कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलटारमा घट्यो चहलपहल

सोलु, ओखलढुंगा, खोटाङ र भोजपुरलाई मध्यपहाडी लोकमार्गले जोडेपछि बजार ग्रामीण क्षेत्रमा बिस्तार भए 
डिल्लीराम खतिवडा

(उदयपुर) — सशस्त्र द्वन्द्वका बेला समेत व्यावसायिक चर्चा कमाएको बेलटार बजार अचेल सुस्ताएको छ । सडक विस्तारसँगै ग्रामीण क्षेत्रमा बजार विकास हुँदै जाँदा चौदण्डीगढी नगरपालिकको केन्द्र बेलटारमा चहलपहल घट्न थालेको हो ।
माथिल्लो सगरमाथाका सोलु, ओखलढुगा, खोटाङ र भोजपुरको व्यापारिक केन्द्र बेलटार विकास क्रमसँगै ती जिल्लालाई मध्यपहाडी राजर्मागले जोडेपछि पछाडि परेको हो ।

बेलटारमा घट्यो चहलपहल

माथिल्लो क्षेत्रलाई सडक सञ्जालले जोडे पनि यस बजारलाई सहरसँग जोड्ने बेलटार–साउने–फोक्सिङटार, धरान–चतरा–बेलटार–गाईघाट र बेलटार–फत्तेपुर–कञ्चनपुर हुँदै मुलुकका विभिन्न भागलाई जोड्ने सडक भरपर्दो नहुँदा बजार ओझेलमा परेको हो ।


व्यापार नचलेकै कारण व्यापारी पलायन हुने अवस्था सृजना भएको छ । बेलटार बजार जोड्ने मदन भण्डारी राजर्माग अन्तर्गत लामाखोला र त्रियुगा नदीमा पुल निर्माण नहुँदा समान्य वर्षातमा समेत बजार टाप्पुमा परिणत हुने गरेको छ । त्यसैगरी माथिल्लो क्षेत्रलाई जोड्ने सडक मुख्य गरेर बेलटार–साउने–फोक्सिङटार करिब ४० किमि, बेलटार–वसिलाघाट–खोटाङ चिसापानी र बेलटार–बसाह–रानीटार हुँदै भोजपुर जोड्ने सडक र ती सडक अन्तर्गत सुनकोसी नदीमा बन्ने पुल समयमा बन्न नसक्दा बजार ओझेलमा परेको बेलटार उद्योग वाणिज्य संघका महासचिव राजकुमार देवले बताए ।


‘बेलटारलाई भोजपुर र खोटाङसँग जोड्ने सडक २०६३ साल मै ट्रायक खुलेका हुन्,’ उनले भने, ‘सडक सञ्चालन नहुँदा सोलु, ओखलढुंगा, खोटाङ र भोजपुरबाट बेलटार आउने सर्वसाधरण व्यापारी कटारी, गाईघाट र धरान जान्छन् ।’ गाईघाट र कटारी पुग्न सजिलो भएकाले त्यसतर्फ जाने गरेका हुन्, ती बजार पुग्न बस चल्छन् । तर गाईघाट र कटारीको तुलनामा बेलटार बजार धेरै सस्तो बजार भए पनि यातायात सञ्चालन दिगो नभएकाले सर्वसाधरण नआएको उनले बताए ।


गाईघाट र कटारीको तुलनामा बेलटार बजारमा १५ देखि ४५ प्रतिशतसम्म सस्तोमा दैनिक उपभोग्य वस्तु पाइन्छ । कपडा, कस्मेटिक, फलामा र तामा, पितल र स्टिलका भाडा कुँडा पनि सस्तो रहको व्यापारीले बताए । धरानबाट, विराटनगर, राजविराजका अधिकृत बिक्रेताले थोरै नाफा लिएर सोझै बेलटारमा बिक्री गर्ने वाणिज्य संघका पूर्व अध्यक्ष दिनेश खतिवडाले बताए ।


‘त्यस्तै धेरै किसिमका वस्तुको आधिकारिक बिक्रेता बेलटारमै रहेकाले पनि कटारी र गाईघाटभन्दा बेलटार सस्तो छ,’ उनले भने, ‘तर पनि सडक सञ्जालले छोए पनि सञ्चालन नहुँदा माथिल्लो क्षेत्रका व्यापारी महँगो भए पनि कटारी र गाईघाट नै जान्छन् ।’ तर ओखलढुगा र खोटाङका लागि नजिक हुने बेलटार–साउने–फोक्सिङटार सडक सञ्चालन नहुँदा समस्या भएको उनले बताए ।


करिब १ करोड रुपैयाँको लागतमा बेलटार–साउने–फोक्सिङटार सडकको ट्रायक खुलेको बेलटार उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्कीले बताए । उनका अनुसार व्यापारीसँग चन्दा उठाएर पटक–पटक सडक मर्मत गरियो । तर, ट्रायक खुलेको सडक मर्मत गरेर स्तरीय बनाउँदा पनि यातायात व्यावासायीले सेवा दिन नसक्दा अहिले सडक नै जीर्ण भएको उनले बताए ।


‘बेलटार जोड्ने र बेलटारबाट माथिल्लो क्षेत्रमा सडक सवारी साधन गुड्न योग्य छैनन्,’ वाणिज्य संघका अध्यक्ष कार्कीले भने, ‘त्यसैले बेलटार बजारमा ओझेलमा परेको हो ।’ बेलटार–साउने–फोक्सिङटार सडकमा यातायात सञ्चालन गर्ने हो भने खोटाङको दक्षिण भेगका सर्वसाधरणलाई धरान, विराटनगर र पूर्वका अन्य सहर पुग्न ४० किमि दूरी कम हुने उनले बताए ।


त्यसैगरी मदन भण्डारी राजमार्गअन्तर्गत लामाखोला र सिवाइमा झन्डै १२ वर्षयता निर्माधीन पुल अहिलेसम्म अलपत्र छ ।


त्यसैगरी सडक व्यवस्थित नहुँदा यातायात सञ्चालनमा कठिनाइ भएकाले बेलटारलाई असर गरेको छ ।


प्रकाशित : आश्विन ३, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?