नाच सिक्दै सन्थाल समुदाय

सन्थाल समुदायका युवा नवमीदेखि पूर्णिमासम्म झापाका विभिन्न स्थानमा लाग्ने दसैं मेलामा नृत्य देखाउने अभ्यासमा व्यस्त
अर्जुन राजवंशी

(बिर्तामोड) — भगन टुडुको दैनिकी अहिले व्यस्त छ । दिनभर घरको काम । बिहान–बेलुका गाउँभरीका युवाहरूलाई भेला गरेर नाच सिकाउने । कनकाई नगरपालिका ७ कालीमुडा गाउँका सन्थाल पुरुषहरू यतिबेला दसैं नाच सिक्न व्यस्त छन् । 

कालीमुडा गाउँमा दसैंको रौनकताले भेटिसकेको छ । करीब एक सय सन्थाल घरपरिवारको बसोबास रहेको कालीमुडा गाउँका ५० बढी पुरुष दसैं नृत्यको अन्तिम तयारीमा छन् ।

गाउँको मन्जिथान (सन्थाल जातिको थान) मा भेला भएर जातीय पोसाक र मौलिक बाजागाजासहित उनीहरू अहिले धमाधम नृत्य अभ्यास गरिरहेका छन् । झापामा नवमीदेखि पूर्णिमासम्म जिल्लाका विभिन्न स्थानमा दसैं मेला लाग्ने गर्दछ । ती मेलाको मुख्य आकर्षण नै सन्थाल नृत्य हुने गरेको छ ।

सन्थाल भाषामा दसैं नृत्यलाई ‘दसाई एनक’ भनिन्छ । उनीहरूले दसैं मेलामा विशेषगरी दसाई एनक, रिन्जे एनक, धिम्सोर एनक र दङ एनक नामक् नृत्य प्रदर्शन गर्ने गर्छन् । नृत्यका लागि बाजाहरू तुङ्गा, टामाट र ड्रम चाहिन्छ । ५०–६० जनाको समूह । एकै रंगको पोसाक । शीरमा नेपालको राष्ट्रिय झण्डा ।

घुगुरा, पैङजन, पोट्कु, रुमाल, मुजा, टाई लगाएर सिट्टी फूक्दै लोक बाजामा सन्थाल जातिले दसैं नृत्य गर्ने गर्छन् । दसैं मेलामा सन्थाल नृत्यको प्रतियोगिता नै आयोजना गरिएका हुन्छन् । आकर्षक नगद पुरस्कारसहित निमन्त्रणा गरेर नृत्य गर्न बोलाइने भएकाले पछिल्लो समय सन्थाल नृत्य आकर्षक बनाउन जरुरी भएको जिल्ला समन्वय समिति सदस्य माराङ्ग हास्दाले बताए । यसका लागि यतिबेला सन्थाल बस्तीहरूमा धमाधम तयारी चलिरहेको छ ।

सन्थाल नृत्य बडा दसैंको सप्तमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रदर्शन गरिन्छ । जिल्लामा कालीमुडा, बाह्रदशी गाउँपालिकाको राजगढ, कमल गाउँपालिकास्थित सराङपाडाको सन्थाल नाच टोली ठूलो र आकर्षक मानिन्छ । यी बाहेक अन्य डेढ दर्जन स्थानमा पनि सन्थाल नाच टोली छन् ।

जिल्लामा गरामनी, फूलबारी, चारआली, घैलाडुब्बा, गौरीगञ्ज, जुरोपानी, टाघनडुब्बा, राजगढ, बैंसाबारी, बनियानी, लकडीगद्दी, पाडाजुँगी, शिवगञ्ज, कुञ्जिबारी, रंगियाथान, कुमरखोदलगायतका स्थानमा ठूलो दशैं मेला लाग्ने गर्छ ।
‘गाउँमा दसैं नाचको तयारी धमाधम भइरहेको छ’ कालीमुडास्थित बिहानी सन्थाल युवा क्लबका अध्यक्ष समेत रहेका भगन टुडुले भने । कालीमुडा सन्थाल नाच टोलीमा नृत्यका लागि ५० जना युवा छन् । उनीहरू सबैलाई पुग्ने पोसाक छ । ‘यो बर्ष हामी अघिल्ला बर्षमा भन्दा धेरै ठाउँमा पुरस्कार जित्ने गरी तयारीमा छौं’ टुडुले भने, ‘प्रतियोगिता र मेलाको स्तर हेरेर सहभागी हुन्छौं ।’

दसैं मेलामा नृत्य गर्नुअघि फूलपातिदेखि नवमीसम्म घरघर नृत्य गर्दै हिँड्नुपर्ने चलन छ । ‘दसैं मेलामा नृत्य गर्नुअघि दुर्गा भगवतीलाई जगाउन फूलपातिदेखि नवमीसम्म तीन दिन घर घरमा गई नृत्य गर्नुपर्छ’ बुधराई मुर्मुले भने,‘त्यसपछि दसैं मेलामा नृत्य गर्ने चलन छ ।’ ०६८ को जनगणना अनुसार नेपालभरी यो समुदायको जनसंख्या ५१ हजार ७ सय ३५ हो । सबैभन्दा धेरै जिल्लामा करीब ३५ हजारको बसोबास छ ।

प्रकाशित : आश्विन १९, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

महाअष्टमी पर्व

कान्तिपुर संवाददाता

काठमाडौँ — आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आइतबार नेपालीहरुले बडादसैंका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादसैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । 



आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने।

ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताए। आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उनले बताए। दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताए।

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उनले भने। यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ। यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो। आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ। ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ।
आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ। यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो।
देवीका शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ। पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन्। आज राति हनुमानढोकाको दसैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ।

प्रकाशित : आश्विन १८, २०७६ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्