कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सामूहिक बलात्कारमा परेपछि संगिनी सुई !

कान्तिपुर संवाददाता

सुस्त मनस्थितिको भएकाले उनी पटकपटक बलात्कारको सिकार बनेकी छन् । कमजोर अवस्थाको परिवारले केही गर्न सक्दैन । पटकपटकको घटनाबाट आजित बनेका परिवारले उनलाई गर्भनिरोधक संगिनी सुई लगाइदिने गरेका छन् ।

सामूहिक बलात्कारमा परेपछि संगिनी सुई !


कथा धरानकी २२ वर्षीया युवतीको हो । पछिल्लो पटक उनी दुई दिनअघि इटहरीमा बसभित्रै सामूहिक बलात्कृत भइन् । धरानबाट मोरङको बेलबारी जाने क्रममा गत सोमबार राति उक्त घटना भयो । पीडित युवती सुस्त मनस्थितिकी छन् । यही कारण उनी पटकपटक बलात्कारमा परिरहन्छिन् ।


साँझ ६ बजे धरानबाट विराटनगरका लागि को १ ख ४६२७ नम्बरको खाम्दाके यातायात बस छुटेको थियो । बेलबारी जानुपर्ने भएकाले इटहरीमा ओर्लने क्रममा बसका स्टाफले अर्को बसमा चढाइदिने बताए । युवती विश्वासमा परिन् र सिटमा चुपचाप बसिन् । तर स्टाफले अर्को बसमा चढाउनु साटो इटहरी १० स्थित साथी पेट्रोल पम्पनजिकै बसभित्र युवतीमाथि सामूहिक बलात्कार गरे ।

घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न ६ जनालाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा १२ का ३३ वर्षीय विकास कसाई, झापा सुरुङ्गाका २२ वर्षीय सुरज थापा, सिरहा लहान ४ का २६ वर्षीय सुरेन्द्र भुजेल र मोरङ बेलाबार ७ का अशिष कार्की छन् । २५ वर्षीय सुमन मग्राती र मोरङ बेलबारीका २५ वर्षीय नितेश घिमिरे भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीले युवतीको उद्धार गर्दा करिब पौने १० बजेको थियो । गन्तव्यमा उत्रन नदिई युवतीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी धर्मराज भण्डारीले बताए । पीडितको स्वास्थ्य अवस्था सामान्य छ । हाल उनलाई पुनःस्थापना केन्द्रमा राखिएको छ । पक्राउ परेकालाई फौजदारी संहिताअनुसार बलात्कार कसुरमा मुद्दा दर्ता गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित यसअघि पनि पटकपटक बलात्कारको सिकार भएको बुझिएको छ ।

सुकुम्बासी बस्तीभित्र सानो टिनको घरमा युवती र उनकी आमा मात्र बस्दै आएका छन् । केही वर्षअघि बाबुको मृत्यु भएको थियो । दाजुभाउजू रोजगारीका क्रममा धरान बाहिर छन् । उनकी आमा एक निजी विद्यालयमा सहयोगीका रुपमा काम गर्छिन् । परिवारको रेखदेख गर्ने कोही छैन । घरदेखि बाहिर जथाभावी हिँड्ने गरेका कारण उनी पटकपटक बलात्कारको सिकार बनेकी हुन् । राम्रोसँग रेखदेख गर्न नसकिएका कारण परिवारले उनलाई संगिनी सुईको प्रयोग गरिदिने गरेको छ । राजनीतिक पहुँचका आधारमा पीडिकहरू उम्कने गरेको महिला सञ्जाल धरानकी सचिव कोपीला भट्टराईले बताइन्. ।

‘पीडकको विषयमाथि बोल्दा नेताहरूले संरक्षण गर्ने गरेका छन्,’ उनले भनिन्, ‘महिला अधिकारकर्मीलाई बोल्न डराउनुपर्ने अवस्था छ ।’ महिलाहरू हरेक ठाउँमा असुरक्षित हुनुपरेको उनको भनाइ छ ।नेपालमा कानुन किताबमा मात्र सीमित रहेको अधिवक्ता सबिता राई बताउँछिन् । ‘पीडकको सोचमा पनि परिवर्तन आएको छैन,’ उनले भनिन्, ‘कानुन कार्यान्वयन हुन सकेको छैन ।’

बढे बलात्कारका घटना
असोज ४ गते मोरङको ग्रामथान गाउँपालिकामा १७ वर्षीया किशोरी सामूहिक बलात्कारमा परिन् । बलात्कार आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ग्रामथान–५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, २२ वर्षीय प्रकाशकुमार थारु र बेलबारी ५ का २२ वर्षीय सन्तोषकुमार माझी पक्राउ परेका हुन् । मोरङ सुन्दरहरैचाकी ती किशोरीलाई उनीहरूले राति ९ बजे केराबारीमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । पीडित परिवारले राति १ बजे इलाका प्रहरी हरैंचामा जानकारी गराएपछि प्रहरीले चारै जनालाई समातेको हो ।


भदौमा १५ वर्षीया किशोरीलाई सार्वजनिक बसभित्र बन्दी बनाएर सामूहिक बलात्कार प्रयास भयो । धनकुटा घर भएकी उनी मोरङको बेलबारीमा आफन्तकहाँ बस्दै आएकी थिइन् । बेलबारीबाट उनलाई फकाएर बसमा चढाई रंगेली ९ स्थित दोहमनाहाट चोक लगेर बसभित्रै बलात्कार प्रयास गरिएको थियो । किशोरीले प्रतिकार गर्दै चिच्याएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

न्यू सुनकोसी सुपर नामको ना६ख ९३४४ नम्बर बसका चालक मोरङ रंगेली नगरपालिका ३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका ४ का १६ वर्षीय एक किशोरलाई इलाका प्रहरी रंगेलीले भदौ २२ गते पक्राउ गरेको हो । पक्राउ परेका चालक किरण खड्का अदालतको आदेशबाट पुर्पक्षका लगि थुना छन् । १६ वर्षीय किशोरलाई भने तारेखमा छाडिएको एसपी अधिकारीले जनाए ।

प्रकाशित : आश्विन १७, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?