३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विरोधबीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित

देवनारायण साह

मोरङ — प्रमुख प्रतिपक्ष कांग्रेसको विरोधकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित भएको छ । कांग्रेसका प्रदेशसभा सदस्यहरुको होहल्लाकाबीच ध्वनी मतको आधारमा बहुमतले उक्त विधेयक पारित गरेको हो ।

विरोधबीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित

बैठक सुरु हुनु अगावै कांग्रेसका प्रदेशसभा सदस्यहरुले उठेर बेल घेराउ गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले बैठक सुरु गरेपछि उनीहरुले संसदीय सर्वोच्चता कायम गर लगायतका नारा लगाउन थालेका थिए । सभामुख भण्डारीले पटक पटक विरोध गरिरहेका सांसदहरुलाई बस्न आग्रह गरेका थिए ।


बस्न गरेको आग्रह प्रमुख प्रतिपक्षीले स्वीकार नगरेपछि सभामुख भण्डारीले होहल्लाकैबीच सामाजिक विकास समितिले संसदमा पेस गरेको प्रतिवेदनमाथि छलफल नै नगराई विधेयकको अंग बनोस भनी प्रस्ताव गरेका थिए ।


प्रस्तावना, संक्षिप्त नाम र प्रारम्म्भको प्रस्ताव पास भएपछि सभामुख भण्डारीले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गर्न समय दिए । बेल घेराउ र नाराबाजीकाबीच मन्त्री घिमिरेले आफ्नै कुर्सीमा टेक्दै निस्केपछि मर्यादापालकले रोष्टमसम्म्म पुर्‍याए । मर्यादापालकको सहयोगमा रोष्टम पुगेका मन्त्री घिमिरेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले यो विधेयक दुई तिहाईको आड्मा सरकारले सदनबाट पास गराएर समग्र प्राज्ञिक क्षेत्रलाई कलंकित बनाएको बताए । ‘यो विधेयक अनुसार चल्ने विश्वविद्यालयले समग्र प्राज्ञिक क्षेत्र अमर्यादित हुने छन्,’ उनले भने, ‘हामीले अहिले सदनमा गरेको संघर्षको अनुभूति प्राज्ञिक वर्ग र विद्यार्थीले विश्वविद्यालय सञ्चालन भएपछि गर्ने छन् ।’


प्रदेश १ सरकारले यो विधेयक संघीय सरकारका रक्षामन्त्री तथा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलको आदेशमा पारित गराएको कार्कीले सुनाए । यो सरकार आफ्ना पार्टीका नेता र संघीय सरकारको वारिस भएर काम गरेको भन्दै उनले खेद प्रकट गरे ।


विधेयक पारित भएसँगै बुढीगंगा गाउँपालिकामा सञ्चालित मनमोहन पोलिटेक्निक मनमोहन प्राविधिक विश्वविद्यालयमा परिणत भएको छ । सामाजिक विकास मन्त्रालयले विश्वविद्यालयका लागि विनियोजन गरेको १७ करोड बजेट समेत परिचालन गर्ने विधेयकले ढोका खोलिदिएको छ । मन्त्रालयले उक्त विश्वविद्यालयको आंगिक शिक्षालय निर्माणका लागि समेत बजेट विनियोजन गरेको हो ।


उक्त विश्वविद्यालय साझेदारीमा सञ्चालन हुने विधेयकमा उल्लेख छ । मनमोहन प्राविधिक विश्वविद्यालय मनमोहन पोलिटेक्निक सञ्चालक समितिको कब्जामा रहने विधेयकमा व्यवस्था छ । मुलुकमा भएका विश्वविद्यालयहरुमा काही नभएको बोर्ड अफ गभर्नर्सको व्यवस्था उक्त विधेयकमा गरिएको छ । बोर्ड अफ गभर्नर्सले नै विश्वविद्यालयको हरेक क्षेत्र चलाउने विधेयकमा व्यवस्था रहेकोले प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गर्दै आएको छ ।


संघीय समाजवादी फोरका सांसदहरु उक्त विधेयकको समर्थन र विरोध दुवै नगरी मौन बसेका थिए ।


महिला सांसदलाई मर्यादापालकले घचेटे

मन्त्री घिमिरेलाई रोष्टमसम्म पुर्‍याउने क्रममा मर्यादापालकहरुले धकेलेको, घचेटेर छेउ लगाउनुका साथै खुट्टाले चेपेकोप्रति कांग्रेसका महिला सांसदहरुले विरोध जनाएका थिए ।


उनीहरुले ३३ प्रतिशत महिला सांसदहरु सदनमा भएको अवस्थामा पुरुष मर्यादापालकहरुले धकेल्ने, घचेट्ने र चेप्ने कार्य गरेकोप्रति विरोध जनाए । उनीहरुको विरोधपछि सदनमा महिला मर्यादापालकहरु तत्काल आएका थिए । कांग्रेसका सांसदहरुले मन्त्री घिमिरेलाई रोष्टमसम्म्म पुग्न नदिने योजनाका साथ बेल घेराउ गरेका थिए तर मर्यादापालहरुले उनीहरुको योजना विफल बनाए ।


यो पनि पढ्नुहोस्:

विरोधबीच विधेयक सदनमा

प्रकाशित : आश्विन ६, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?