कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्येष्ठ नागरिक भन्छन्– छुटको साटो गाली

विनु तिम्सिना

(विराटनगर) — मोरङको सुन्दर हरैंचा–८ का ७९ वर्षीय नारायणप्रसाद चुँडालले दुई वर्ष अघि मात्रै जेष्ठ नागरिक परिचयपत्र लिएका छन् । ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई राज्यले यातायात सेवा र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्दै परिचयपत्र दिने गरेको छ । 

ज्येष्ठ नागरिक भन्छन्– छुटको साटो गाली

चुँडालले ७९ वर्ष पुगेपछि ढिलै भए पनि सुविधा पाउने आसमा दुई वर्षअघि परिचयपत्र बनाएका हुन् । तर परिचयपत्रका आधारमा राज्यले व्यवस्था गरेको कुनैपनि प्रकारको सुविधा उनले अहिलेसम्म नपाएको गुनासो गरे ।


परिचयपत्रका आधारमा छुट दिनुको साटो यातायात व्यवसायीले उल्टै दुर्व्यवहार र अपशब्द प्रयोग गर्दै गाली गलौज गर्न थालेपछि परिचयपत्र नै बोक्न छाडेको उनले बताए । जेष्ठ नागरिक चुँडालले यातायात व्यवसायीले प्रदेश–१ मा सगरमाथा यातायातबाहेक अरुले छुट दिनु पर्दैन भन्दै गाली गलौज गर्ने गरेको गुनासो गरे । ‘गाडीमा छुट पाइन्छ भनेर परिचय पत्र बनाको तर खै परिचय पत्र देखाउँदा उल्टै गाली खानुपर्छ,’ उनले भने, ‘बुढाबुढी देख्यो भने गाडी नै रोक्दैनन् त्यहिभएर मैले त परिचय पत्र नै बोक्न छाडिदिए ।’


त्यस्तै विराटनगर महानगरपालिका– ३ का ६४ वर्षिय जिवेन्द्र घिमिरे केहि समय अघि खोटाङजान भनेर बस चढे । सवारी सहचालकले भाडा मागेपछि उनले आफुसंग भएको जेष्ठ नागरिक परिचय पत्र देखाएर ५० प्रतिशत छुट मागे । सहचालकले छुट दिनुको साटो आफुमाथि दुर्व्यवहार गरेको उनले बताए । जेष्ठ नागरिक हातेमालो सेवा समाज विराटनगर–३ का अध्यक्षसमेत रहेका उनले यस विषयमा प्रदेश–१ सामाजिक विकास मन्त्रालयमा सोमबार गुनासो गरे । ‘यातायात मात्रै नभएर स्वास्थ्य क्षेत्रमा पनि छुटको व्यवस्था लागु भएको छैन,’ उनले भने, ‘प्रदेशको राजधानी विराटनगरमा त यो अवस्था छ झन् दुरदराजमा कस्तो होला ?’ ट्राफिक प्रहरी कार्यालय प्रदेश– १ इटहरीका प्रमुख भीम दाहालले सार्वजनिक सवारीमा जेष्ठ नागरिकलाई दुर्व्यवहार भएको गुनासो बढेको जानकारी दिए । असोज महिनामा मात्रै ५ वटा गुनासो आएको उनले बताए । ‘सार्वजनिक बसमा दुर्व्यवहार भयो भनेर धेरै जेष्ठ नागरिकको गुनासो आइरहन्छ,’ उनले भने, ‘जेष्ठ नागरिक, अपांगता भएका र महिलाहरूकालाई छुट दिने व्यवस्था राज्यले बनाएको हो यसको कार्यान्वयन गराउन हामी लागिपरेका छौं ।’


यातायात महासंघ सुनसरीका अध्यक्ष ध्रुवराज घिमिरेले सरकारले आफुहरूसँग भने ढाडसेकिने गरी कर लिने तर आफुहरूले भने छुट दिनु पर्ने भन्दै आक्रोस व्यक्त गरे । सरकारले यातायात व्यवसायीको संगठन भताभुंग पार्दै अरबौंको सम्पत्ति हडपेको र आफुहरूलाई भने जबरजस्ती विभिन्न छुट दिन बाध्य बनाएको उनले बताए । ‘राज्यले हाम्रो सर्वस्व लुटने अनी हामलिे चाहि छुट दिनु पर्ने ?’ घिमिरेले प्रश्न गरे,‘ हामिलाई पनि विभिन्न करमा छुटको व्यवस्था गर्नु पर्छ ।’


ज्येष्ठ नागरिक हातेमालो सेवा समाजको गुनासो आएपछि मंगलबार सामाजिक विकास मन्त्रायले यातायात क्षेत्रमा सम्बद्ध सबै सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो । छलफलका क्रममा बोल्दै सामाजिक विकास मन्त्री जिवन घिमिरेले सवारी चालक र सहचालकले आफनो बोल्ने शैली र व्यवहारमा शिष्टता ल्याउनुपर्ने बताए । यसकालागि यातायात व्यावसायीले पनि ध्यान दिन उनले आग्रह गरे । राज्यले व्यवस्था गरेको छुट नदिनुको कुनै विकल्प नभएको बताउँदै उनले व्यवसायीका केहि समस्या भए त्यसको समाधानका लागि केन्द्रसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित : आश्विन २९, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?