तलब माग्दै आन्दोलन- प्रदेश १ - कान्तिपुर समाचार

तलब माग्दै आन्दोलन

अर्जुन राजवंशी

(बिर्तामोड) — कनकाई बहुमुखी क्याम्पसका प्राध्ध्यापकहरूले ७ महिनादेखि तलब पाएका छैनन् । नियमित तलब नपाउँदा चाडपर्वसमेत खल्लो भएको उनीहरूको दुखेसो छ ।

कनकाई नगरपालिका ३ र ४ सुरुंगास्थित क्याम्पसमा कार्यरत प्राध्यापकहरूले गत चैतदेखिको नियमित तलबभत्ता नपाएका हुन् । दसैंमा समेत तलब नपाएपछि उनीहरू आन्दोलित बनेका छन् । उनीहरूले क्याम्पस सञ्चालक समितिलाई ध्यानाकर्षण पत्र बुझाउने तथा अल्टिमेटम दिने कार्यसमेत गरेका छन् । ‘काम गरेको पैसा दसैंमा पनि नपाउनुजस्तो दु:खद के हुन सक्छ ? ’ प्राध्यापक तीर्थराज खरेलले भने, ‘तलबभत्ताबारे लिखित रूपमै क्याम्पस प्रमुखमार्फत सञ्चालक समितिको ध्यानाकर्षण गराएका छौं तर पनि तलबभत्ता पाउन सकिएको छैन ।’ क्याम्पस प्रशासनले भने तलब वितरण गर्नुको सट्टा अध्यापकलाई नै सेवाबाट बर्खास्त गरेको छ । क्याम्पसका अंग्रेजी विभाग प्रमुख उपप्राध्यापक हरिप्रसाद तिम्सिनालाई असोज १६ गतेदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको छ । तिम्सिना क्याम्पसको प्राध्यापक संघका अध्यक्षसमेत हुन् ।


सञ्चालक समितिको बैठकमा उपस्थिति नभएको, क्याम्पस प्रशासनको निर्देशन नमानेको, प्राध्यापक तथा विद्यार्थीसँग राम्रो व्यवहार नगरेको लगायत आरोप लगाउँदै तिम्सिनालाई सेवाबाट बर्खास्त गरिएको हो । ७ महिनादेखि तलबभत्ता नपाएका प्राध्यापकहरू संघका अध्यक्षलाई झुटा आरोप लगाउँदै सेवाबाटै बर्खास्त गरेको भन्दै थप रुष्ट बनेका छन् । क्याम्पस प्रमुख विकास उप्रेतीका अनुसार ३५ प्राध्यापक र १० कर्मचारी गरी क्याम्पसमा ४५ जना कार्यरत छन् । उनीहरूलाई करिब ५५ लाख रुपैयाँ तलब वितरण गर्नुपर्ने दायित्व रहेको उप्रेतीले बताए । ‘क्याम्पसको भवन निर्माण गर्दा हाम्रो रकम त्यता फस्यो । विश्वविद्यालय अनुदान आयोगबाट करिब ४७ लाख रुपैयाँ आउन बाँकी छ । त्यो पैसा आयो भने सबै प्राध्यापकलाई तलब खुवाउन पुग्छ,’ प्रमुख उप्रेतीले भने । उनले तलब खुवाउन बाँकी राख्ने चलन यो वर्षको मात्र नभएको बताए । ‘क्याम्पसको आम्दानीले वर्षभरिको सबै तलब खुवाउन पुग्दैन । २–४ महिनाको बाँकी रहन्छ नै,’ उनले भने, ‘अघिल्ला वर्षमा पनि ७–८ महिनाको तलब वितरणमा ढिलाइ भएको थियो । यो यसपालिको मात्र समस्या होइन ।’ उनले यो वर्ष क्याम्पसमा भौतिक निर्माण गरेको, दुई वटा बस खरिद तथा पुस्तक खरिद गरेका कारण प्राध्यापकलाई समयमै तलब वितरण गर्न नसकेको बताए ।


