३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

देवनारायण साह

(मोरङ) — प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबार अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ । सामाजिक विकास समितिले बहुमतले पारित गरेको ‘मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ को प्रतिवेदनलाई कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेस सांसदहरुले बैठकमा अवरुद्ध गरेका हुन् ।

प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

प्रदेशमा विधेयक निर्माणमा असहमति जनाउँदै सदन अवरूद्ध भएको पहिलो पटक हो ।


१ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक २:४५ बजे बसेको थियो । सभामुख प्रदीपकुमार भण्डारीले बैठक सुरु गरेसँगै कांग्रेसका प्रदेशसभा सदस्यहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरु नबसेपछि सभामुख भण्डारीले आफ्ना कुरा राख्न प्रमुख प्रतिपक्षी दललाई ४ मिनेटको समय दिएका थिए ।


कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकमा नेकपाको स्कुल विभाग बनाउने जस्तो विषय लेखिएकोले यसलाई फिर्ता नगरे विरोध कायम रहने बताए । ‘रैतीलाई नागरिक बनाउने र नेपालको प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानले निर्माण भएको मनमोहन अधिकारीको उँचो व्यक्तित्वलाई उनकै उत्तराधिकारीले यो विधेयक ल्याएर पुड्को बनाउन लागेको छ,’ कार्कीले भने, ‘प्रजातान्त्रिक नेता भएका मनमोहन अधिकारीको व्यक्तित्व घटाउने कार्य हामी हुन दिँदैनौं । त्यसैले विधेयकमाथि अझै छलफल गरेर परिपक्व बनाउनु आवश्यक छ ।’

प्रमुख सचेतकले भनाई राखेपछि पनि प्रतिपक्षी कांग्रेसका सांसदहरु उभेर बिरोध जनाइरहँदा सभामुख भण्डारीले प्रतिपक्षीलाई बस्न आग्रह गरे । तर उनीहरू नबसेपछि भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । करिब आधा घण्टापछि बैठक पुनः सुरू भयो । तर उनीहरु पुनः उठेर विरोध जनाएपछि सभामुख भण्डारीले बुधबारसम्मका लागि बैठक स्थगित गरे ।


प्रकाशित : भाद्र ३१, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?