कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पशु स्वास्थ्यमा औषधि अभाव

(तेह्रथुम) — तेह्रथुम, धनकुटा र संखुवासभाका किसानले सेवा लिने वसन्तपुरमा रहेको पशु सेवा केन्द्रमा औषधि नहुँदा पशुपालक किसान समस्यामा परेका छन् । केन्द्रमा जुम्राको औषधि समेत छैन । हाल लालीगुराँस नगरपालिका अन्तर्गत रहेको पशु सेवा शाखामा गत साउनयता पशु वस्तुका लागि कुनै पनि प्रकारको सामान्य औषधि छैन ।

नगरपालिकाले शाखामा भएका प्राविधिक कर्मचारीलाई उपेक्षा गरी कुनै कार्यक्रम नै नदिएको कर्मचारीको गुनासो छ । केन्द्रबाट प्राप्त बजेट समेत नगरपालिकाले स्वीकृत नगरिदिँदा गत दुई महिनादेखि केन्द्रमा कुनै पनि औषधि किन्न नपाएको पशु स्वास्थ्य प्राविधिक देवनारायण श्रेष्ठले बताए ।


नगरपालिकाले कार्यक्रम सहितको बजेट समयमा स्वीकृत नगरिदिँदा पशुवस्तुमा लाग्ने आन्तरिक तथा बाह्य परजीवी नियन्यत्रणका कुनै पनि औषधि खरिद गर्न नपाएको केन्द्रका कर्मचारीको भनाइ छ । संघीयता कार्यान्वयनमा आउनुअघि किसानलाई नि:शुल्क वितरण गरिँदै आएका जुम्रा, उपियाँ, नाम्ले, जुका लगायतका कुनै पनि औषधि गत साउनयता शाखामा छैन ।


शाखाले किसानलाई नि:शुल्क वितरण गर्दै आएको घाउ खटिरा, चोट पटक लाग्दा सिलाउने धागो, लट्ठ्याउने सुई, दुखाइ कम गर्ने औषधि, ज्वरो, निमोनिया, झाडापखालाको औषधि छैन । गाई, भैंसी तथा भेडा बाख्रा ब्याउन नसकेमा लगाईदिने सुई समेत शाखामा नहुँदा किसानले स्थानीय सरकार माताहत रहेको पशु सेवा शाखाबाट कुनै पनि सेवा सुविधा पाउन नसकेका हुन् ।


केन्द्रमा रहेका दुई जना कर्मचारीले पशुबस्तुको उपचार गर्दा नभइनहुने सामान्य मेसिनरी औजार तथा उपकरण समेत नभएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले बताए ।

प्रकाशित : आश्विन ५, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?