सहरमा सद्भाव

जितेन्द्र साह

(विराटनगर) — पण्डाल र मन्दिरमा दर्शन गर्न आउनेहरूका लागि मुख्य सडकको दुवैतिर थरिथरिका परिकार एवं पिउने पानीको प्रबन्ध गरिएको थियो । स्थानीय समाजसेवी र स्वयंसेवकहरू मेला भर्न आइरहेका र गइरहेकालाई हात जोडेर खान बोलाउँदै थिए ।

सहरमा सद्भाव

विजयादशमीमा महानगर विराटनगरको गोल्छा चोकदेखि मेनरोडसम्म यस्तै दृश्य देखियो । अरू बेला कारोबारमै व्यस्त रहने स्थानीय व्यवसायी बडादसैंमा बिहानदेखि मेलाका आगन्तुकको सेवामा तल्लीन थिए । एक जना पनि भोजन र पानीबाट वञ्चित नहोऊन् भन्ने उनीहरूको प्रयास थियो ।


‘माता दुर्गाको यो भण्डारण हो, जतिले खाए पनि आजको दिन खाली हुन्न,’ आयोजकमध्येका एकले भने, ‘एक जना भोकै–प्यासै नफर्किऊन् भने हाम्रो लक्ष्य हो, हामी यसलाई भोजनभन्दा पनि माताको प्रसाद भन्छौं ।’ विपन्नदेखि सम्पन्नसम्म एकसाथ लाम लागेर सडक छेउमा उभिएर प्रसाद ग्रहण गरिरहेका थिए ।


मेला भर्न आएकाहरूले जाति र समुदाय बिर्सेर दसैं मेला एवं भोजको आनन्द लिइरहेका थिए । ‘माताको प्रसाद हो,’ एक युवतीले भनिन्, ‘समूहमा उभिएर खाँदाको स्वाद झनै बढ्छ ।’ प्रसादका रूपमा पुरी, जेरी, तरकारी र हलुवालगायतको व्यवस्था थियो ।


यो सामूहिक भोजमा सबै उमेरका देखिन्थे । ‘आउनुस् हजुर, प्रसाद ग्रहण गर्नुस्, एक गिलास पानी खानुस्, हामीलाई सेवा गर्ने मौका दिनुस्,’ आयोजकले बटुवालाई भनिरहेका थिए ।


उनीहरूमा रत्तिभर पनि व्यक्तिगत नाम र प्रचारप्रसारको मोह देखिएन । उनीहरू हरेक वर्ष यसै गरी विजयादशमीमा नि:शुल्क भोजन र पानी वितरण गर्छन् । यहाँका सबै समुदायले उमङ्गका साथ मनाउने दसैंमा मन्दिर, मेला तथा मिठाइ पसललगायत सबै थलोमा सामाजिक सदभाव देखियो । नचिने पनि एक अर्कालाई दर्शन एवं किनमेलमा सहयोग गरिरहेका थिए । मन्दिरको लाम होस् वा प्रसादको, मेला भर्न आएकाले तँछाडमछाड गरिहेका थिएनन् । बरु ज्येष्ठ नागरिक, अशक्त बिरामी, गर्भवती र बालबालिकालाई प्राथमिकतामा राखेर अघि बढिरहेका भेटिए ।


‘दसमीमा पाइलैपिच्छै मेला लागे पनि नि:शुल्क भोजन र शुद्ध पिउने पानीको व्यवस्था कतै हुन्न, किनेर खानु पर्छ,’ विराटनगरका व्यवसायी प्रेम अग्रवालले भने, ‘सहरको यो मेलामा आएका भने भोकैप्यासै नफर्किऊन् भनेर हामी खुवाएरै पठाउँछौं ।’

प्रकाशित : आश्विन २४, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?