हत्यामा संलग्नको खोजी

कान्तिपुर संवाददाता

खोटाङ — जिल्लाका भिन्न स्थानमा भएका तीनजना महिलाको हत्या घटनामा संलग्न दोषी अझै पत्ता लाग्न सकेका छैनन्  । घटनाको गम्भीर रुपमा अनुसन्धान हुन नसकेको पीडित परिवारले गुनासो गरेका छन्  ।

ZenTravel

खोटाङ गाउँपालिका सिम्पानीकी रीता तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमायाँ विश्वकर्मा र जन्तेढुङ्गा गाउँपालिकाकी देवी विश्वकर्माको हत्यारा अझै पत्ता लागेको छैनन् ।


खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङको २०७३ माघ २६ मा हत्या भएको थियो । सिम्पानी बजारस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता घर नआएपछि खोजीका क्रममा कुशेऔसी जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भिरमा मिल्काइएको अवस्थामा मृत फेला परेकी थिइन् ।

Meroghar


तामाङको हत्यारा पत्ता लगाउन नसकेपछि उनका परिवार झन पीडित बनेको छ । घट्नास्थल मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीको आशंका गरेको थियो ।


खोटाङस्थित प्रहरीले अनुसन्धान गर्न नसकेपछि रिजनल इन्भेस्टीगेसन टिम (आरआइटी)लाई आयोगले अनुरोध गरेको थियो । स्थानीयले भने प्रहरी प्रशासन दोषी पत्ता लगाउँन उदासीन बनेको गुनासो गरेका छन् । जिल्लास्थित राजनीतिक दल तथा अधिकारकर्मी समेत यो घटनाप्रति संवेदनशील नबनेको उनीहरूको गुनासो छ । यो घटनाका दोषी पत्ता नलागेपछि स्थानीय झन त्रासित बनेका छन् । दोषी निर्धक्कसाथ हिडिरहेको तर प्रहरी प्रशासन भने अनुसन्धानमा उदासीन बनेको रीताका बुवा वीरबहादुरले गुनासो गरेका छन् ।


त्यस्तै २०७४ साउन ४ गते मृत फेला परेकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषीको अझै पत्तो लाग्न सकेको छैन । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खु शिवालयस्थित माइतीबाट घर फर्कने क्रममा सम्पर्कबिहीन भएको दोश्रो दिन विश्वकर्मा मृत फेला परेकी थिइन् । विश्वकर्माको शव सडक भन्दा करिब पाँच सय मिटर तल फेला परेको थियो ।

कम्बरमुनिको कपडा खोलिएको र नाकबाट रगत बगेको अवस्थामा विश्वकर्माको शव फेला परेको थियो ।हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमायाँ विश्वकर्मा हत्यामा संलग्न पनि अझै पत्तो लागेको छैन । २०७४ जेठ १६ गते स्थानीय गुँरासेडाडाँमुनि मृत फेला परेकी थिइन् । यसबारेमा खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वामदेव गौतमले भने अनुसन्धान भइरहेको बताए।

प्रकाशित : आश्विन १७, २०७६ ११:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

१६ वर्षदेखि थन्कियो कन्टेनर एक्सरे

चिनियाँ न्यु टेक कम्पनीद्वारा निर्माण गरिएका करिब २५ करोड रूपैयाँ लागत पर्ने मेसिन चीन सरकारले अनुदानमा दिएको हो । अनुदानका यी मेसिनमध्ये एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छ ।
शंकर आचार्य

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा अत्याधुनिक कन्टेनर एक्सरे (स्क्यानर मेसिन) १६ वर्षदेखि उपयोग नगरी थन्काइएको छ  । तेश्रो मुलुकबाट सामान आयात गर्दा प्रयोग हुने कन्टेनरलाई स्क्यान गर्ने यो मेसिन हालसम्म बन्दरगाहमा प्रयोग मै ल्याइएको छैन  ।

चिनियाँ न्यु टेक कम्पनीको करिब २५ करोड रुपैयाँ लागतको यो मेसिन चीन सरकारले अनुदानमा दिएको थियो । २०६१ माघमा मेसिन सुक्खा बन्दरगाहमा ल्याइएको थियो । कन्टेनर स्क्यान प्रयोजनमा प्रयोग नभए पनि यो मेसिन भने अहिलेसम्म तीन पटक बिग्रिसकेको छ । मेसिन बनाउन चीनबाटै प्राविधिक बोलाएर यसको मर्मत गराइएको थियो । करिब ८ वर्ष अघि दोस्रोपटक मेसिन बिग्रिँदा मर्मत गर्न आएका चिनियाँ प्राविधिक टोलीले मेसिन मर्मत गरेलगत्तै मुसाले तार काट्ने समस्या देखेपछि मेसिनलाई सुरक्षित राख्न व्यवस्थित ग्यारेज निर्माण वा मुसा मार्न बिरालोको दरबन्दी खडा गरी बिरालो पाल्न सुझाव समेत दिएको थियो ।


