कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चलचित्र शैलीमा चोरी

जितेन्द्र साह

(विराटनगर) — थुप्रै चलचित्रमा गाडी एवं उपकरणसहित आएका आपराधिक समूहले घर, पसल वा बैंक फुटाएर चोरेको देखेका छौं । हाल महानगर विराटनगरमा यही शैलीमा शृङ्खलाबद्ध चोरी भयो तर सीसीटीभी फुटेजले अपराधीहरू पक्राउ परे र उनीहरूबाट जे खुलासा भयो, त्यो चलचित्र वा धारावाहिकको कथा भन्दा कम रहस्मयी थिएन ।

१० भदौको बिहान साढे ३ बजे सटर फुटाएर विराटनगर–७ स्थित माँ भवानी इन्टरप्राइजेजबाट ६ लाख रुपैयाँ र कदमाहा कृषि सहकारी संस्था लिमिटेडबाट ४ लाख ९५ हजार रुपैयाँ चोरी भयो ।


यसैगरी २३ साउनको बिहान ३ देखि ४ बजेको बीचमा विराटनगर–२ शनिहाटस्थित गणनायक मार्केटिङ हाउस किराना पसलबाट ४ लाख रुपैयाँ तथा पञ्चकन्या ट्रेड लिंकबाट ५ लाख ९५ हजार रुपैयाँ चोरियो ।


भारतीय नम्बर प्लेटका भाडाको गाडीमा केही दिनका लागि नेपाल क्षेत्र प्रवेश गर्ने एक संगठित गिरोहले यो सब गरेको हुनाले उनीहरूलाई पक्राउ गर्नु प्रहरीका लागि पनि चुनौतीपूर्ण थियो । प्रहरीले खोजी गरिरहेकै बेला उनीहरूले थप दुई चोरी गरेपछि अनुसन्धानले झनै गति लियो । प्रहरीले सूचीकृत एवं पटके अपराधीको फाइल खोताल्यो । प्रमाणको खोजी गरिरह्यो ।


अन्तमा चोरीको दोस्रो घटनामा प्राप्त सीसीटीभी फुजेटलाई प्रहरीले नियाल्दा उक्त गिरोहबाट पर्दा उठ्यो । मोरङ प्रहरीले आफ्ना सबै एकाईलाई सूचित गरेर सतर्क अवस्थामा रहन भन्यो । भाग्न नपाउँदै तीन भारतीय र नेपालमा बस्ने उनीहरूका चार सहयोगीलाई प्रहरीले पक्राउ गर्‍यो । मुख्य अभियुक्त भारतीय नागरिक भने फरार भए ।


‘यो समूहले भारतको विभिन्न ठाउँमा समेत अपराध गरेका छन्, फरार मुख्य अभियुक्त लगायत अन्य उता पनि मोस्ट वान्टेड छन्, ’प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले भने, ‘मुख्य फरार अभियुक्तको खोजीमा नेपाल प्रहरी लागेको छ ।’


यो समूहका केहिलाई रौटहट प्रहरीले पनि पक्राउ गरी मुद्दा चलाइसकेको उनले थप जानकारी दिए । यो समूहले २७ साउनमा विहान अढाइ बजे बीआर ०५पी३६४६ नम्बरको अर्को स्करपियो गाडीमा आई रौतहट चन्द्रनिगाहपुर–४ का हरिबहादुर कार्कीको भुइँ तल्लामा सञ्चालित न्यू श्याम मोबाइल सेन्टरमा चोरी गर्न खोजेको थियो । तीमध्ये भारत सितामढीका ३० वर्षीय लोकेशकुमार र गौर–५, कोइरी टोलका प्रेम शंकर राय यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।


‘दसैंतिहार जस्ता मुख्य चाडबाड अगाडि उनीहरू पक्राउ परेको हुनाले चोरीका थप ठूला घटनाहरू हुन पाएन,’ डीआईजी ज्ञवालीले भने, ‘अब प्रहरीले पनि फरक सुरक्षा रणनीतिकासाथ सीमा क्षेत्रमा गस्ती एवं निगरानी बढाएको छ ।’

उक्त गिरोहले सुरक्षित, सहज, अँध्यारो, चहलपहल कम हुने स्थान तथा पैसा हुने सम्भावना भएको पसल वा व्यापारिक प्रतिष्ठानलाई लक्षित गरेर चोरीको योजना बनाउने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार यो गिरोहले विराटनगरमा २० लाख ९० हजार रुपैयाँ नगद चोरी गरिसकेको थियो ।


