । उनीहरूले क्याम्पस सञ्चालक समितिलाई ध्यानाकर्षण पत्र बुझाउने तथा अल्टिमेटम दिने कार्यसमेत गरेका छन् । ‘काम गरेको पैसा दसैंमा पनि नपाउनुजस्तो दु:खद के हुन सक्छ ? ’ प्राध्यापक तीर्थराज खरेलले भने, ‘तलबभत्ताबारे लिखित रूपमै क्याम्पस प्रमुखमार्फत सञ्चालक समितिको ध्यानाकर्षण गराएका छौं तर पनि तलबभत्ता पाउन सकिएको छैन ।’ क्याम्पस प्रशासनले भने तलब वितरण गर्नुको सट्टा अध्यापकलाई नै सेवाबाट बर्खास्त गरेको छ । क्याम्पसका अंग्रेजी विभाग प्रमुख उपप्राध्यापक हरिप्रसाद तिम्सिनालाई असोज १६ गतेदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको छ । तिम्सिना क्याम्पसको प्राध्यापक संघका अध्यक्षसमेत हुन् ।


सञ्चालक समितिको बैठकमा उपस्थिति नभएको, क्याम्पस प्रशासनको निर्देशन नमानेको, प्राध्यापक तथा विद्यार्थीसँग राम्रो व्यवहार नगरेको लगायत आरोप लगाउँदै तिम्सिनालाई सेवाबाट बर्खास्त गरिएको हो । ७ महिनादेखि तलबभत्ता नपाएका प्राध्यापकहरू संघका अध्यक्षलाई झुटा आरोप लगाउँदै सेवाबाटै बर्खास्त गरेको भन्दै थप रुष्ट बनेका छन् । क्याम्पस प्रमुख विकास उप्रेतीका अनुसार ३५ प्राध्यापक र १० कर्मचारी गरी क्याम्पसमा ४५ जना कार्यरत छन् । उनीहरूलाई करिब ५५ लाख रुपैयाँ तलब वितरण गर्नुपर्ने दायित्व रहेको उप्रेतीले बताए । ‘क्याम्पसको भवन निर्माण गर्दा हाम्रो रकम त्यता फस्यो । विश्वविद्यालय अनुदान आयोगबाट करिब ४७ लाख रुपैयाँ आउन बाँकी छ । त्यो पैसा आयो भने सबै प्राध्यापकलाई तलब खुवाउन पुग्छ,’ प्रमुख उप्रेतीले भने । उनले तलब खुवाउन बाँकी राख्ने चलन यो वर्षको मात्र नभएको बताए । ‘क्याम्पसको आम्दानीले वर्षभरिको सबै तलब खुवाउन पुग्दैन । २–४ महिनाको बाँकी रहन्छ नै,’ उनले भने, ‘अघिल्ला वर्षमा पनि ७–८ महिनाको तलब वितरणमा ढिलाइ भएको थियो । यो यसपालिको मात्र समस्या होइन ।’ उनले यो वर्ष क्याम्पसमा भौतिक निर्माण गरेको, दुई वटा बस खरिद तथा पुस्तक खरिद गरेका कारण प्राध्यापकलाई समयमै तलब वितरण गर्न नसकेको बताए ।


प्राध्यापक खरेलले भने क्याम्पसले तलबभत्ताबापत ८० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको बताए । उनले क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुखले गैरकानुनी ढंगबाट क्याम्पस चलाउने गरेको आरोप लगाए । उनले क्याम्पसमा पैसा हुँदा पनि आफूहरूले तलब नपाएको दाबी गरे । उपप्राध्यापक तिम्सिनालाई सेवाबाट बर्खास्त तथा लामो समयदेखि तलब नपाउँदा प्राध्यापकहरू आन्दोलित बनेपछि क्याम्पस प्रशासनले दसैंमा ३०/३० हजार रुपैयाँ वितरण गरेको थियो । ‘क्याम्पसको आम्दानीले कति थेग्छ, हामीलाई राम्ररी थाहा छ तर क्याम्पस प्रशासनले अन्य स्रोतको खोजी नै नगरी प्राध्यापक र कर्मचारीलाई तलब खुवाउनुपर्ने पैसा सञ्चालक समिति र क्याम्पस प्रमुखले अन्यत्रै खर्च गर्ने गलत परिपाटीको विकास गरेका छन्,’ खरेलले भने । क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर (डिग्री) सम्मको पढाइ हुन्छ । कर्मचारी हरि ढकालका अनुसार क्याम्पसमा करिब एक हजार विद्यार्थी छन् ।

प्रकाशित : आश्विन ३०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?