राजनीतिसँगै व्यवसायमा युवा नेता
(खोटाङ) — तरुण दल खोटाङका अध्यक्ष भीषण राई बिहानदेखि दिनभर मजदुरसँगै हुन्छन् । आफूले लिएको ठेक्का (भवन निर्माणको काम) सक्न यतिखेर चटारोमा छन् । यसबाहेक फेन्सी पसल र जिम खानामा राईको वैकल्पिक पेसा गर्छन् ।
युवासंघ खोटाङका अध्यक्ष दिनेश राई भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा १४ बुइपाका वडा अध्यक्ष हुन् । उनी आफ्नो वडामा भएका विकास निर्माणलाई अनुगमन तथा नगरपालिकाको अन्य गतिविधिमै व्यस्त हुन्छन् । उनी पन्चदोबाटोनेर निर्माणाधीन एलम्बर पार्क निर्माणमा तल्लीन छन् यतिखेर । कामदारलाई अराउपराउमै दिन बित्ने गरेको राई सुनाउँछन् ।
यस्तै वाइसीएल खोटाङका अध्यक्ष मिलन राईले चाहिँ बिहान झिसमिसेमै यात्रुलाई आफ्नो गाडीमा राखेर सहर पठाउँछन् । गाडी मालिक भएकाले ‘रिमरिममै यात्रु व्यवस्थापन नगरे आफ्नो पालो परेको दिन रित्तै पठाउनु पर्ने हुन्छ,’ राई भन्छन्, ‘दु:ख नगरी नहुने रहेछ ।’ यसका साथै राईले कम्प्युटर इन्स्टिच्युट र स्टेसनरी पसल पनि सञ्चालन गरेका छन् ।
तरुण दल खोटाङका अध्यक्ष राईका अनुसार ठेक्का, फेन्सी र जिमखानाले राजनीति गर्न सहज भएको बताए । ‘पैसा बिनाको राजनीति मुस्किल छ,’ राईले भने, ‘झन् पछिल्लो राजनीतिक गतिविधि खर्चालु भएको छ ।’
युवा संघ खोटाङका अध्यक्ष राईलाई भने पुख्यौंली सम्पत्ति नै राजनीतिका लागि काफी छ । उनी पूर्णकालीन राजनीतिमा होमिएका बेला सबै खर्च घरबाटै व्यवस्थापन गर्छन् । वाइसीयल अध्यक्ष राई भने गाडी, कम्प्युटर इन्स्टिच्युट र स्टेसनरीबाट राजनीतिका लागि पकेट खर्च जोहो गर्छन् । ‘अहिलेको जमाना गोजीमा पैसाबिना केही नहुने भएको छ,’ राईले भने, ‘पैसाको जोहो नगरी अबको राजनीति सम्भव छैन ।’ यद्यपि ठूलो संख्यामा युवा बेरोजगार छन् । खोटाङको कुल जनसंख्या करिब (दुई लाख पाँच हजार) को ४० प्रतिशत (८० हजार) युवामध्ये आधासरो रोजगारमा संलग्न रहेको आँकलन गरिएको छ । यसमध्ये विभिन्न सरकारी तथा गैरसकारी निकाय, वैदेशिक रोजगार, ठेक्का–पट्टा, कृषि तथा स्वरोजगार लगायतमा संलग्न छन् ।
यसमध्ये स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि बनेकाहरू पनि पर्छन् । उनीहरूले पनि भत्ता उपभोग गरेकाले अल्प रूपमा रोजगार भन्नु पर्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । बाँकी आधासरो युवा भने काम विहीन छन् । उनीहरू प्राय: कुनै न कुनै राजनीतिक दलसँग सम्बद्ध छन् ।
यद्यपि विकासे योजनामा भने तिनै युवा संलग्न छन् । उपभोक्ता समितिमा कब्जा जमाएर बस्ने तिनै युवा हुन् । निर्वाचनताका नेतालाई जिताएर त्यसवापत उपभोक्ता समितिमा कब्जा जमाएका हुन् । काम नगरे पनि उनीहरूलाई नै जिम्मा दिनुपरेको एक गाउँपालिका अध्यक्षले बताए ।
जिल्लाका युवापंक्तिको जीवनशैली करिब २५–३० हजारको हाराहारिमा रहेको वाइसीयल अध्यक्ष राईको भनाइ छ । ‘हरेक युवाले मासिक २५–३० हजार रुपैयाँ खर्च गर्छन्,’ राईले भने, ‘त्यसका लागि मुख्य स्रोत भनेको उपभोक्ता समितिमा बसेर फाइदा गर्ने हो ।’
नेपाल चेम्बरअफ कमर्स खोटाङका अध्यक्ष खुसनारायण सैंजूका अनुसार धेरैजसो युवा आयातित र ब्रान्डेट चिज प्रयोग गर्छन् । खानपानमा पनि स्थानीयलाई भन्दा आयातित नै मन पराउने भएकाले अर्थतन्त्र धरापमा परेको सैंजूको भनाइ छ ।
स्थानीय सरकारले पनि उत्पादनप्रति चासो नदिएकाले यस्तो अवस्था आएको हो । ठूलो संख्यामा युवा बेरोजगार रहनु र उनीहरूलाई उत्पादनशील तथा आत्मनिर्भर नबनाइएसम्म अर्थतन्त्रको अवस्था नसुध्रिने सैंजूले बताए । यसबाहेक जिल्लामा सञ्चालित बैंकहरूले समेत युवालक्षित कार्यक्रममा लगानी नगरेको सैंजूको तर्क छ । कृषि, उद्योग, रोजगारमुखी व्यवसाय लगायतमा लगानी गर्न जनप्रतिनिधिले योजना बनाउनु पर्ने सैंजूको भनाइ छ । उनका अनुसार दैनिक दुई–अढाई करोड रेमिट्यान्स् जिल्ला भित्रिए पनि उत्पादनशील काममा खर्च नहुने भएकाले त्यसका लागि पनि स्थानीय सरकारले ध्यान दिनुपर्छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले भने उत्पादनमुलक काममा लगानी, ठूला उद्योग स्थापना, होटल, कृषि, पूर्वाधार लगायतमा युवा परिचालन गरेर रोजगार दिलाउनु पर्ने धारणा राखे ।