२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आठ पहाडी जिल्लामा डेंगु

रमेशचन्द्र अधिकारी

(धनकुटा) — देशव्यापी रूपमा फैलिरहेको डेंगु संक्रमण पहाडी जिल्लामा पनि देखा परेको छ । सातायता प्रदेश १ का १४ मध्ये ८ पहाडी जिल्लामा यसका १ सय ६७ संक्रमित फेला परेका छन् ।

पहाडी र तराई क्षेत्रसमेत गरी प्रदेशभर ४ हजार २ सय ४७ जना डेंगु रोगी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । पहाड तथा भित्री मधेसका जिल्ला उदयपुरमा ७९ जना, पाँचथरमा ६०, तेह्रथुममा १३ जना रोगी फेला परेको निर्देशनालयले जनाएको छ ।


यसैगरी संखुवासभामा ५, धनकुटामा ४, भोजपुरमा ३, इलाममा २ र खोटाङमा १ व्यक्तिमा डेंगु रोग फेला परेको निर्देशनालयका निर्देशक चन्द्रदेव मेहेताले जनाए । पहाडमा पनि डेंगु संक्रमित फेला परेपछि चुनौती थपिएको उनको भनाइ छ । तर, तराईभन्दा पहाडमा अति सामान्य संख्यामा मात्र बिरामी फेला परेकाले न्यूनीकरण गर्न सहज हुने उनको तर्क छ । ‘नियन्त्रणका लागि सक्रिय छौं,’ उनले भने, ‘तर लगातारको वर्षा सबैभन्दा चुनौती छ ।’


सुरुमा सुनसरीको धरानमा देखा परेको संक्रमणले महामारीका रूप लिए पनि नियन्त्रणको प्रयास जारी राखिएको उनले दाबी गरे । कार्यालयका अनुसार सुनसरीमा हालसम्म ३ हजार ४ सय ५५ रोगी रहेका छन् । झापामा ४ सय ६०, मोरङ १ सय ५३ मा डेंगु संक्रमित छन् ।


जिल्ला अस्पताल पुगेका धनकुटा नगरपालिका ९ बेलहाराका दुई बिरामीको स्वास्थ्य परीक्षणका क्रममा डेंगुको लक्षण फेला परेको मेडिकल सुपरिटेन्डेन्ट अभिताभ ठाकुरले बताए । उनीहरूलाई प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।


यसैगरी धनकुटाका अन्य दुई जनामा पनि डेंगु रोगको लक्षण देखा परेको प्रतिष्ठान स्रोतले जनाएको छ । उपचारका लागि धरान पुगेका ती दुई जनामा डेंगु रोगको संक्रमण देखा परेको जनाइएको छ ।


डेंगु नियन्त्रणका लागि विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम अघि सारिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै, रोगबारे सर्वसाधारणलाई सचेतनामुलक गतिविधि थालिएको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले जानकारी दिए । गैर सरकारी संस्था, सामाजिक संघसंस्था मार्फत घरदैलो अभियान थालिने उनले बताए । यसैबीच, धनकुटा अस्पतालमा दैनिक औषत डेढ सयभन्दा बढी विभिन्न रोगका बिरामी उपचारका लागि जाने गरेको जनाइएको छ ।


धनकुटा लगायत छिमेकी जिल्ला संखुवासभा, भोजपुर, तेह्रथुम तथा पाँचथरका सीमावर्ती क्षेत्रका बिरामी समेत धनकुटामा जाने गरेका छन् । अधिकांशमा मौसमी ज्वरो लगायतका स्वास्थ्य समस्या रहेको चिकित्सकले जनाएका छन् ।


डेंगु रोगको नियन्त्रण प्रयास भइरहेको दाबी गरिए पनि प्रदेश एकको अख्तियारी पाएको स्वास्थ्य निर्देशनालयमा यति बेला स्वास्थ्यसम्बन्धी जनशक्ति छैनन् । स्वास्थ्य शिक्षासम्बन्धी जिम्मेवारी पाएका (७/८ तहको) स्वास्थ्य शिक्षा अधिकृत तहको दरबन्दी महिना दिनदेखि खाली छ । ९ तथा १० औं तहका वरिष्ट जनस्वास्थ्य अधिकृत, जनस्वास्थ्य अधिकृत सबै रिक्त छ । मेडिकल अधिकृत, नर्सिङ अधिकृत, आयुर्वेद विज्ञ, प्रशासनको उपसचिवका कुनै पनि दर्बन्दीका कर्मचारी महिनौंदेखि पदपूर्ति गरिएको छैन ।

प्रकाशित : आश्विन २, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?