१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पारि बजार, वारि अपराध

सीमावर्ती भारतीय बजार र बस्तीमा साना हतियार किनबेच हुने गरेकाले नेपाली भूभागमा अपराध नियन्त्रण चुनौतीपूर्ण
जितेन्द्र साह

(विराटनगर) — विराटनगरस्थित सीमा प्रहरी चौकीदेखि पश्चिम दक्षिण करिब १ किमि टाढा भारत विहारको जोगवनी नगरपालिकास्थित टिकुलिया बस्ती र दुई किमि पश्चिम रेल्वे मार्गसँग जोडिएको क्षेत्रमा हतियारको कारोबार गर्ने फेला पर्छन् । उनीहरूबाट हतियार किन्नेहरू नेपालमा आएर आपराधिक गतिविधि सञ्चालन गर्ने समूह हुन्छन् ।

पारि बजार, वारि अपराध

चार वर्षको अवधिमा हतियारसहित पक्राउ भएकाबाट प्राप्त सूचनाका आधारमा यो तथ्य खुलेको नेपाल प्रहरीले जनाएको छ । जोगवनीबाहेक सीमा पारि विहारकै रक्सौल, किशनगन्ज, सीतामढी, पटना तथा झारखण्ड र उत्तरप्रदेश राज्यबाट समेत हतियार नेपालको विभिन्न ठाउँमा भित्रन्छ ।


वारिपारिका आपराधिक गिरोहले नेपाली भूमिमा फिरौती, लुटपाट एवं चन्दा असुली र टेन्डर हात पार्नलाई डरत्रास देखाउन यी हतियारको प्रयोग गरिरहेको देखिएको एक उच्च अनुसन्धान अधिकृतले बताए ।


वारि कडा सुरक्षा निगरानीका कारणले पहिलेको तुलनामा हतियार बरामद हुने क्रम घटेको प्रदेश १ का प्रहरी प्रमुख (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीले बताए । प्रदेश १ मा आव २०७३/७४ मा २६ वटा र २०७४/७५ मा १४ वटा साना हतियार बरामद भए । यीमध्ये दुई बेवारिसे अवस्थामा समेत भेटिएको प्रहरीले जनाएको छ । ०७५/७६ मा बरामद २० वटामध्ये ५ र ०७६/७७ को हालसम्म बरामद भएका ५ मध्ये ४ वटा भूमिगत राजनीतिक समूहले प्रयोग गरेको देखिएको छ ।


‘विप्लव माओवादीको गतिविधिसँगै हतियार बरामदीको क्रम बढेको हो,’ उनले भने, ‘नेपालको राजनीतिक अस्थिरता भारतको विहार, झारखण्ड र उत्तरप्रदेशका हतियार कारोबारीका लागि कमाउने अवसर बन्छ ।’


पारि सस्तो मूल्यमा सहज तरिकाले हतियार बिक्री भइरहेको हुनाले वारिका सानातिना गुण्डा समूहले समेत प्रयोग गरिरहेको भेटिएको प्रहरीले जनाएको छ । ‘यताका स्थानीय स्तरका गुण्डाले मार्नेभन्दा पनि डर देखाउन र धम्क्याउन हतियार राखेको पाइयो,’ एक अनुसन्धान अधिकृतले भने, ‘तर, यो गम्भीर अपराध भएकाले थाहा पाउनबित्तिकै पक्राउ गर्छौं ।’ बरामदमध्ये बढी चाहिँ भारतमा कुनै कारखानाभन्दा पनि स्थानीय घरेलु प्रविधिबाट निर्मित पेस्तोल र कटुवा पेस्तोल छन् । वारिकै सीमा क्षेत्रमा समेत कटुवा पेस्तोल र भरुवा बन्दुक बन्न थालेको प्रहरीले जनाएको छ । भारतीयबाट यताकाले बनाउन सिकेको प्रहरी स्रोतले बतायो ।


अनुसन्धान स्रोतका अनुसार भारत, अमेरिका र इटालीमा निर्मित भनेर लेखिएको यी साना हतियारहरू प्रतिगोटा पारि विहारमा ४ देखि ६ हजार रुपैयाँ, तराई–मधेसमा ८ देखि १० हजार रुपैयाँ र काठमाडौंमा १५ देखि २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।


मालवाहक गाडी र सार्वजनिक सवारिमा भारत एवं चीन सीमा हुँदै यी हतियारहरू काठमाडौं पुग्ने गरेको स्रोतले जनायो । काठमाडौंमा अझै पनि भित्रभित्रै सक्रिय नयाँ र पुरानो आपराधिक समूहबाट यस्तो हतियारको माग भइराख्ने हुनाले भारतीय मालवाहक सवारीलाई विशेष निगरानीमा राखिरहेको अनुसन्धान अधिकृतले जनाए । प्रहरीका अनुसार अपहरण, हत्या तथा चोरी–लुटपाट जस्ता अपराधमा यी हतियार बढी प्रयोग हुने गरेका छन् । १४ वटा जिल्ला रहेको प्रदेश १ को अपराध तथ्यांकले पनि यसको पुष्टि गर्छ । प्रदेश १ मा आव ०७३/७४ मा अपहरण, हत्या र चोरी–लुटपाटका ४ सय ४८ मुद्दामा ४ सय ३९ को फछर्यौट भयो भने ६ सय ६० जना कारबाहीमा परे । ०७४/७५ मा ४ सय १७ यस्ता मुद्दा दर्ता भएकोमा ३ सय ९४ वटाको फछर्यौट भयो भने ४ सय ८५ जना कारबाहीमा परे ।


०७५/७६ मा यी अपराधमा दर्ता भएको ५ सय ५४ मुद्दामा ४ सय ८९ फर्छ्यौट भयो भने ७ सय ६८ जना कारबाहीमा परे । आव ०७६/७७ को हालसम्म दर्ता भएको अपराधका १ सय २१ मुद्दामध्ये ७३ वटाको फर्छ्यौट भयो भने १ सय ४४ जना कारबाहीमा परेका छन् ।


०७३/७४ को हालसम्म हतियारसँग सम्बद्ध अपराधमा सबैभन्दा बढी चोरी–लुटपाटका १ हजार १ सय २२, हत्याका ३ सय ७७ र अपहरणका ४१ मुद्दा दर्ता भएका छन् । अपहरणको ६ वटा, हत्याको ४८ वटा र चोरी–लुटपाटको ९१ वटा मुद्दा मात्र फर्छ्यौट हुन बाँकी छ ।


प्रकाशित : आश्विन २६, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?