उपनिर्वाचनका उम्मेदवार सिफारिस

प्रदीप मेन्याङ्बो

(सुनसरी) — मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरानमा विभिन्न दलहरूले उम्मेदवारी चयन र सिफारिस गर्न थालेका छन् । कांग्रेसले धरान उपमहानगर प्रमुख पदका लागि तिलक राईलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । राई कांग्रेसका धरान नगर सभापति हुन् । 

गत शुक्रबार कांग्रेस उपमहानगर कमिटीको पूर्ण बैठकले राईलाई सर्वसम्मतले उम्मेदवारीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय समितिले सर्वसम्मत नाम पठाउन निर्देशन दिएको थियो ।


राई यसअघि ०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार बनेकाबेला तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बासँग ४ हजार ८ ७३ मतले पराजित भएका थिए । उक्त निर्वाचनमा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएका थिए भने राईले १६ हजार १ सय २ मात्र मत प्राप्त गरेका थिए । निवार्चित भएर पदभार ग्रहण गरेको एक वर्षपछि प्रमुख सुब्बाको निधन भएको थियो । सुब्बाको निधनपछि धरानमा मेयर पद रिक्त छ ।


सर्वसम्मतले सिफारिस गर्ने निर्णय भएपछि राईले भने, ‘पार्टीले सर्वसम्मतले एकमात्र उम्मेदवार सिफारिस गर्ने निर्णय गर्दा धरानको स्थानीय तहको प्रमुख पदको उम्मेदवारका रूपमा मलाई सिफारिस गरेको छ । यो निर्णयले अन्योलमा रहेको मतदाता र कार्यकर्तालाई पनि विश्वास दिलाएको छ । मतदातामा उत्साह पनि भएको छ ।’ उनले धरानको चुनावमा कांग्रेस निरन्तर पराजित हुँदै आए पनि यसपटकदेखि मतदाताले वैकल्पिक शक्तिका रूपमा कांग्रेसलाई जिताउने विश्वास पलाएको बताए ।


वडा ७ मा पनि रिक्त रहेको वडाध्यक्ष पदका लागि वडाले तीन जनाको नाम नगरसमितिका सिफारिस गरेको छ । तर ती नामहरू पार्टीले सार्वजनिक गरेको छैन । कांग्रेसले अन्य साना दलसँग गठबन्धन गरेर चुनावी अभियानमा होमिने लक्ष्य राखेकाले ती नामहरू सार्वजनिक नगरिएको जनाइएको छ ।


सत्ताधारी नेकपाले भने उम्मेदवार सिफारिस गर्न सकिरहेको छैन । नगर अध्यक्ष नारायण सुवेदीकाअनुसार दीपावली अगाडि नै पार्टीले उम्मेदवार सिफारिस गर्ने तयारीमा जुटेको छ । चुनाव आउन अब सात हप्तामात्र बाँकी रहे पनि नेकपाले विरासत कायम राख्न आन्तरिक रूपमा सर्वसम्मत उम्मेदवार चयन गरेर सिफारिस गर्ने तयारीमा जुटेको सुवेदीले बताए । उनी आफैं पनि आकांक्षी हुन् । पार्टीमा प्रमुख दावेदार आकांक्षी उम्मेदवारहरू जिल्ला सदस्य प्रकाश राई, १ नम्बर प्रदेश समिति सदस्य विजय राई रहेका छन् । अन्य आकांक्षीहरूमा तत्कालीन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा, चोत्लुङ, मुक्सामहाङ मेन्याङ्बो र पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बो पनि देखिएका छन् ।


जिल्ला सदस्य प्रकाश राईले भने, ‘हाम्रो पार्टी भर्खरैमात्र एकीकृत भएकाले चुनावलाई नै लक्षित गरेर तल्लो स्तरसम्म पार्टी एकीकरणसँगै संगठन विस्तार, वडा कमिटी इन्चार्ज, टोल कमिटी, कार्यविभाजनमा अहिले पनि व्यस्त छौं । सकेसम्म सर्वसम्मत हुनु पर्छ भन्ने सबैको मान्यता छ ।’ धरानमा पूर्व एमाले उम्मेदवारले जितेकाले नेकपाबाट उम्मेदवारको टिकट पाउनेमा पूर्व एमालेबाटै पाउन सक्ने प्रवल सम्भावना रहेको स्थानीय एक नेताले बताए ।


समाजवादी पार्टीको उपमहानगर कमिटी सचिवालय बैठकले नगर अध्यक्ष ताजुव लिम्बू, लिम्बूवान स्वायत्त समितिका सल्लाहकार गजेन्द्र इस्बो र किराँत स्वायत्त समितिका सल्लाहकार शुभचन्द्र राईको नाम प्रमुख पदको उम्मेदवारका लागि सिफारिश गर्ने निर्णय गरिसकेको छ । समाजवादीले गएको स्थानीय तहको निर्वाचनमा ५ हजार १ सय ८१ मत प्राप्त गरेको थियो ।


कांग्रेसले धरानमा नेकपाबाहेकका अन्य दलसँग गठबन्धन गरेर चुनावी अभियानमा होमिने भनिरहेका बेला समाजवादी भने गठनबन्धन नगरी आफ्नै उम्मेदवार उठाएर आफ्नो परीक्षा गर्नु पर्नेमा अडिग रहेका छन् । अध्यक्ष ताजुव लिम्बूले भने, ‘हामीले उम्मेदवार सिफारिस गरे पनि गठबन्धनको सम्भावनालाई रोकेका छैनौं । पार्टीको केन्द्रीय तहबाट मात्र कांग्रेससँग गठबन्धन गर्ने कि नगर्ने भन्ने टुंगो लाग्छ ।’ समाजवादी नेकपाको सत्ता साझेदारी भएकाले चुनावी गठबन्धनबारे अन्योलमा रहेको छ ।


यसैगरी कुमार लिङ्देन नेतृत्वको संघीय लोकतानिन्त्रक मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले धरान उपमहानगरपालिका प्रमुख पदका लागि २ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । मञ्चले जिल्ला अध्यक्ष अमर इजम र नगर अध्यक्ष सञ्जुहाङ सावाँ लिम्बूको नाम सिफारिस गरेको छ ।

प्रकाशित : आश्विन २६, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?