हुण्डी कारोबारी १० लाख नगदसहित पक्राउ

कान्तिपुर संवाददाता

मोरङ — विराटनगर–४ कञ्चनबारी चोकबाट १० लाख नगदसहित एक जनालाई हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

हुण्डी कारोबारी १० लाख नगदसहित पक्राउ

सुनसरीको बर्जु गाउँपालिका ३ का २४ वर्षीय उमाकान्त रायलाई प्रहरीले पक्राउ गरेको हो । हुण्डी कारोबारका लागि कञ्चनबारी चोकमा एक व्यक्ति आएको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।


कालो झोलाभित्र विभिन्न दरका १० लाख रुपैयाँ, एनसीसी र प्राइम बैंकको १/१ थान चेक बुक बरामद भएको उनले बताए ।


विराटनगरको गणपति मनी ट्रन्सफरमा कार्यरत रायले उक्त रकम हुण्डी कारोबारको भएको प्रहरीलाई ब्यान दिएको उनले बताए । रायलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । उक्त रकमको स्रोत खुलाउन नसकेकोले नियन्त्रणमा लिएको अधिकारीले बताए ।


यसअघि पनि ६९ लाख ५७ हजार रुपैयाँसहित एक हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएका थिए ।


यसैबीच, विराटनगर १५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट प्रहरीले २ लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका २४ बर्षीय आसुतोष सोनीलाई पक्राउ गरेको हो ।


भारतबाट नेपालतर्फ आउने क्रममा सोनीले बोकेको झोला चेकजाँच गर्ने उक्त रकम बरामद भएको प्रहरीले जनायो । प्रहरीले उनलाई आवश्यक छानबिन गरी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ ।

प्रकाशित : आश्विन २८, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?