प्राध्यापक खरेलले भने क्याम्पसले तलबभत्ताबापत ८० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको बताए । उनले क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुखले गैरकानुनी ढंगबाट क्याम्पस चलाउने गरेको आरोप लगाए । उनले क्याम्पसमा पैसा हुँदा पनि आफूहरूले तलब नपाएको दाबी गरे । उपप्राध्यापक तिम्सिनालाई सेवाबाट बर्खास्त तथा लामो समयदेखि तलब नपाउँदा प्राध्यापकहरू आन्दोलित बनेपछि क्याम्पस प्रशासनले दसैंमा ३०/३० हजार रुपैयाँ वितरण गरेको थियो । ‘क्याम्पसको आम्दानीले कति थेग्छ, हामीलाई राम्ररी थाहा छ तर क्याम्पस प्रशासनले अन्य स्रोतको खोजी नै नगरी प्राध्यापक र कर्मचारीलाई तलब खुवाउनुपर्ने पैसा सञ्चालक समिति र क्याम्पस प्रमुखले अन्यत्रै खर्च गर्ने गलत परिपाटीको विकास गरेका छन्,’ खरेलले भने । क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर (डिग्री) सम्मको पढाइ हुन्छ । कर्मचारी हरि ढकालका अनुसार क्याम्पसमा करिब एक हजार विद्यार्थी छन् ।

प्रकाशित : आश्विन ३०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

पावर टिलरको माग बढ्दो

गणेश चौधरी

(टीकापुर) — कैलालीका किसानले कृषि औजार तथा यन्त्रको प्रयोग बढाएका छन् । कृषि कार्यमा सहजता तथा कम समयमा धेरै काम हुने भएकाले किसानले कृषि यन्त्रको प्रयोग बढाएका हुन् । यस क्षेत्रका किसान कृषि यन्त्रअर्न्तगत सबै भन्दा धेरै पावर टिलर (टेक्टर)को प्रयोग गरिरहेका छन् । 

रानी जमरा कुलरिया सिँचाई आयोजनाको कृषितर्फको कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा गत वर्ष ६ सय बढी कृषि यन्त्र वितरण गरेको छ । पावर टिलर मात्र ३ सय बढी अनुदानमा दिइएको थियो । यसले पनि किसानलाई यान्त्रिकरणमा आकर्षण भएको हो ।

थोरै मात्रामा स्थानीय तहले पनि किसानलाई अनुदानमा पावर टिलर दिएपनि प्रयाप्त नभएको रानी जमरा कुलरिया सिँचाई आयोजनाको कृषितर्फको कार्यालयका प्रमुख भरत कँडेलले बताए । उनले भने, ‘माग धेरै छ । यो वर्ष पनि गत वर्षकै हाराहारीमा पावर टिलरलगायतका कृषि यन्त्र अनुदानमा दिने कार्यक्रम रहेको छ ।’ यो बाहेक प्रदेश सरकार, कृषि ज्ञान केन्द्रलगायतका संस्थाबाट पनि कृषि यन्त्र वितरण गर्ने गरिएको छ ।

एउटै पावर टिलर ट्याक्टरबाट खेत जोत्न, बोरिङबाट सिँचाइ गर्न, बाली काट्न, थ्रेसिङ गर्न, मिल चलाउन, ढुवानी गर्न, जेनेरेटर चलाउन सकिने भएकाले कृषिका लागि पावर टिलर राम्रो, बहुउपयोगी यन्त्र भएको टीकापुर नगरपालिका–१ किसान तेजबहादुर चौधरीले बताए । उनले भने, ‘राँगा पाल्न झन्झट भन्दा पावर टिलर राम्रो छ । अनुदान पाएपछि राँगा किन्नु र पावर टिलर किन्न उस्तै पैसा लाग्छ ।’

पावर टिलर भएपछि काममा छिटो अनि सजिलो पनि भएको जानकी गाउपालिका–१ सुवर्णपुरका भोजबहादुर चौधरीले बताए । ‘पावर टिलर भएपछि पशु पाल्न झन्झट छैन । काममा पनि छिटो र सजिलो भएको छ’ उनले भने, ‘पहिला एक जोर रागा पाल्न दिनभरी खटिनुपर्ने हुन्थ्यो । अब त्यो समय अरु काममा खर्च गर्न सकिने भएको छ ।’

प्रकाशित : आश्विन ३०, २०७६ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×