कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चाडपर्व आएपछि बजार अनुगमन

पर्वत पोर्तेल

(काँकडभिट्टा) — झापाका स्थानीय तहमा हिजोआज बजार अनुगमनको चटारो छ । खासगरी पर्व नजिकिन थालेपछि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई भ्याइनभ्याइ हुने गरेको हो । 

स्थानीय तहहरूलाई सरकारले मासिक नियमित अनुगमनको जिम्मेवारी दिए पनि उनीहरू पर्वको मुखमा मात्रै सल्बलाउने गरेका छन् । धेरै स्थानीय तहले अनुगमनका नाममा लाखौं बजेट खर्च गर्दै छन् । भद्रपुर नगरपालिकाले बुधबार अनुगमन सुरु गरेको छ । मेयर जीवनकुमार श्रेष्ठले बजारको अवस्था ज्यादै अवस्थित रहेको बताए । उनका अनुसार उपमेयरको संयोजकत्वमा गठित उपभोक्ता हित संरक्षण समितिले अनुगमन गर्दै छ । अनुगमनका लागि २ लाख रुपैयाँ बजेट छुट्याइएको छ । स्थानीयका अनुसार बजार अनुगमनका नाममा बजेट सक्नेबाहेक कुनै प्रभावकारी काम हुन सकेको छैन ।

जिल्लाका सबैजसो स्थानीय तहले अनुगमनका नाममा बजेट खर्च गरिरहेका छन् । उपलव्धि लगभग शून्य छ । बजारमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खाने कुरा छ्यापछ्याप्ती छन् । यसमा अनुगमनकर्ताको ध्यान गएको छैन । अधिकांश व्यवसायीले बजार अनुगमन निर्देशिका २०७४ विपरीत व्यापार गरिरहेको पाइए पनि अनुगमन टोलीको ध्यान नगएको स्थानीय बताउँछन् । निर्देशिका पालना नगर्ने व्यापारीलाई पालिकाबाट गठित अनुगमन समितिले चेतावनी दिएर छाड्ने चलन अझै छ । गलत क्रियाकलाप गर्ने व्यवसायीलाई दण्ड तथा जरिवाना तोकेर कारबाही गर्नुपर्ने उपभोक्ताको मागलाई बेवास्ता गरिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले नाम मात्रको बजार अनुगमन भइरहेको आरोप लगाए । उनले भने, ‘प्रभावकारी अनुगमन गर्नेभन्दा पनि बजेट कसरी सक्ने भन्ने चिन्ता देखिएको छ ।’ विगतमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य संघको समन्वयमा अनुगमन हुन्थ्यो । अनुगमन समितिले सूचनाबिनै स्थलगत अनुगमन गर्नुपर्ने हुन्छ ।


तर, पहिल्यै जानकारी दिएर अनुगमनमा जाँदा अखाद्य वस्तुहरू लुकाउने र गलत क्रियाकलाप ढाकछोप गर्न व्यवसायीलाई सहज भएको छ । आइतबार झापाको गौरीगन्ज क्षेत्रको बजार अनुगमनको सूचना सार्वजनिक भएपछि स्थानीय व्यवसायीले बजारै बन्द गराएका थिए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बजार अनुगमनको जिम्मा स्थानीय तहलाई हस्तान्तरण गरेको छ । घरेलु उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाका अनुसार स्थानीय तहसँग समन्वयमा अनुगमन भइरहेको छ ।


उनका अनुसार भद्रपुर, विर्तामोड, मेचीनगर, बुद्धशान्ति, गौरादह, हल्दिबारीलगायत स्थानमा अनुगमन जारी छ । मुख्य व्यापारिक केन्द्र दमक, विर्तामोड र मेचीनगर क्षेत्रका अधिकांश किराना पसल र मिष्ठान्न भण्डारमा म्याद गुज्रिएका र उत्पादन मिति उल्लेख नभएका सामग्री प्रशस्त छन् । मिति गुज्रिएका पिठो, बेसन, चकलेट, थुक्पा, पेय, भुजिया, दालमोड, पाउरोटी, बिस्कुट, सहेली ब्रान्डको रक्सीलगायतका सामानसमेत खुला बिक्री वितरण भइरहेको पाइएको छ ।


प्रकाशित : आश्विन १, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?