१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१५ दिनभित्र कार्यविधि तयार गर्न मुख्यमन्त्रीको निर्देशन 

विनु तिम्सिना

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ दिनभित्र आवश्यक कार्यविधि तयार पार्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । उनले प्रदेश सरकारले बजेट कार्यान्वयन गर्नका लागि बनाएको नयाँ क्यालेण्डर पूर्णरुपमा लागू गर्न समेत निर्देशन दिएका छन् ।

१५ दिनभित्र कार्यविधि तयार गर्न मुख्यमन्त्रीको निर्देशन 

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विराटनगरमा बजेट कार्यान्वयनका लागि सांसदहरुसँग गरेको छलफलमा दसैं अगाडिसम्ममा आवश्यक कार्यविधि र निर्देशिका तयार पार्न निर्देशन दिएका हुन् । चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएका सम्पुर्ण कार्यक्रम तथा योजनाको बजेट जेठ १५ भित्र खर्च गर्ने तयारी रहेकाले त्यसै अनुसार तुरुन्तै कार्यविधि तयार गरेर काम सुरु गर्न उनले निर्देशन दिए ।


मुख्यमन्त्री राई जनताले बुझ्ने सरल खालको कार्यविधि बनाउन आग्रह गरे । ‘आजको मितिले १५ दिनभित्रमा आवश्यक निर्देशिका र कार्यविधि बन्नुपर्छ,’ उनले भने, ‘कार्यविधि बनाउँदा जनता केन्द्रीत हुनुपर्छ । खास व्यक्तिको कमिसन र सेटिङमा केन्द्रीत कार्यविधि बन्नु हुँदैन ।’


प्रदेश सरकारले वितरण गर्ने अनुदानहरुलाई पारदर्शी, प्रभावकारी र जनमुखि बनाउन कार्यविधि र निर्देशिकाहरु संशोधन गर्ने भन्दै मुख्यमन्त्री राईले गरिबको हातमा सजिलै पुग्ने गरी अनुदान कार्यविधि तयार पार्ने बताए । प्रदेशका सांसदहरुले नै अनुदान वितरण प्रकृया जटिल भएको, क्षेत्रगत विभेद भएको र पहुँचको आधारमा वितरण हुने गरेको बताएकाले मुख्यमन्त्री राईले यसअघि बनेका कार्यविधि र निर्देशिकाहरु संशोधन गर्न पनि सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिए ।


सांसदहरुले सम्पन्न भइसकेका योजनाहरुमा समेत पटक पटक बजेट विनियोजन हुने, आफ्नै क्षेत्रमा सञ्चालन भएका योजनाका विषयमा समेत जानकारी नहुने, प्रकृया पुरा गरेर माग गरिएको योजना नपर्ने र मागै नगरिएका योजनामा आवश्यकता भन्दा बढी बजेट विनियोजन भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।


जेठ १५ भित्र सबै योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित प्रदेश सरकारले योजना छनोट, बजेट निर्माण, कार्यक्रम तर्जुमा, खर्चको अख्तियारी, कार्यविधि तथा निर्देशिका निर्माण र निकासाको स्पष्ट मार्गचित्रसहित नयाँ क्यालेण्डर तयार गरेको छ । नयाँ क्यालेण्डर कार्यान्वयनका लागि कुनै बाधा वा समस्या भए १५ दिनभित्रै समाधान खोजिसक्न पनि मुख्यमन्त्री राईले सचिवहरुलाई निर्देशन दिएका छन् ।


‘भोलि गएर कुनैपनि बहाना बनाएर योजना अड्काउने र कार्यान्वयन नगर्ने छुट पाइने छैन,’ उनले भने, ‘जनतालाई दुःख हुने र अस्पष्ट विषयहरु सबै तुरुन्तै अध्ययन गरेर समाधान खोज्नुहोस् ।’

प्रकाशित : भाद्र ३०, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?