कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

झरीमा रुझ्दै भत्ता लिनेको घुइँचो

पर्वत पोर्तेल

(काँकडभिट्टा) — मेचीनगर ६ की एकल महिला मनकुमारी उप्रेती बिहानको ९ बज्नु अगावै नेपाल बैंक पुगिन् । उनी पुग्दा भत्ता लिन पुगेका वृद्धवृद्धाको लाइन लामो थियो । कोही झरीमा रुझ्दै त कोही छाता ओडेर भत्ताको पर्खाइमा बसेका थिए ।

झरीमा रुझ्दै भत्ता लिनेको घुइँचो

मनमायाले भनिन्, ‘तीन दिनदेखि झरी परेर आउनै सकिनँ । झरी नरहने छाँट नदेखेपछि आएँ ।’ दसैं नजिकिँदै छ । मनमाया जस्ता एकल, दलित र ७० वर्ष नाघेका वृद्धवृद्धा तीन दिनदेखि झरीमा रुझ्दै भत्ता थाप्न लाइनमा छन् । भत्ता थापेर दसैंमा मिठो मसिनो खाने योजनामा वृद्धवृद्धा छन् । मेचीनगर नकलबन्दाकी पावनी राजवंशी ढिला आएकाले लाइनको अन्तिममा छिन् । उनलाई आज दिनभरिमा भत्ता थाप्न सक्छु भन्ने आशा छ ।


सरकारले पाका वृद्धवृद्धा दलित, एकल महिलालगायतलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । तर, भत्ता थाप्न उनीहरूलाई ठूलै युद्ध जितेजस्तो हुने गरेको छ । कहिले चर्को घाम त, कहिले दर्के झरीमा वृद्धवृद्धा वडो कष्टका साथ भत्ता थाप्न बाध्य छन् । ‘स्थानीय सरकारले पाकालाई घरमै भत्ता पुर्‍याउने प्रबन्ध गर्न जरुरी देखिन्छ,’ रिडर्स झापाका सदस्य सौरभ मैनाली भन्छन्, ‘यस्तो सास्ती कतिन्जेलसम्म ?’ सरकारले जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख समुदाय र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । मेचीनगर नगरपालिकाका अनुसार पहिलो चौमासिकको भत्ता असोज पहिलो साता, दोस्रो चौमासिकको माघ पहिलो साता र तेस्रो चौमासिकको भत्ता जेठ पहिलो साता वितरण गर्दै आएको छ ।


यो वर्ष करिब ४० करोड हाराहारीमा सामाजिक भत्ता वितरण गर्ने जनाएको छ । नगरका १५ वटै वडासहित १३ हजार ३ सय २९ जनालाई भत्ता उपलब्ध गराइएको जनाएको छ । सामाजिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले प्रथम चौमासिकमा १४ करोड १२ लाख ९८ हजार ४ सय रुपैयाँ वितरण गरिने जनाए । ७० वर्ष नाघेका जेष्ठ नागरिकले मासिक ३ हजार, ७० वर्ष नाघेका जेष्ठ दलितले मासिक ३ हजार, ६० वर्ष माथिकाले मासिक २ हजार, ७० वर्ष नाघेका एकल महिलाका हकमा मासिक ३ हजार, ७० मुनिकाले मासिक २ हजार, पूर्ण अपांगता भएका व्यक्तिले मासिक ३ हजार, आंशिक अपाङले मासिक १ हजार ६ सय, ५ वर्ष मुनिका दलित बालबालिकाले मासिक ४ सय, ७० नाघेका लोपोन्मुख समुदायका व्यक्तिले मासिक ४ हजार र ७० वर्ष कमका लोपोन्मुखले मासिक ३ हजार रुपैयाँ सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।


विगतमा नगरपालिका र वडा कार्यालयबाट वितरण हुने भत्ता केही वर्षयता सम्बन्धित वडा नजिकको नेपाल बैंकबाट वितरण हुँदै आएको छ । तर, संघीय संरचनापछि स्थानीय सरकारले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मार्फतसम्बन्धित व्यक्तिको नाममा खोलिएको बैंक खातामा नगरले सोझै रकम जम्मा गर्दै आएको छ । मेचीनगरले नेपाल बैंक र धुलाबारी शाखा, एक्स्ल विकास बैंक काँकडभिट्टा, एनआइसी एसिया बैंक धुलाबारी, ग्लोबल आईएमई बैंक धुलाबारी र चारआलीमा रकम पठाउने गरेको छ ।



वृद्धवृद्धालाई घरमै


धनकुटा । घटस्थापनाको दिन बिहानै सामाजिक सुरक्षा भत्ता हात परेपछि धनकुटा ४ छारागाउँकी ९४ वर्षीया लीलादेवी थापा दंग परिन् । गाउँ पुगेका कर्मचारीले रकम वितरण गरेपछि ५ सय दरका १२ हजार रुपैयाँ दोहोर्‍याएर गनिन् । भनिन्, ‘भत्ताले मन लागेको कुरा किनेर खान्छु ।’


देब्रेबासका ७७ वर्षीय भोजनिधि भण्डारी पनि उस्तै खुसी देखिए । दुवै आँखा देख्न नसक्ने उनले पूर्ण अपांगता वापत चौमासिक रकम १६ हजार प्राप्त गरे । दसैं भित्रिँदै गर्दा धनकुटा नगरपालिकाले वृद्धवृद्धा तथा अन्यलाई सामाजिक सुरक्षा भत्ता घरदैलोमा वितरण गरेको नगरपालिकाका प्रबन्धक नुषराज श्रेष्ठले बताए । माघा गाउँकी ७१ वर्षीया राजेश्वरी राई (आठपहरिया) पनि हातमा वृद्धभत्ता गन्दै खुसीले मुस्कुराइन् । ‘एकै पटकमा यत्ति धेरै पैसा त कहिल्यै पाएको थिइन,’ उनले भनिन्, ‘मीठो खानेकुरा किनि खान्छु नि ।’ अशक्त व्यक्तिका परिवारका सदस्यले रकम बुझिदिए । तर, आफ्नो रकम आफैं बुझ्न भेला भएका वृद्धवृद्धाको उल्लेख्य भीड देखिन्थ्यो । टोलको निश्चित स्थानमा कर्मचारी गएर रकम वितरण गरेका छन् । भत्ता बुझ्ने अधिकांश जेष्ठ नागरिकले भत्ताले राम्रो लुगा र धार्मिकस्थल भ्रमण गर्ने बताए ।


अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराएको ४ का वडाध्यक्ष जम्शेर राईले बताए । ‘अशक्त बाहेककालाई पनि सहज होस् भनेर टोलटोलमा भत्ता वितरण थालिएको छ,’ राईले भने, ‘दसैं मनाउन र मनले चाहेको खानेकुरा किन्न यसले मद्दत पुग्नेछ ।’ धनकुटा ४ का वडा सचिव उदिप घिमिरेले वृद्धवृद्धा र अपांग नागरिकको मुस्कान देखेर आफूलाई पनि खुसी मिलेको बताए ।

प्रकाशित : आश्विन १४, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?