१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विपन्नलाई घर

तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ५५ लाख ५० हजारमा ३७ घर निर्माण गरिएको छ
अर्जुन राजवंशी

विर्तामोड — अभिभावकविहीन प्रकाश र आकाश रायले आइतबार घर पाए । १७ वर्षीय प्रकाश र १४ वर्षीय आकाश घर पाएपछि निकै खुसी देखिन्थे । दाजुभाइलाई सरकारले बस्ने घर निर्माण गरिदिएको हो ।

विपन्नलाई घर

उनीहरूले ६ वर्षअघि सवारी दुर्घटनामा बुबा गुमाएका थिए । तीन वर्ष अघि आमाले अर्को घरजम गरेपछि राय दाजुभाइ साहारा बिहीन बनेका हुन् । बस्ने घर थिएन । कमाई गरेर खुवाउने कोही छैनन् । नजिकै रहेकी काकीको साहारामा उनीहरू हुर्किरहेका छन् ।

बिर्तामोड नगरपालिकाले तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत वडा नं. ८ का १० वटा टोलमा ३७ वटा घर निर्माण गरेको छ ।


अतिविपन्न परिवारका लागि निर्माण गरिएका घर आइतबार हस्तान्तरण गरियो । वर्षौदेखि बसोबास गरे पनि गरिबीका कारण घर बनाउन नसक्ने परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको मेयर ध्रुवकुमार सिवाकोटीले बताए । मजदुरी गरेर आफैले घर बनाउन नसक्ने अवस्था भएका परिवारलाई घर निर्माण गरिदिएको उनले बताए ।


तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ५५ लाख ५० हजारको बजेटमा ती घर निर्माण गरिएका हुन् । गत माघदेखि निर्माण थालेर अहिले हस्तान्तरण गरेको घर निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज गौतमले बताए । प्रति घर १ लाख ५० हजार रुपैयाँको खर्चमा निर्माण गरेको गौतमले जानकारी दिए ।


फन्डिसन र पिलर सिमेन्टेट गरेको, चित्राको टाँटीबेरा, बाँसको बटम–पती तथा जस्तापाताको छाना लगाएर घर निर्माण गरिएको छ । सीमान्तकृत मुसहर, सन्थाल, दलित जातजातिका अतिविपन्न परिवार घर पाएपछि खुसी भएका छन् ।


गत वैशाखमा श्रीमान् गुमाएकी २७ वर्षीया निहा मर्डीलाई नयाँ घर पाएपछि दुई जना छोराछोरीसहित ओत लाग्न सहज भएको छ । ‘दैनिक ज्यालादारी गरेर छोराछोरीलाई हुर्काइरहेकी छु,’ मर्डीले भनिन, ‘बस्ने राम्रो घर नहुँदा साह्रै विजोग थियो । सरकारले घर बनाइदियो । साह्रै खुसी लागेको छ ।’


नगरपालिकाले जग्गा भएका तर घर बनाउन नसक्ने परिवारलाई घर निर्माण गरिदिएको मेयर सिवाकोटीले बताए । आगामी वर्षमा जग्गा र घर दुवै नभएका विपन्न परिवारका लागि पनि योजना बनाउने गृहकार्य भइरहेको उनले बताए । उक्त घर निर्माणमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र ह्याविटाट फर ह्यूमानिटीले प्राविधिक सहयोग गरेका थिए ।


बिर्तामोड नगरपालिकाले बिहीबार पनि वडा नं. ७ का विपन्न सन्थाल समुदायका ३४ परिवारलाई घर हस्तान्तरण गरेको थियो । मुन्सी टोलका सन्थाल जातिका लागि नगरपालिकाले सहारा नेपाल र ह्याविटाट फर ह्युमानिटी सँगको साझेदारीमा ती घर निर्माण गरिदिएको हो ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?