१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गौरवका आयोजनासँगै पुल अलपत्र

सगरमाथा लोकमार्गको फोक्सिङटारस्थित सुनकोसीको पुल गत चैतमा सम्पन्न हुनुपर्नेमा हालसम्म आधा मात्रै काम भएको छ
डम्बरसिं राई

(खोटाङ) — सगरमाथा लोकमार्गको फोक्सिङटारस्थित सुनकोसी पुल एक वर्षअघि नै बनिसक्नुपर्ने हो । गौरी पार्वती कन्ट्रक्सनले २०७१ चैतमा चार वर्षभित्र सक्ने गरी करिब १८ करोड लागतमा ठेक्का सकारेको थियो । तर अहिलेसम्म ६० प्रतिशतभन्दा काम हुन सकेको छैन । 

गौरवका आयोजनासँगै पुल अलपत्र

पुलको डिजाइन स्वीकृतिमै समय लागेकाले ढिलो भएको कन्स्ट्रक्सनका अध्यक्ष रामकुमार थापाले बताए । ‘नदेखिने तर महत्वपूर्ण काम सकिएको छ,’ उनले भने, ‘अब आगामी असारसम्म सक्छौं ।’


तोकिएको अवधिमा काम नसकिएर अल्झिएका पुल जिल्लामा अरू पनि थुप्रै छन् । राष्ट्रिय गौरवको आयोजनामा परेका पुलकै प्रगति सन्तोषजनक छैन । आगामी असारमा पूरा हुनुपर्ने उदयपुर र खोटाङ जोड्न धाप्लाङघाटमा निर्माणाधीन पुलमा १३ प्रतिशत मात्र काम भएको छ । करिब २२ करोडको पुलको म्याद २०७७ माघसम्म थप्न पहल भइरहेको स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले बताए ।


मध्यपहाडी सडकको बाझेच्यानडाडाँ–दिक्तेल खण्डमा पर्ने आठ पुलमध्ये चारवटा अलपत्र छन् । भालुखोला, छेपेखोला, मेवाखोला पुलको टेन्डर प्रक्रिया नै बढाइएको छैन । पङुखोलामा टेन्डर भए पनि काम अलपत्र छ । ठेक्का लिएको सिरुवा कन्स्ट्रक्सन ठेक्का लिएपछि बेपत्ता भएको छ । करिब दुई करोड २९ लाख लागतको पुलको काम ४० प्रतिशत मात्र सकिएको मध्यपहाडी डिभिजन प्रमुख विजय चापागाईंले सुनाए ।


यद्यपि आगामी असारभित्र काम सक्ने पहल थालिएको उनले बताए । कालिखोला, साप्सुखोला, लप्सेखोला, दाम्देखोला पुल भने बनिसकेका छन् । यिनको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो ।


यही खण्डको भुल्के खोला पुल पनि अलपत्र छ । यहाँको पर्यटकीय र धार्मिक सम्भावनामा असर नपुग्ने गरी बनाउनुपर्ने भएकाले डिजाइन नै भर्खर मात्र सकिएको डिभिजन प्रमुख चापागाईँले सुनाए । उक्त पुलको ठेक्का सगरमाथा घिमिरे निर्माण सेवाले लिएको हो । साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बीचमा पर्ने तावाखोलास्थित सडक पुलमा पूर्वाधार विकास विभागको करिब साडे चार करोड लगानी छ । २०७५ वैशाख २१ गते १८ महिनामा सक्ने गरी नेसनल महावीर सिद्धिसाई जेबी कम्पनीलाई ठेक्का दिइएकोमा पूरा हुने अवस्था देखिँदैन । यसबारे सम्वन्धित पक्षको ध्यानाकर्षण गराउँदा समेत अटेरी गरेको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खडकाले सुनाए । अब ठेक्का लिने कम्पनीलाई कारबाही प्रक्रियाका लागि सरकारलाई अनुरोध गर्ने उनले बताए ।


पुल निर्माणको पेटी ठेक्का लिएका खोटाङका निर्माण व्यवसायी कर्ण खत्रीले बेलैमा संझौता नहुदा काममा ढिलाई भएको दाबी गरेका छन । पुल नहुँदा जिल्लामा हुने विकास निर्माणका लागि तराईबाट सामग्री ल्याउन समस्या भएको खोटाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजु लयालुले बताए । ठेक्का लिएर योजना अलपत्र छाडिएकाले त्यसले पारेको असरसहित घाटा असुलउपर गर्नुपर्ने उनको भनाइ छ । सडक पुलकै कारण जिल्लाको विकासमा असर परेकाले ठेक्का लिएर काम नगर्नेहरूलाई कारबाही गर्नुपर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।


प्रकाशित : आश्विन २९, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?