युरिया चाहिएका बेला डीएपी

भूषण यादव

वीरगन्ज — पर्साको कालिकामाई गाउँपालिका– ५ का किसान अमिका हजरा आफ्नो साढे एक बिघा धान खेतीमा चाहिने युरिया मलका लागि भौंतारिरहेका छन् । 

युरिया चाहिएका बेला डीएपी

गाउँको सहकारी र वीरगन्जमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा दिनहुँ मलको जानकारी लिन्छन् । ‘अहिले युरिया मल धानबालीमा छर्किएन भने उत्पादन घट्छ,’ उनले भने, ‘धान बिग्रदै छ ।’ कालिकामाई– १ मुड्लीका रामअयोध्या राउतले गत असारमा एक बिघा खेतमा धानको बिउ रोपेका थिए । ‘मल नहाल्दा धान बाली सुख्न थालिसक्यो,’ चिन्तित हुँदै उनले भने, ‘गाउँमा अहिलेसम्म कसैले युरिया मल पाएको छैन्, बाटो कुरिरहेका छौँ ।’


असारमा धान रोपाई गरेका किसानले युरिया मल पाएका छैनन् । केही किसानले महँगो मूल्यमा भारतीय बजारबाट युरिया खरिद गरी ल्याएका छन् । त्यसरी खरिद गरी ल्याउँदा दुवै तिरका सुरक्षाकर्मीलाई पैसा दिनुपरेको गुनासो गरेका छन् । बहोदरमाई गाउँपालिका १ विश्रामपुरका मदन यादवले यता युरिया नपाएपछि तीन सय रुपैयाँ बढी मूल्यमा भारतीय बजारबाट युरिया खरिद गरेको बताए । ‘बीएसएफ र नेपाल पुलिसलाई पैसा दिएर जसोतासो युरिया ल्याइयो,’ उनले भने, ‘खेती किसानी धेरै कठिनाइ भइसक्यो ।’


मल उपलब्ध गराउने कृषि सामग्री कम्पनीले केही दिनमै युरिया मल आइपुग्ने आश्वासन दिइरहेको छ । यही भदौमा कृषि सामग्रीले २५ हजार मेट्रिक टन (मेट) डीएपी मल साउदी अरेबियाबाट आयात गरेको छ । युरिया मल चाहिएको बेला डीएपी भित्र्याएकोमा किसानले गुनासो गरेका छन् । ‘असारमा रोपिएको धानका लागि भदौमा युरिया मल चाहिन्छ, यो सबैलाई थाहा भएको कुरा हो,’ अमिका हजरा भन्छन्, ‘युरिया नपाएर धान जल्न थालिसक्यो, कृषि सामग्री भने डीएपी ल्याएको छ ।’


कृषि सामग्री कार्यालय वीरगन्जका प्रमुख गोविन्द पराजुलीका अनुसार विगत साढे एक महिनादेखि युरिया मल अभाव रहेको छ । ३० हजार मेट्रिक टन युरियाका लागि गत आर्थिक वर्षमै ग्लोबल टेन्डर भइसकेको उनले जनाए । ‘आपूर्तिकर्ता कम्पनीले पठाएको युरिया यही साता वीरगन्ज सुक्खा बन्दरगाहमा आइपुग्छ,’ उनले भने, ‘जसमध्ये वीरगन्जलाई १२ हजार मेट, भैरहवा १० हजार र विराटनगर साढे सात हजार मेट आपूर्ति हुन्छ ।’


कृषि सामग्री कम्पनी खरिद महाशाखाका विष्णु पोखरेलले बजेटको ढिलाइका कारण मल खरिदमा पनि ढिलाइ भएको जनाए । ‘अघिल्लो आर्थिक वर्षको बजेटले भ्याउने ल्याइसक्यो,’ उनले भने, ‘बजेट जेठमा आए पनि मल खरिद गर्ने निर्देशन हामीलाई चैतमा आएको थियो, माघ/फागुनमा आएको भए केही छिट्टो आयात हुन्थ्यो ।’


किसानको मागबमोजिम आपूर्ति गर्न नसकिएकाले मल अभाव सधैँ कायमै रहेको उनले सुनाए । ‘किसानको मागको ५० प्रतिशत पनि सप्लाई गर्न सकेका छैनौँ,’ उनले भने, ‘मल खरिदका लागि बजेट अभाव छ ।’ कृषि ज्ञान केन्द्रका प्राविधिक श्याम चौरसियाका अनुसार धान बालीमा तीन पटक रासायनिक मल आवश्यक पर्छ । उनका अनुसार रोपाई गर्ने बेलामा डीएपी मल आवश्यक पर्छ । त्यसपछि २५–३० दिनमा पहिलो गोडमेल गरी गाँज संख्या बढाउन डीएपी र जिन्क छर्किनुपर्छ ।


अन्तिम समयमा धानबालीको लम्बाई बढाउन र दाना बढी फलाउन युरिया मल आवश्यक छ । ‘तर, दुर्भाग्य रोपाइँका बेला डीएपीको अभाव झेलेका किसानले अहिले युरियाको अभावमा छन्,’ चौरिसयाले भने, ‘अहिले धान बालीमा रोग देखापरेको छ । यसले उत्पादकत्वमा असर गर्छ ।’

प्रकाशित : भाद्र ३१, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?