२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पर्यटकीय क्षेत्रमा पूर्वाधार अधुरै

कुम्भराज राई

काठमाडौँ — स्कुल पढ्दै ‘मेरो प्यारो ओखलढुंगा’ कविता पढेका काठमाडौंका जेनिस श्रेष्ठ त्यसैको अवलोकन गर्न यहाँ आइपुगे । उनले कवितामा कल्पना गरे जस्तो मन भुलाई हाल्ने ठाउँ भने सदरमुकाम आसपासमा खासै भेटेनन् । ‘प्राकृतिक रूपले कवितामा जत्तिकै सुन्दर लाग्यो ।’ जेनिसले भने, ‘तर आकर्षक पूर्वाधार बनाएर हामी जस्तो बाहिरबाट घुम्न आउनेलाई अडिन मन लाग्ने ठाउँ बनाएको पाइन ।

पर्यटकीय क्षेत्रमा पूर्वाधार अधुरै

जेनिस मात्रै होइनन् । अधिकांशले कविता पढेर परिकल्पना गरे जस्तो ओखलढुंगा नपाउँदा खिन्न हुन्छन् । पर्यटन वर्ष २०२० भित्रिनै लाग्दा समेत जिल्लाका कुनै स्थानीय तहले पर्यटक भित्र्याउने किसिमको गतिलो योजना बनाएका छैनन् । पूर्वाधारका नाममा बाटो खन्ने र महोत्सव गर्नेभन्दा अन्य योजनाले प्राथमिकता पाएका छैनन् ।


पार्कहरू अलपत्र

डेढ दशकअघि निर्माण सुरु भएको सदरमुकामसँगै रहेको थामडाँडास्थित सहिद पार्क पूर्ण नहुँदै थोत्रो भइसक्यो । ढुंगा माटोका केही सिंढी र एउटा टहराभन्दा अरू कुनै पूर्वाधार निर्माण भएनन् । सहिदहरूको नाम बेचेर करोडौं लगानी त्यत्तिकै सकियो । दशकभन्दा बढी बित्यो, थामडाँडाको सहिद पार्कबारे कसैलाई चासो छैन ।


सिद्धिचरण नगरपालिका १२ मा रहेको वीरेन्द्र पार्क राजा वीरेन्द्रको पालामा निर्माण भएको हो । तर, त्यतिखेर पनि एउटा स्मारक बनाउने कामभन्दा अरू भएन । हालै मात्र सांसद यज्ञराज सुनुवारले सांसद विकास कोषबाट पटक–पटक गरी ५० लाखभन्दा बढी खर्च गरेर वीरेन्द्र पार्क रहेकै स्थान नजिकै स्रष्टा पार्क निर्माण गरेका छन् ।


स्रष्टा पार्कमा जिल्लामै जन्मिएका साहित्य र कलाका स्रष्टाहरू प्रथम गायिका मेलवादेवी, युगकवि सिद्धिचरण श्रेष्ठ, स्व. गायक पाण्डव सुनुवार र राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको अर्धकदको सालिक निर्माण भएको छ । ‘स्रष्टा पार्कको निर्माणले पूर्णता पाएको छैन,’ सांसद सुनुवारले भने, ‘यसलाई पूर्ण बनाएर नमुना बनाउने मेरो लक्ष्य छ । यही नै अन्तिम होइन ।’


स्रष्टा पार्क र सिद्धिचरण पार्कको गत जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । स्रष्टा पार्क निर्माणले पूर्णता नपाउँदा कतिपय पूर्वाधारमा क्षति पुग्न थालिसकेको छ । ‘व्यवस्थित गर्ने हो भने आन्तरिक तथा स्थानीय पर्यटक नै दिनमा एक डेढ सयको संख्यामा स्रष्टापार्क आसपास घुम्न आउँछन् ।’ स्थानीय निर्मल श्रेष्ठले भने, ‘धेरै खर्च भइसक्यो भन्छन् तर आवश्यक पूर्वाधार अझै बनेको देखिन्न ।’


युगकवि सिद्धिचरणको जन्मस्थलमा रहेको सिद्धिचरण पार्क बल्लतल्ल हेर्न लायक हुने क्रममा छ । तर, सानो क्षेत्रफलमा सीमित भएकाले एउटा पूर्णकदको सालिकबाहेक अन्य संरचना विस्तार गर्ने ठाउँ छैन । सिद्धिचरण पार्कमा समेत सिद्धिचरण प्रतिष्ठान, नगरपालिका र अन्य सरकारी शीर्षकमा करोडभन्दा बढी लगानी भइसकेको छ । विगत चारवर्ष यता सिद्धिचरण नगरपालिकाकै ११ नं. वडामा नगरपार्क निर्माण सुरु भएको छ । बहुवर्षीय योजनामा गरी यस वर्षसहित ८५ लाखभन्दा बढी नगरपार्कको संरचना निर्माणमा खर्च भइसकेको छ । १३ रोपनी क्षेत्रफलको पार्क सम्पन्न हुँदा ७ करोडभन्दा बढी खर्च हुने लक्ष्य राखिएको छ । तर, यो पार्कले पनि पूर्णता पाउने हो या होइन भनेर ठोकुवा दिन नसकिने स्थानीयको भनाइ छ ।

‘हाम्रा अधिकांश संरचना निर्माणमा कमिसन बिना काम हुँदैनन् । चाहे ठेक्कामा होस् या उपभोक्ता समितिले काम गर्दा होस् ।’ नगर पार्क निर्माणमा सहभागी एक उपभोक्ताले भने, ‘करोडको योजना भनेर के गर्नु सामान्य प्राविधिकदेखि मन्त्रालयसम्म १० देखि १५ प्रतिशतसम्म कमिसन नबुझाई योजना नै फरफाराक हुँदैन ।’


गतवर्ष निर्माण गरेको लगलगे भ्यू टावरलाई पनि मर्मत र थप पूर्वाधार निर्माण गरेर पर्यटक आकर्षित गर्ने योजना नगरपालिकाले बनाएको छैन । सडकदेखि भ्यू टावरसम्म जाने सिंढी र अन्य पूर्वाधार बनाउन सके पर्यटक ल्याउन सकिने लगलगे बासी बताउँछन् ।


प्रकाशित : आश्विन ५, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?