तेह्रथुममा सयभन्दा बढी झोलुंगे पुल

कान्तिपुर संवाददाता

तेह्रथुम — दुर्गम पहाडी क्षेत्रको कुनै एउटा गाउँलाई अर्को गाउँसँग जोड्ने माध्यम जिल्लामा झोलुंगे पुल बनेको छ । जिल्लाका सबै स्थानीय तहलाई सडक सञ्जालले जोडे पनि जिल्लाबासीले छोटो दूरी पार गर्न झोलुंगे पुललाई नै माध्यम बनाएका छन् ।

तेह्रथुममा सयभन्दा बढी झोलुंगे पुल

तत्कालीन जिविसले जिल्लाको एउटा गाउँलाई अर्को गाउँसँग जोड्न झोलुंगे पुल बनाएको थियो । पछिल्लो समय जिल्ला समन्वय समिति र स्थानीय तहले पनि झोलुंगे पुल निर्माणलाई प्राथमिकतामा राखेको छ ।


दुर्गम गाउँमा सडक सञ्चाल नपुग्दै त्यस समय जिविसले एक गाउँलाई अर्को गाउँसँग जोड्न सीमा जोडिएका खोलामा झोलङुगे पुल लगाउने अभियान नै चलाएको थियो । त्यस यता मात्र जिल्लाका खोलामा १ सय बढी झोलुंगे पुल निर्माण भइसकेको जिल्ला समन्वय समिति प्रमुख शिव ढुंगानाले बताए । पछिल्लो समय वर्षमा ५ देखि ७ वटासम्म झोलुंगे पुल निर्माण हुने गरेका छन् ।


त्यसताका जिल्लाका सबै गाउँमा मोटर बाटो निर्माण गर्न सम्भव थिएन । पहाडी धरातल भएका गाउँका बीचमा ठूला खोला र भिरपहरा थिए । वल्लो गाउँका बासिन्दालाई पल्लो गाउँसम्म पुग्न यिनै खोला र भिरपहारा बाधक बन्ने गर्दथे । सडकभन्दा केही सस्तो बन्ने झोलुंगे पुल बनाएर दुर्गम गाउँबासीको ओहोर–दोहोरको समस्या समाधान गर्ने उपाय जनप्रतिनिधि सहितको तत्कालीन जिविसले डेढ दशकअघि नै निकालेको तत्कालीन पूर्वजिविस सभापति किशोरचन्द्र दुलालले बताए ।


अहिले गाउँगाउँमा सडक सञ्जाल पुगेको छ, तर पनि झोलुंगे पुलको महत्त्व नघटेको उनले बताए । तेह्रथुमको हकमा झोलुंगे पुल विकासको मेरुदण्ड नै बनेको प्रदेश सांसद लक्षमण तिवारीको भनाइ छ । ‘गाउँगाउँमा सडक पुर्‍याउने कल्पनाभन्दा पहिल्यै खोलामा पुल बनिसकेका थिए,’ सांसद तिवारीले भने । गाउँगाउँबाट प्रत्येक वर्ष दस/बाह्रवटा जति झोलुंगे पुल बनाइदिन अनुरोध गर्दै निवेदन आउने गरेको जिल्ला समन्वय समिति प्रमुख ढुंगानाको भनाइ छ ।


झोलुंगे पुल निर्माणका लागि त्यस समय जिविसले छुट्टै गुरुयोजना नै तयार गरेर काम गरेको तत्कालीन जिविस सभापति दुलालले बताए । पुलको माध्यमबाट एउटा गाउँलाई अर्को गाउँसँग जोड्ने काम त्यसताका अभियानकै रूपमा सञ्चालन गरिएको उनले सम्झिए ।


तत्कालीन जिविसले झन्डै डेढ दशकअघिबाट जिल्लाका खोलानालामा झोशलुंगे पुल बनाउने कामको सुरुवात गरेको थियो । हालको जिल्ला समन्वय समितिले पनि सोही कामलाई निरन्तरता दिइरहेको छ । जिल्लामा अहिले १ सयभन्दा बढी झोलुंगे पुल निर्माण भइसकेका छन् ।

प्रकाशित : आश्विन २७, २०७६ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?