स्वास्थ्यकर्मी खोज्दै राजधानीतिर

आनन्द गौतम

(ताप्लेजुङ) — अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन नेतृत्वको टोली सोमबार प्रदेश १ को राजधानी विराटनगर पुग्यो । प्रदेश सांसद बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा, फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई, जिल्ला अस्पतालका डा. साजन ङाखुसीलगायत सम्मिलित टोलीले सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेलाई भेटेर ताप्लेजुङ जिल्ला अस्पतालबारे अवगत गरायो ।

स्वास्थ्यकर्मी खोज्दै राजधानीतिर

यही टोली संघीय मन्त्री उपेन्द्र यादवलाई भेट्न काठमाडौंतिर लागेको छ । जिल्ला अस्पतालमा कर्मचारीको दरबन्दी काटिएपछि र समायोजनमा परेका पनि नआएपछि उनीहरू स्वास्थ्यकर्मी खोज्दै मन्त्रालय पुगेका हुन् ।


पहिले ३२ जना रहेको जिल्ला अस्पतालमा अहिले २२ जनाको मात्रै दरबन्दी छ । समायोजनमा थप ७ जना काटिएपछि १२ जनाको भरमा अस्पताल चलेको छ । अस्पतालमा अहिले कार्यालय सहयोगी छैनन् । कार्यालय सहयोगीले स्थानीय तह रोजेपछि यहाँका १२ जना फुङलिङ नगरपालिका गइसकेका छन् । समायोजनमा परेका बाँकी पनि जाने तयारीमा छन् । सरकारले यहाँका ल्याब टेक्निसियन, डाकरुम एसिस्टेन्ट, अहेब, अनमि, एनेस्थेसिया, मेडिकल रेकर्डर र स्टाफ नर्सको दरबन्दी काटेको छ । लेखापाल पनि छैनन् । एनएसआई संस्थाबाट खटाइएका डाक्टरको सहयोगमा अस्पताल चलिरहेको छ ।


जिल्ला अस्पतालमा आठौं तहका मेडिकल अधिकृतको दुईवटा दरबन्दी छ । सात वर्षअघि नवौं तहका अधिकृत सूर्यबहादुर गुरुङ आएका थिए । दुई वर्षमा उनी दसौं तहमा बढुवा भई सरुवा गएपछि आठौं तहमाथिका डाक्टर फेरि आएका छैनन् । स्टोर सञ्चालक डम्बर श्रेष्ठ करारमा आएका चिकित्सकको सहयोगमा अस्पताल चलेको बताउँछन् । मन्त्री घिमिरेले टोलीलाई दसैंसम्म करारमा कर्मचारी नियुक्तिसम्बन्धी कार्यविधि पारित गर्ने र नियुक्तिको बाटो खुलाउने बताएका छन् । ‘अहिले कार्यविधिका कारण रोकिएको छ, हामी चाँडै कार्यविधि बनाएर कर्मचारी नियुक्तिको बाटो खोल्नेछौं,’ उनले भने । अहिले अस्पतालमा बिरामीलाई लाइनमा राख्ने, उनीहरूलाई बस्ने व्यवस्था मिलाउने काम प्रहरी हवल्दार सुरेन्द्र दाहालले गर्दै आएका छन् ।


प्रकाशित : आश्विन २, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?