अनुसन्धान अनुसार मध्यराति भाडाको गाडीसहित नेपाली सीमा क्षेत्रमा उनीहरू प्रवेश गर्थे । यो गिरोहले अपराध गर्दा पनि निकै सतर्कता अपनाएको देखिएको छ । कोही कसैले गाडी नम्बर प्रस्ट देख्न नसकुन् भनेर उनीहरूले माटो समेत दल्ने गर्थे । उनीहरूले कसैले चिन्न नसकुन भनेर सटरको ताला फुटाउँदा तन्नाले छेकेर कटर मेसिन प्रयोग गरेको प्रहरीले जनाएको छ । मस्त निन्द्रामा हुने स्थानीयको मनोविज्ञान बुझी बिहान २ देखि ४ बजे भित्रको समयलाई उनीहरूले चोरीका लागि रोज्ने गर्थे ।


प्रहरीका अनुसार विराटनगरमा डकैती गरिसकेपछि सातै जना स्करपिओ गाडीमा चढेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत प्रवेशको योजना बनाएका थिए । त्यही योजना अनुरूप भारततर्फ जाने क्रममा ११ भदौं अपराह्न ३ बजे पूर्व–पश्चिम राजमार्गको पथरीशनिश्चरे नगरपालिका–१मा पुगेपछि इलाका प्रहरी कार्यालय पथरीले उनीहरूलाई चोरीमा प्रयोग भएको बीआर ३२ पीए २८३६ नम्बरको स्करपिओसहित नियन्त्रणमा लिएको थियो ।


सुरुवाती अनुसन्धानबाट भारतको सीतामढीमा योजना बनाएर नेपालमा डकैती गर्न आएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । तर, उनीहरू फरकफरक थलोमा योजना बनाउँथे । प्रहरीका अनुसार उनीहरू ९ भदौंको बिहान ८ बजे विराटनगर–जोगवनी नाका भएर नेपाल भूमिमा प्रवेश गरेका थिए ।


उनीहरूले चार दिनको भन्सार समेत तिरेका थिए । ‘अपराध अनुसन्धानको सारा अनुभव प्रयोग गर्यौं, यिनीहरूलाई सीमा काटेर पारी जान दिनु हुन्न भन्ने दृढताकासाथ खोजी गर्‍यौं,’ मोरङ प्रहरी प्रमुख (एसपी) विश्व अधिकारीले भने,‘मिहिनेत सफल भयो, अधिकांश फेला परे ।’


पक्राउ पर्नेमा भारत बिहारको मधुवनी थाना बेनिपट्टि कटैया ग्राम पञ्चायत–१३ बरहाका ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र उक्त क्षेत्रकै लदौत ग्रामपञ्चायत–६ का ४४ वर्षीय मो.मोतिउर रहमान छन् । यसैगरी रौतहट गौर–३ पोखरियाटोलका ४१ वर्षीय मो.मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रह्मपुरी–४ का ५२ वर्षीय सेख मो.सलिफ र ४६ वर्षीय शेख अली असगरलाई पक्राउ गरिएको प्रहरीले भनेको छ ।

यो गिरोहले भारतीय नागरिक रण विजय सिंहसँग चार दिनको १० हजार भारु भाडामा गाडी नेपाल ल्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अनुसन्धान अनुसार डकैतीमा संलग्न गिरोह पूरै बन्दोवस्तीका साथ नेपाल प्रवेश गर्थे । डकैती गरेपछि उनीहरू गाडीमै सुत्थे । खानपीनको पूरा प्रबन्ध गाडीमै हुन्थ्यो ।


डकैती समूहका मुख्य नाइके भनिएका भारत मधुवनीकै फरार मोहम्मद कलामको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘कलामलाई भारतको प्रहरीले पनि खोजी गरिरहेको छ,’ डीआईजी ज्ञवालीले भने । कलामको समूहले भारतको विहार र उत्तरप्रदेशको विभिन्न थलोमा चोरी र लुट गरेको प्रहरीले जनाएको छ । ‘हाम्रो स्तरबाट कलामको खोजीरहेका छौं,’ उनले भने, ‘हात लागेन भने भारतीय समकक्षी र इन्टरपोलको सहयोग लिन्छौं ।’


पक्राउहरूबाट विभिन्न कम्पनीका सात मोबाइल सेट, १२ हजार आठ सय ५० नेरु, ११ हजार चार सय १० भारु, स्करपिओ गाडी, एउटा नेपाली र नौ भारतीय सिमकार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, कम्ब्याट पेन्ट, दुई हाफपेन्ट, सात गाम्छा, दुई तन्ना र दुई तौलिया र चार झोला प्रहरीले बरामद गरेको छ ।


पक्राउ परेका उनीहरूलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँकासम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।


प्रकाशित : आश्विन ७, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?