२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

असहमतिबीच विधेयकको प्रतिवेदन पारित

विराटनगर — प्रदेश १ को सामाजिक विकास समितिमा छलफलमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक सोमबार बहुमतका आधारमा पारित भएको छ । प्रतिवेदनमा प्रमुख प्रतिपक्षी कांग्रेसले असहमति जनाएको थियो । उसले प्रतिवेदनमाथि फरक मत प्रस्तुत गरेको छ । 

विधेयकका कतिपय प्रावधान नसच्याएसम्म प्रदेशसभाबाट पारित हुन नदिने कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बताए । उनले समितिको निर्णय पुस्तिकामा विधेयकलाई एकलौटी ढंगले जबर्जस्ती पारित गर्न खोजिएको बताउँदै असहमति जनाएका छन् ।

विधेयकलाई समृद्ध बनाएर लैजाने विषयमा आफूहरूलाई आपत्ति नहुने भए पनि अहिलेकै अवस्थामा जबरजस्ती पारित गर्न खोजिए संसदमा पनि प्रतिकार गर्ने कार्कीले बताए । विधेयकमा व्यवस्था गरिएको विश्व्विद्यालयको बोर्ड अफ गभनर्स नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई नै विश्वविद्यालयको संरक्षक बनाउनेलगायत प्रावधान असंवैधानिक रहेको कार्कीको भनाइ छ ।


समिति सभापति सरिता थापाले विधेयक माथिको प्रतिवेदनमा कांग्रेसले संशोधन गरेका कतिपय विषय पनि समेटिएको दाबी गरिन् । गत आइतबार समितिले प्रदेशसभामा प्रतिवेदन लैजाने तयारी गरेको थियो । कांग्रेससँग सहमति गर्ने प्रयासमा बैठक लम्ब्याउँदा प्रदेशसभा बैठक समेत चल्न सकेको थिएन ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?