क्याम्पस प्रमुख नेकपाबाट निलम्बित

कान्तिपुर संवाददाता

इलाम — महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद गुरागाईंलाई  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीबाट निलम्बन गरेको छ । पार्टीको निर्देशनविपरीत क्याम्पस सञ्चालन गरेको भन्दै अन्तरिम विधान २०७५ बमोजिम निष्कासन गरेको पार्टीले जनाएको छ ।

जिल्ला कार्यालयको बिहीबार बसेको बैठकले गुरागाईंलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । कार्यालय सचिव नवराज शंकरद्वारा जारी विज्ञप्तिमा पार्टीको अन्तरिम विधानबमोजिम बुँदा नम्बर १, ३ र ५ मा उल्लेखित कार्य गरेको र त्यससम्बन्धी स्पष्टीकरण माग गरिएकामा बेवास्ता गरिएको भन्दै गुरागाईंलाई पार्टी सदस्यबाट निलम्बन गरेको जनाइएको छ ।


क्याम्पस सञ्चालनका क्रममा केही समयदेखि क्याम्पस प्रमुखको काम कारबाहीप्रति पार्टीले असन्तुष्टि व्यक्त गर्दै आएको थियो । क्याम्पसका विषयमा बाहिर आएका समाचारलाई खण्डन गर्दै विज्ञप्ति निकाल्न सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुँवरसहितले यसअघि कार्यकक्षमा नै दबाब दिएका थिए । सञ्चालक समिति अध्यक्ष कुँवरले काठमाडौंमा बसेर क्याम्पसबाट नियमित सुविधा लिइरहेको विषयसहित क्याम्पसका विभिन्न गतिविधिका खबर बाहिरिएका थिए ।


त्यसैगरी पार्टीको इलाम जिल्ला कार्यालयले पनि क्याम्पस प्रमुख गुरागाईंलाई बाहिरिएका समाचारलाई लिएर स्पष्टीकरण मागेको थियो । पार्टीले ‘पार्टीको नेतृत्वलाई नै मुछेर भ्रामक समाचार किन दिएको ?’ भन्ने प्रश्नसहित त्यसबारे पार्टीमा स्पष्टीकरण बुझाउन भनेको थियो । गुरागाईं नेकपाका सदस्य हुन् । उनी २०७४ कात्तिकमा क्याम्पस प्रमुखमा नियुक्त भएका थिए ।

प्रकाशित : आश्विन ११, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?