प्रयोग गर्दा विकिरण छोड्ने यो मेसिनलाई संचालन मात्र नभई सुरक्षित साथ पार्किङ भवन हालसम्म पनि बन्दरगाहमा निर्माण गरिएको छैन । यसलाई वातानुकुलित भवनमा मात्र भण्डारण गरेर राख्नुपर्छ । हाल बन्दरगाहको गोदामको बाहिरतर्फ निस्केको छानो मूनि राखिएको छ । घाम र हावाले मेसिनका महंगा र महत्वपूर्ण उपकरणहरू समेत मुसाले काटेर पुनः बिग्रिसकेको छ । मेसिन संचालन गर्न कम्तीमा ३ सय ८० केभिए विद्युत आवश्यक पर्छ ।


मेसिनलाई चुस्त राख्न सुरुको एक महिना एक पटक जेनरेटरबाट मेसिन चलाउने गरिएको थियो । मेसिनले एक घण्टामा कम्तीमा १२ लिटर डिजेल खपत गर्छ । सुरु देखिनै यो उपकरण सुक्खा बन्दरगाहमा राखिए पनि यसको ग्यारेज भने करिब ७ वर्ष अघि वीरगन्ज भन्सार परिसरमा निर्माण गरिएको थियो । भन्सार परिसरको ग्यारेज स्क्यानर मेसिन भन्दा सानो भएकाले केही वर्ष उक्त ग्यारेज भन्सार एजेन्टहरूका लागि ब्रोकर मोडल कक्षको रुपमा उपयोग गरिएको थियो । उक्त ग्यारेज करिब ३० लाख रुपैया लागतमा निर्माण गरिएको थियो ।


यो मेसिन चलाउन सुक्खा बन्दरगाह भन्सारमा एक अपरेटरको दरबन्दी समेत थियो । पछिल्ला अपरेटर सूर्य नेपाल यहाँबाट सरुवा भई करिब ७ वर्ष अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गएपछि अर्का अपरेटर आएकै छैनन् । सुरुमा चिनियाँ अपरेटरहरू नै आएर यो मेसिन चलाए पनि उनीहरू फर्केपछि भन्सार विभागले मातहतका दुई प्राविधिक र चार बहिदारलाई चीनको बेइजिङमा एक महिने तालिम लिन पठाएको थियो । तालिम लिएर आएका तत्कालीन बहिदारहरू हाल मुखिया तथा खरिदार/सुब्बामा बढुवा भई अन्यत्र भन्सारमा कार्यरत छन् । भन्सार प्रक्रिया सहजीकरण बनाउन अन्तर्राष्ट्रिय बन्दरगाहमा यो मेसिनको प्रयोग हुन्छ । यस्ता खाले दुई मेसिन चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएकोमा अर्को मेसिन त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा छ ।


अधिकतम आधा घण्टामा एक कन्टेनरको एक्सरे गरेर उक्त कन्टेनर भित्र रहेको वस्तुको लिखित प्रतिवेदननै उपलब्ध गराउने क्षमता भएको यो मेशिन प्रयोगमा आएको खण्डमा आयातकर्ताहरू ठाउ ठाउमा गरीने कन्टेनरको झन्झटिलो चेक जाचबाट समेत व्यावहारीक रुपमा मुक्त हुन्छन् । भन्सार विभागले यो मेसिन विशेष गरी वीरगन्ज भन्सारलाई लक्षित गरी पठाएको थियो । यो मेसिनको आम्दानी समेत उक्त भन्सारमै बाधिए पनि मेसिन भने सधैं सुक्खा बन्दरगाहमै रहेको छ । यो उपकरण भन्सारले मात्र नभई राजस्व अनुसन्धान कार्यालय, प्रहरीले समेत राजस्व चुहावट नियन्त्रण तथा सुरक्षा जाँचका लागि समेत गर्न सक्छन् ।


सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले करीब अढाई बर्ष अघि यो मेसिन बिग्रिएको र त्यसपछि मर्मत सम्भारनै हुन नसकेको बताए । ‘अहिले मेसिन उपयोगनै गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘म भन्दा अघिल्ला भन्सार अधिकृत सूर्य सेढाइको कार्यकालमा बिग्रीएको मेसिन मर्मत गर्न एक पटक इन्जिनियरको टोली पनि आएको मैले सुनेको हु,ँ तर उक्त टोलीले पनि मेशिनको मर्मत गर्न सकेन, हाल मुसाले मेसिनको तार धेरै ठाउँमा काटिसकेकाले अब यो मेसिन कबाडकै रूपमा फाल्नुपर्ने अवस्था छ ।’


बन्दरगाहस्थित इन्टरमोडल यातायात विकास समितिका प्रमुख हेमेन्द्रमोहन शाहीले यो मेसिन भन्सार जाँचपास प्रकृयाका लागि अत्यन्त उपयोगी हुने बताए । ‘आईसीपीतर्फ हामीलाई यो मेसिन पाएको भए हामी भरपूर उपयोग गर्थ्यौ, तर यो मेसिन भन्सारको स्वामित्वको भएकाले हामीले उपयोग गर्न पाउँदैनौं,’ उनले भने, ‘भारतीय आईसीपीमा हाल भारतीय पक्षले यो मेसिन जडान गरिरहेको छ, उनीहरूले नेपालतर्फ हुने निर्यात हुने कन्टेनरको एक्सरे जाच गर्ने छन, नेपालको आइसिपिमा पनि यस्तो उपकरण भई दिए हामीले भारततर्फ निर्यात हुने वस्तुको मेसिनबाटै जाँच
गर्ने थियौं ।’

प्रकाशित : आश्विन १७, २०७६ ११:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×