कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्थापना भएन मुटुरोग परिक्षण तथा उपचारका लागि क्याथल्याब

जितेन्द्र साह

(विराटनगर) — वरिष्ठ मुटुरोग विशेषज्ञ ४६ वर्षीय डा. सर्वेशकुमार झाले चीनको जंगजोउ विश्वविद्यालयसँग आबद्ध अस्पतालमा विद्यावारिधि गरे । शोधका क्रममा जापान र कोरिया पुगे । दुई वर्षअघि नेपाल आए । 

स्थापना भएन मुटुरोग परिक्षण तथा उपचारका लागि क्याथल्याब

स्वदेश वा विदेशमा बस्ने दोधारमा रहेका बेला विराटनगरस्थित कोसी अञ्चल अस्पतालको मेडिकल टिमले उनीसँग मुटुरोगको विशेषज्ञ उपचार सेवा सुरु गर्न आग्रह गरे । दुई वर्षभित्र मुटुरोगको परीक्षणमा प्रयोग हुने आधुनिक उपकरण जडान र सघन उपचार कक्षसहितको क्याथ ल्याबको स्थापना गरिने लक्ष्यसहित डा. झालाई भित्र्याइयो ।


यो स्थापना नहुन्जेलसम्म उनले अस्पताल विकास समितिसँग भएको सम्झौता अनुरूप आइतबार, सोमबार र बिहीबार बहिरङ्ग विभाग (ओपीडी) मा मुटुका बिरामीको परीक्षण गर्न सुरु गरे । त्यसअघि मुटुरोगसम्बन्धी तालिम लिएका चिकित्सकले मात्र उपचार सेवा दिँदै आएका थिए ।


अन्यत्र काम नगर्ने झाले बिरामीलाई नियमित सेवा दिनुका साथै उक्त ल्याब स्थापना अभियानमा लागिरहे । अस्पताल भ्रमणमा आउने मन्त्री, सांसद र नेतालाई यो स्थापना भएमा गरिबले सहज उपचार पाउने हुनाले संसद एवं सरकारमा आवाज उठाउन आग्रह गरे । ‘आश्वासन सबैबाट पाइयो तर कार्यान्वयन कतैबाट भएन,’ झाले भने ।


आठ महिनाअघि स्वास्थ्य मन्त्री उपेन्द्र यादव आएका बेला योजनाबारे जानकारी गराए । रकम निकासा गरिने स्वास्थ्य मन्त्रीकै सल्लाह एवं आश्वासनअनुरुप अस्पतालले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्यो । ल्याबका लागि मेडिकल भवनको भुइँ तल्लामा ठाउँ छुट्टयायो ।


तर डा. झाले अस्पतालमा सेवा गर्न थालेको दुई वर्ष भइसके पनि उनलाई जुन योजनाका लागि ल्याइएको थियो, त्यो पूरा भएन । ‘क्याथ ल्याब नभएपछि म जस्तो विशेषज्ञ यहाँ बस्नुको औचित्य छैन,’ उनले भने, ‘दिनरात यो अस्पतालमा मात्र सेवा गरुँ भन्ने उद्देश्य हो तर क्याथ ल्याब नबनेकाले निजी अस्पतालमा गएर काम गर्ने वा विदेशतिर लाग्ने स्थिति आएको छ ।’ यस्तो ल्याबमा मुटुको आधारभूतदेखि जटिल प्रकृतिको जाँच र उपचार हुन्छ । प्रयोगशालामा चाहिने मुख्य यन्त्र ‘हाइ इन्ड क्याथ ल्याब मेसिन’ खरिद तथा जडानका लागि अनुमानित १२ करोड ४३ लाख रुपैयाँ बजेट माग गर्दै अस्पतालले ९ वैशाखमा स्वास्थ्य मन्त्रालयमा पत्र दर्ता गराएको थियो ।


उक्त अस्पालका पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोशन पोखरेलले क्याथ ल्याब स्थापनका लागि हरसम्भव प्रयास गरेको बताए । उनी अहिले स्वास्थ्य सेवा विभागको कार्यकारी महानिर्देशक छन् । ‘कहाँ अड्किएको हो भन्ने बुझेर पहल गर्छु,’ पोखरेलले भने । डा. झालाई क्याथ ल्याब स्थापनाका लागि अस्पतालमा ल्याइएको हुनाले त्यो पूरा गरिने वर्तमान मेसु डा.गुणराज लोहनीले बताए ।


उक्त अस्पतालमा औषत ४० उच्च रक्तचापबाट पीडितलगायत विभिन्न खाले मुटुका बिरामी आउने गरेको उनले बताए । झाले तीमध्ये २० जना मुटुकै समस्याबाट पीडित हुने गरेको खुलाए । अस्पतालमा दैनिक एक हजार बिरामी आउँछन् । तीमध्ये सरदर ८० बिरामी निम्न मध्यमवर्गीय, विपन्न वर्ग, अनाथ, अशक्त र असहाय हुन्छन् ।

प्रकाशित : आश्विन ६, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?