समाधिस्थल भत्काएकामा विरोध

तेह्रथुम — लिम्बू समुदायको समाधिस्थल डोजर लगाएर नगरपालिकाले भत्काएपछि लालीगुराँस नगरपालिका ५ दाँगपाका स्थानीयले विरोध गरेका छन् । उक्त समाधिस्थल सल्लेरी सामुदायिक वनभित्र पर्छ । नगरपालिकाले समाधिस्थल भत्काएर खेल मैदान बनाएको भन्दै समुदायले विरोध गरेको हो ।

जानकारी नदिई अत्येष्टिस्थलमा डोजर प्रयोग गरिएको स्थानीयको आरोप छ । डोजर प्रयोग गरेर लिम्बू जातिको संस्कृतिमाथि नै हस्तक्षेप गरेको किराँत याक्थुङ चुल्लुङ जिल्ला शाखाका सचिव तेजमान कन्दङवाले बताए । समाधिस्थलमा रहेका लिम्बू जातिका ५ सयभन्दा बढी चिहान भत्काएको उनले बताए । सरोकारवालाले कारबाहीको माग गर्दै नगरपालिकाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका छन् । उजुरीपछि प्रशासनले नगरपालिका र अन्य सरोकारवाला सबैलाई छलफलका लागि प्रशासनमा बोलाएको प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताइन् ।


वडाध्यक्ष नगेन्द्र कार्कीले स्थानीयको मागका आधारमा नगरपालिकाले आफ्नै डोजर प्रयोग गरी खेल मैदान निर्माण गरेको बताए । ‘पहिले सबैसँग सल्लाह भएर खेल मैदान निर्माण गरिएको हो,’ वडा अध्यक्ष कार्कीले भने, ‘पछिबाट विरोधका आवाजहरू आउन थाले ।’ लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले खेल मैदान निर्माण गर्ने क्रममा चिहान उत्खनन् हुन गई सम्बन्धित समुदायको भावनामाथि गम्भीर चोट पुग्न भएको भन्दै क्षमायाचना गरेका छन् । माबोहाङले विज्ञप्ति जारी गरी स्थानीयबासीसँगको छलफलपछि नै खेल मैदान निर्माण गरिएको र निर्माणका क्रममा चिहान फेला परेको विज्ञप्तिमा दाबी गरेका छन् ।

प्रकाशित : आश्विन २, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?