३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दसैंमा झाँगड समुदायको लोकनृत्य

दुर्गा मन्दिर परिसरमा लाग्ने दशमी मेलामा दुर्गामातालाई प्रसन्न पार्न धर्मसंस्कृतिको गीत गाउँदै बेलुकीदेखि साँझसम्म नाचिन्छ
जितेन्द्र साह

मोरङ — पुरुष वाद्यवादन मिलाउँदै । महिला लुगाफाटा पट्याउँदै । बालबालिका मादल एवं सानो ड्रम बजाउँदै । पञ्चमीमा बिहीबार बिहान मोरङको कटहरी गाउँपालिका–५, भौडाहा टोलको झाँगड (उराँव) जातिको बस्तीमा पुग्दा देखिएको दृश्य हो यो ।

दसैंमा झाँगड समुदायको लोकनृत्य

यो आदिवासी जनजाति समुदायले विजयादशमीमा लाग्ने मेलामा पुर्खौंदेखि परम्परागत नृत्य प्रस्तुत गर्दै आइरहेका छन् । ‘महिला र पुरुषले काँधमा काँध मिलाएर नाच्ने चलन छ,’ झाँगड समुदायका अगुवा ६६ वर्षीय बद्री उराँवले भने, ‘बुढयौलीले नाच्न नसक्ने भएर म मादल बजाउँछु ।’


झाँगडहरूले नजिकैको नयाँ बजार र रामचोकको दुर्गा मन्दिर परिसरमा लाग्ने दशमी मेलामा दुर्गामातालाई प्रसन्न पार्न धर्मसंस्कृतिको गीत गाउँदै बेलुकीदेखि साँझसम्म नाँच्छन् । ‘बाजागाजासहित २० जनाको टोली हुन्छ,’ २३ वर्षीया अर्चना उराँवले भनिन् । सुनसरी गढी गाउँपालिका–४, छिटाहा घर भएकी उनी दसैं नृत्यमा सहभागी हुन केही दिन अगावै माइत आइपुगेकी हुन् । ‘होस सम्हालेदेखि देख्दै र सिक्दै आएको हुनाले यहाँका सबै युवायुवतीलाई नाच्न आउँछ,’ उनले भनिन्, ‘एक/दुई दिन अभ्यास गरे पुग्छ ।’


विराटनगरकै पोखरिया उच्च माविमा ११ कक्षासम्म पढेका श्रीमान विशाल उराँवले पत्नी अर्चनालाई साथ दिएका छन् । ‘लोक संस्कृति भनेको पहिचान हो, श्रीमतीलाई नाच्नबाट रोक्ने कुरै भएन,’ उनले भने ।


साथी विशालसँगै पहिलो पटक यो बस्ती घुम्न आइपुगेका विराटनगर कञ्चनबारीका युवक रोशन ढुंगेल पनि झाँगडको संस्कृति प्रेम देखेर चकित परेको बताए । ‘शिक्षा र चेतनामा पछि परे पनि झाँगडको लोकनृत्य एवं धर्मसंस्कृति प्रतिको लगावले मन छोयो,’ उनले भने । यी आदिवासी जनजातिहरूले सरकारी, गैर सरकारी संस्था एवं स्थानीय निकायको सहयोग बिनै लोक संस्कृतिको जगेर्ना गरिरहेका छन् । मेलाका आयोजकले दिने नगद रकम वा पुरस्कारबाट सबै जनाले मिलेर नृत्यका लागि पोसाक र वाद्य वादन किन्ने गरेको अर्चनाले बताइन् । उनीहरूले ८ हजार रुपैयाँमा दुई मादल, ढोलक जस्तै वाद्यवादन डिगा र सानो ड्रम किनेका छन् ।


उनका अनुसार मेला वा जात्राका आयोजकले ८ देखि १५ हजार रुपैयाँसम्म दिन्छन् । यो नृत्य पनि बाआमाबाट छोराछोरीमा हस्तान्तरण हुँदै आएको छ । ‘बुढाबुढीले चाँहि हेर्ने मात्र हो, छोराछोरीले मात्र नााँच्छन्,’ ३५ वर्षीया शिलादेवी उराँवले भनिन् । स्थानीय ४० वर्षीया शान्ति उराँवले डेढ दसक अगाडिसम्म नाँचे पनि अहिले उनको ४ छोराछोरीले निरन्तरता दिइरहेका छन् । भदौ पूर्णिमा हुने कर्माधर्मा पुजा यो जातिको सबैभन्दा ठूलो पर्व हो । यसमा उनीहरूले देवीदेउताको पुजा गर्नुका साथै नाचगान पनि गर्छन् ।

‘निम्तो आइराख्ने हुनाले हामी वर्षभरि नै साँस्कृतिक कार्यक्रम र झाँकीहरूमा सहभागी भइरहेकै हुन्छौं,’ ६० वर्षीय रमेश उराँवले भने, ‘तर, दसैंमा नाच्नु भनेको परम्परा नै हो, दशमीको प्रतिक्षा गरिरहेका हुन्छौं ।’


मजदुरी र खेतीपाती गरेर यो जातिले गुजारा गर्छन् । विराटनगरदेखि १२ किमि पूर्वोत्तर भौडाहामा झन्डै सय घर, कटहरी–६ ढेलाखोकीमा १५ घर र कटहरी–७ को हुरहुरिया तथा तकिया बस्तीमा ३५ घर झाँगड समुदाय छन् । झाँगड जाति मोरङबाहेक इलाम, झापा, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, ललितपुर, काठमाडौंमा र कञ्चनपुरलगायतका जिल्लामा समेत बसोबास गर्छन् ।

प्रकाशित : आश्विन १७, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?