कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बाँझेचानडाँडा–दिक्तेल सडक : गुणस्तरीय बनाउन निर्देशन

डम्बरसिं राई

(खोटाङ) — मध्यपहाडी लोकमार्गअन्तर्गत बाँझेच्यानडाँडा–दिक्तेल सडक नसकिँदै भत्कन थालेपछि गुणस्तर बनाउन निर्देशन दिइएको छ । कालोपत्रको काम नसकिँदै टेवा पर्खाल, पुलको जिप र छेउ भत्कन थालेपछि प्रमुख जिल्ला अधिकारीले आयोजना गरेको छलफलमा यस्तो निर्देशन दिइएको हो ।

सडक गुणस्तरहीन बनेको चौतर्फी गुनासोपछि प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले सम्बन्धित निर्माण कम्पनी, सडक विभाग, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय सरोकारवाला लगायतको छलफल आयोजना गरेका हुन् । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्यहरू रामकुमार राई, उषाकला राई, प्रजिअ उपाध्याय लगायतले गुणस्तरीय र समयमै काम सक्न निर्देशन दिए । बेलामा काम नसकिए ठेक्का रद्द गरी सम्बन्धित निर्माण कम्पनीलाई कालो सूचीमा राख्न पहल गर्ने सहभागीले बताएका छन् ।


मध्यपहाडी डिभिजन प्रमुख विजय चापागाईँले गुणस्तरमा कमी नहुने प्रतिबद्धता व्यक्त गरे । कतिपय ठाउँमा पहिरोका कारण टेवा पर्खाल ढलेको तर सकिने बेलासम्म गुणस्तरीय हुने उनले बताए । ‘अहिले नै गुणस्तरहीन भनिहाल्न मिल्दैन,’ चापागाईँले भने, ‘कतिपय ठाउँमा पहिरोका कारण सडक भत्किएको हो ।’


च्यानडाँडादेखि दिक्तेलसम्मको सडक चारवटा प्याकेजमा निर्माण भइरहेको हो । यसमध्ये एक नम्बर च्यानडाँडा–पेलुङसम्मको (१० किमि) ४० प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (८ किमि) ४५ प्रतिशत, तीन नम्बर प्याकेज दारुला–कालिखोला (९ किमि) ४० प्रतिशत मात्र काम भएको छ । चार नम्बर प्याकेज अन्तरगत कालिखोला–दिक्तेल (९ किमि) सडक भने ९८ प्रतिशत काम सकिएको डिभिजन प्रमुख चापागाईँले जनाए ।


सकिएको सडक पनि भत्किन थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको छाकालुङ खोलामा निर्माण गरिएको पुल भत्किनुका साथै त्यसको आसपासको सडकको छेउ भत्किएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको माम्खामा टेवापर्खाल भत्किएको छ । यसबाहेक अन्य दर्जनौं ठाउँमा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवापर्खाल भत्किएको छ ।


कतिपय ठाउँको कल्भर्डको जग नै भत्किएको छ । कतिपय ठाउँमा फिलिङमाटोमाथि नै पिच गरिएकाले चर्किएको छ । भत्किएको कल्भर्ड, चर्किएको पिच लगायतलाई टालटुल पारेर आँखा छल्न खोजिएको भन्दै यसप्रति ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।


गुणस्तरहीन काम भएकाले सडक नसकिँदै भत्किएको जनप्रतिनिधिको गुनासो छ । ‘सडक नसकिँदै भत्किन थालेको छ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा ६ अध्यक्ष माधव राईले भने ‘गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्छ ।’ सडकको गुणस्तरबारे पटक–पटक ध्यानाकर्षण गराइएको र यसबारे बेवास्ता गरिए कारबाहीका लागि प्रक्रिया बढाइने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।


यो सडकको ठेक्का सिद्धिसाइ र रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । उक्त कम्पनीसँग सम्झौता गर्दा उल्लेख गरिएको समय सीमा नाघिसकेको छ । सबै प्याकेजको निर्माण अवधि सकिए पनि आगामी असारसम्ममा सक्ने गरी काम बढाइएको निर्माण कम्पनी सम्बद्ध साङ्गे शेर्पाले बताए । उनका अनुसार हरेक प्याकेजको काम दुई वर्षमा सक्ने गरी सम्झौता भएको थियो ।


यसअन्तरगत एक नम्बर प्याकेजको ठेक्का सिद्धिसाइ र अन्य तीनवटा प्याकेजको रमण गोल्डेल जेवीले लिएको हो । यसमध्ये एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ वैशाख २ गते, तीन नम्बर प्याकेज २०७२ असार १६ गते र चार नम्बर प्याकेजको २०७२ चैत १६ गते दुई वर्षभित्र सक्ने संझौता गरिएको थियो ।


प्रकाशित : आश्विन ६, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?