कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान खेत मासेर घाँस

कान्तिपुर संवाददाता

विराटनगर — बाख्रा पालनका लागि पाँच वर्षअघि धान खेतमा घाँस छर्दा रंगेली नगरपालिका ८ दर्वेशाका फडिन्द्र सुवेदीलाई छिमेकीले गिज्याए  । वर्षमा दुई वाली धान फल्ने एक विघामा घाँस उमारेर उनले उन्नत जातका बाख्रापालन सुरु गरेका थिए  ।

अहिले तिनै छिमेकी सुवेदीलाई सफल किसान भन्न थलेका छन् ।


सुवेदीले बाख्राको बोका र पाठी बेचेर तीन वर्षयता वार्षिक सरदर २० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । बाख्रा पालन व्यवसाय सप्रिदै गएपछि उनले वैदेशीक रोजगारीका लागि कतार पुगेका छोरा अशोक र कतार पुगेका टेकनाथलाई स्वदेश बोलाएर यही कर्ममा लगाएका छन ।


‘धान फल्ने खेतमा घाँस छरेर बाख्रा पालन सुरु गर्दा फडिन्द्र वहुलाएछ जस्तो लागेको थियो’ छिमेकी भक्त वरालले भने ‘अहिले उनैले बाख्रा पालनवाट राम्रो आम्दानी गरेको देख्दा हामीले चित खाएका छौ ।’ बरालका अनुसार सुवेदीको व्यवसाय सप्रिएको देख्दा गाउँका हरेक परिवारमा अहिले बाख्रा पाल्ने लहर चलेको छ ।


सुवेदीको सावित्रा बाख्रा फारममा अहिले सय भन्दा बढी बाख्राका बोका, पाठा, पाठी र माउ बाख्रा छन् । सुरुमा उनले ५ वटा बाख्रावाट व्यवसाय सुरु गरेका थिए । पछिल्लो ३ वर्ष देखि उनले बोयर जातका बोका उत्पादनमा लगानी गरेका छन । यो जातको बोकामा सानै उमेरमा खदिलो हुने र रोग प्रतिरोधात्मक क्षमता बढी भएकोले बोयर बाख्रापालनमा जोसखम कम हुने उनको बुझाई छ । उनी स्थानीय जातका बाख्रामा बोयर बोकाबाट प्रजनन गराई पाठापाठी उत्पादन गर्दै आएका छन ।


यसरी बोयर जातका बोका पाठी उत्पादन गर्न सुरु गरेपछि माग धान्न गाह्रो भएको सुवेदीको भनाई छ । गत वर्ष सुवेदीले पाठा पाठी बिक्री गरेर १६ लाख रुपैयाँ नाफा गरेका थिए । यसवर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर आम्दानी हुने अनुमान उनको छ । बाख्राको जुतो खास गरी चिया खेती गर्नेले प्रति बोरा तीनसय रुपैयाँ तिरेर लैजाने गरेको सुवेदीको भनाई छ ।


गाउँकै सफल किसानका रुपमा चिनिएका सुवेदीलाई रंगेली नगरपालिका र प्रदेश सरकारले गरेर ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएका छन । अहिले सरकारको अनुदान लिन व्यवसाय गर्ने प्रबृत्ति बढेको छ । सुवेदीले भने अनुदान लिन व्यवसाय गर्ने होइन व्यवसाय गरेर अनुदान लिनुको मज्जा नै बेग्लै हुन्छ ।

उनको फर्ममा परिवारका चार सदस्य वाहेक अरु तीनजनाले रोजगारी पनि पाएका छन । उनले घाँसको नर्सरी पनि व्यवसायिक रुपमा गरेका छन । वित्तिय सस्थावाट ऋण लिएर व्यवसाय सुरु गरेका सुवेदीको फर्ममा अहिले सम्म करिव ३५ लाख रुपैयाँ खर्च भइसकेको छ ।

प्रकाशित : आश्विन १७, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?