२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

धामीझाँक्री र जडीबुटीको तथ्यांक खोजिँदै

विराटनगर — प्रदेश १ सरकारले १४ वटै जिल्लाका गाउँघरमा परम्परागत विधिबाट उपचार गर्ने धामीझाँक्रीको अवस्था र उनीहरूले प्रयोग गरिरहेका जडीबुटीको तथ्यांक संकलन गरेको छ । गत वर्षको बजेटबाट झन्डै २० लाख रुपैयाँ बजेट खर्चेर अध्ययन गरिएको हो । प्रदेशभित्रका जिल्लामा जडीबुटीको उपलब्धता, आयुर्वेद चिकित्साको अवस्था र जनजातिले प्रयोग गर्ने वनस्पतिका अवस्थाको तथ्यांक पनि सरकारले संकलन गरेको छ ।

‘धामीझाँक्रीको अवस्था बुझ्न र उनीहरूले औषधिका रूपमा प्रयोग गर्ने जडीबुटीको पहिचान, संरक्षण र व्यावसायिक खेतीका लागि यो अध्ययन हो,’ प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने, ‘कुनै बेला हरेक घरका बाबाआमाले जडीबुटीका पोका राख्थे । उस्तै पर्दा बिरामीलाई खुवाएर रोग निको पार्थे । गाउँका डाक्टर भनेकै धामीझाँक्री, जडीबुटी नै खुवाएर रोग बिसेक बनाउँथे ।’ अझै पनि गाउँघरमा त्यो चलन रहेकाले अवस्थासँगै जडीबुटीको संरक्षणका लागि काम गर्ने योजनामा प्रदेश सरकार रहेको उनले बताए ।


अध्ययनमा प्रदेश १ मा परम्परागत चिकित्सा सेवा प्रदान गर्दै आएका लामा, आम्ची, फेदाङ्वा, वैद्य, धन्वन्तरी, धामी र माझीहडम लगायतको संख्या हजार जनाभन्दा बढी पाइएको छ । अझै पनि प्रदेशको उल्लेख्य जनसंख्या परम्परागत चिकित्सा विधिमा निर्भर हुँदै आएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । परम्परागत तरिकाले उपचार गर्दै आएकाहरूले औषधिका रूपमा भिन्डी, लालगेडी, खयर, बबुल, अरारी, दतिवन, परेझार, सेतो बिखमा, बिखमा, बोझो, बेल, चिउरी, इलामे झार, पड्के शिरीष, वन लसुन, घिउकुमारी, बोके टिमुरलगायत प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित : आश्विन ५, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?