२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

वैज्ञानिक वन व्यवस्थापनले सुके पानीका स्रोत

विनोद भण्डारी

(विराटनगर) — मोरङको चारकोसे जंगल क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनका नाममा प्राकृतिक वन नष्ट भएसँगै पानीका स्रोत सुकेको भन्दै वन उपभोक्ता समिति विरोधमा उत्रिएको छ ।

वैज्ञानिक वन व्यवस्थापन गर्दा प्रतिहेक्टरमा बढीमा १५ देखि २५ वटा माउ रूख राखेर अरू सबै कटान गरेर नयाँ बिरुवा हुर्काइन्छ । त्यसरी सग्लो रूख कटान गर्दा प्राकृतिक वन नष्ट हुने र पानीको स्रोत समेत सुक्ने भन्दै बेलवारीको सीमसार क्षेत्रका आधा दर्जन सामुदायिक वन उपभोक्ता समिति विरोधमा उत्रिएका हुन् ।


मोरङका २५ सामुदायिक र चारवटा साझेदारी वन उपभोक्ता समतिले १२ हजार १ सय ९२ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेका छन् । ती प्रत्येक समितिले प्रति एक हेक्टरमा बढीमा १५ देखि २५ वटा माउ रूख राखेर नयाँ बिरुवा उमार्ने नाममा बाँकी सबै रूख काटेर जंगल उजाड बनाउँदै आएका छन् । यो कार्यक्रम चालु वर्ष विभिन्न १० वटा सामुदायिक वनले करिब २ हजार हेक्टरमा सुरु गर्ने तयारी गर्दा सिमसार क्षेत्र पनि परेपछि उपभोक्ता विरोधमा उत्रिएका हुन् ।


त्यसरी काटिएका वर्षौं पुराना रूख र दाउराको बिक्रीबाट हुने आम्दानीमध्ये सामुदायिक वनले १५ प्रतिशत र साझेदारी वनले ५० प्रतिशत राज्यलाई बुझाउँछन् । सरकारले यो कार्यक्रम २०६१ सालमा पर्साबाट सुरु गरेर मोरङको चारकोसे जंगलमा २०७० सालमा लागू गरेर रूख कटान सुरु गरेको हो ।


वैज्ञानिक वन व्यवस्थापनको विरोध गर्दै सिमसार क्षेत्रका देवी थान सामुदायिक वन, बेतना सिमसार, अमना सिसौली र नक्साल लगायतका सामुदायिक वन उपभोक्ता समितिले संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका हुन् ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा पानीको स्रोत मास्ने काम बन्द गरौं, प्राकृतिक वनको संरक्षण गरौं, पर्यावरण तथा वातावरण संरक्षण गरौं, जलस्रोत तथा कृषि क्षेत्रको संरक्षण गरौं, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम बन्द गरौं लगायत नारा लेखिएको ब्यानरसहित बेलबारीमा र्‍याली निकालेर विरोध जनाएका छन् । ‘सिमसार क्षेत्रको जंगलमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गर्न दिँदैनौं,’ संघर्ष समिति अध्यक्ष मानबहादुर गौतमले भने, ‘यो कार्यक्रमका नाममा भएको प्राकृतिक वन मासेर माफियालाई मोटाउन र पानीका स्रोत सुकाउन कुनै हालतमा दिदैनौं ।’


बेतना सिमसार चुरे पहाडसँंग नजोडिई वन क्षेत्र भित्रैबाट उम्रिएको सिमसार हो । यो सिमसारको पानीले अहिले १ हजार २ सय बिघा खेती योग्य जमिन सिँचाइ भइरहेको छ । यसका झन्डै २ हजार घरधुरी उपभोक्ता छन् । बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतका अनुसार सिमसारभित्र वैज्ञानिक वन व्यवस्थापनका नाममा रूख कटान गर्दा पानीको स्रोत सुक्ने अवस्था छ ।


डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले जंगलमा रहेका बुढा र उत्पादन नदिने रूख निकालेर क्रमिक रूपमा १० वर्षको फरक उमेरका ८० वर्षसम्मका रूख हुर्काउने कार्यक्रम भएकाले कार्यक्रम वनका कर्मचारीले नभई सरकारले रोकेमात्र रोकिने घिमिरेको भनाइ छ ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?