२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

प्रदेश र स्थानीयमा कांग्रेसको जिम्मेवारी

तेह्रथुम — कांग्रेस जिल्ला कार्यसमितिले प्रदेश र स्थानीय तहमा पार्टीको नयाँ जिम्मेवारी तोकेको छ । कार्यकर्तालाई नयाँ विधानबमोजिम प्रदेश र स्थानीय तहमा जिम्मेवारी दिएर नेतृत्व प्रदान गरिएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ ।

केन्द्रीय कार्यालयको परिपत्रअनुसार जिल्ला कार्यसमितिको बैठकको निर्णयले जिल्लाका दुई प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा पार्टी नेतृत्व चयन गरी जिम्मेवारी प्रदान गरिएको पार्टी सचिव सन्तोष सुब्बाले जनाए । पार्टीले प्रदेश निर्वाचन क्षेत्र (क) क्षेत्रीय समितिको सभापतिमा विपिन सुब्बालाई चयन गरेको छ । सुब्बा नेपाल तरुण दलका जिल्ला सभापति समेत हुन् । यस्तै, उपसभापतिमा तत्कालीन छथर गाउँपालिका संयोजक भीम थापा र सहसचिवमा कुलबहादुर लिम्बूलाई चयन गरिएको कांग्रेसले जनाएको छ ।


कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (ख) क्षेत्रीय समितिमा राज्यप्रसाद लिम्बूलाई चयन गरेको छ । पार्टीको जिल्ला कार्यसमितिमा लामो समयदेखि कार्यरत लिम्बू पार्टीको जिल्ला अधिवेशनमा सभापति पदमा पराजित भएका थिए । पार्टीले दुई नगरपालिका र तीन गाउँपालिकामा पनि पार्टीको नेतृत्व चयन गरेको जनाएको छ । मेन्छ्यायेम गाउँपालिका बाहेक सबै स्थानीय तहमा नेतृत्व चयन गरेको सभापति गोविन्द ढुंगानाले बताए । लालीगुराँस नगरपालिका समितिको सभापतिमा अर्जुन माबोहाङलाई चयन गरेको कांग्रेसले जनाएको छ । माबोहाङ लालीगुराँस नगरपालिकाका मेयर समेत हुन् ।


म्याङलुङ नगरपालिका समिति सभापतिमा प्रेमकुमार तुम्बाहाम्फे र छथर गाउँपालिका समिति सभापतिमा रामचन्द्र भट्टराई चयन भएका छन् । फेदाप गाउँपालिका समिति सभापतिमा महेन्द्र फोम्बो र आठराई गाउँपालिका समिति सभापतिमा नारायणकुमार इङनामलाई चयन भएका छन् ।

प्रकाशित : आश्विन २, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?