चन्द समूहका ‘जनसरकार’ प्रमुख र सेक्रेटरी पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा — झापा प्रहरीले सोमबार बिहान नेत्रविक्रम चन्द समूहका झापा ‘जनसरकार’ प्रमुख टीका पोख्रेलसहित दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरी स्रोतका अनुसार ‘जनसरकार’ प्रमुख पोख्रेल र जिल्ला सेक्रेटरी प्रणीण मिश्रलाई विर्तामोड बजारबाट नियन्त्रणमा लिएको हो । पार्टी कामको सिलसिलामा उनीहरु मोटरसाइकल चढेर जाँदै गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७६ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्

न्याय माग्दै देवतालाई भाकल

तुलाराम पाण्डे

कालीकोट — न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थान (मन्दिर) पुग्ने गरेका छन् । गाउँमा हुने सानातिना चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने गरेका हुन् ।

कालीकोटको खाडाचक्र–४ ताडीस्थित मष्टो धलपुरो देवताको थान (मन्दिर) मा धामी नाचिँदै । तस्बिर : तुलाराम/कान्तिपुर

स्थानीयले देवीदेवताको मन्दिरमा भाकल गर्न नयाँ कपडा लगाउने गरेका छन् ।‘बरु दसैंतिहारमा नयाँ लुगा लगाउने चलन
छैन,’ बडिमालिका माईका पुजारी कृष्णप्रसाद धमालाले भने, ‘देवीदेवताको पैठमा नया लुगा लगाउनैपर्ने चलन छ ।’ रास्कोट–८ का वडाध्यक्षसमेत रहेका धमालाले घरमा नहुनेले पनि ऋण खोजेर पनि नयाँ लुगा खरिद गर्ने चलन रहेको सुनाए ।

देवीदेवताप्रति बढी विश्वास विपन्न र आर्थिक रूपमा कमजोर व्यक्तिको छ । ‘अड्डा अदालतमा धेरैजसो बाठाटाठा मात्र जान्छन्,’ मान्म–७, ताडीका धामी भाने विश्वकर्माले भने, ‘कानुन नजान्नेका सहारा देवता हुन् ।’ उनले ढिलो भए पनि देवताले न्याय दिने विश्वास रहेको दाबी गरे । उनका घरमा पैठको बेला मात्र नभएर सधैंजसो धामी हेराउनेको भीड लाग्छ । बिरामी परे अस्पतालभन्दा पहिले धामीकहाँ पुग्ने चलनसमेत ग्रामीण क्षेत्रमा छ ।

धर्म, संस्कृतिअनुसार सन्तानका लागि भाकल गर्ने, विवाह व्रतबन्ध, लगन र साइतजस्ता कामका लागि पनि ग्रामीण बस्तीमा देवता गुहार्ने चलन रहेको जिल्ला बारका अध्यक्ष दमनराज बमले बताए । ‘धार्मिक आस्था महत्त्वपूर्ण हुने रहेछ,’ उनले भने, ‘देवीदेवताको डरले यहाँका बासिन्दा अपराध गर्न हच्किन्छन् ।’

परम्परादेखि पुजिँदै आएका मस्टो, धवलपुरो, कालाशिल्लो, कैलाश, महादेव, नैनेल, महाबै जगन्नाथ, खापरलगायत मन्दिरका धामीले अन्याय परेकालाई न्याय दिने जनविश्वास छ । देवताका धामीले झैझगडा, जारी, चोरी, जग्गा, जमिन, साँध सिमाना, अंशबन्डा जस्ता मुद्दाको फैसला माडु (थान) बाटै गर्ने चलन रहेको वरिष्ठ अधिवक्ता तुलाराज विष्टले बताए । ‘सानातिना मुद्दा देवताका धामीले नै मिलाउँछन्,’ उनी भन्छन्, ‘अदालतमा पुगेका मुद्दामा समेत देवता पुकारेर मिलापत्र हुने गरेका छन् ।’ उनले अदालतमा झुट बोले पनि देवताको मन्दिरमा सत्य बोल्ने भएकाले बढी विश्वासभएको जनाए ।

जिल्लाका विभिन्न स्थानमा जेठ पूर्णिमा, साउने पञ्चमी, जनैपूर्णिमा, अनन्ते पूर्णिमा, कोजाग्रत पूर्णिमा र मंसिर पूर्णिमामा मेला लाग्ने गरेको छ । मेलामा आफन्त भेटघाट गर्ने, धामी पर्तुने (नाच्ने), देउडा खेल्ने चलन रहेको रास्कोट–५, का धामी कालीबहादुर बमले सुनाए । उनका अनुसार देवताको पैठ (पूजा गर्ने दिन) धामीझाँक्रीले सेतो लुगा लगाउने र अन्यले नयाँ कपडा लगाएर पैठ हेर्न जाने चलन छ ।

जिल्लाका बासिन्दाले दसैंतिहारभन्दा पनि देवीदेवताको पैठलाई बढी महत्त्व दिने चलन रहेको स्थानीय भरतबहादुर शाहीले बताए । उनले देवताको पूजा गर्ने बेला कमाइका लागि भारत गएकाहरू गाउँ फर्किने गरेको बताए । प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका दिन स्थानीयवासी बडिमालिका, चुलिमालिका, पुगमालिका, महाबुंअ, गरुडस्नानी, पूजामालिकालगायत देवीदेवताका मन्दिरमा पूजाआजाका लागि जाने गरेका छन् ।

जिल्लामा ‘मुखाला (बाठाटाठा) को राजा (सरकार) र निमुखा (लाटासोझा) को देवता’ भन्ने भनाइ लामो समयदेखि चलिआएको छ । धर्मसंस्कृति र परम्पराको नाममा केहीले सोझा जनतालाई ठग्ने गरेको सामाजिक अगुवा वीर तिरुवाले बताए । ‘सामाजिक परम्पराको नाममा सोझासाझालाई ठग्ने काम भइरहेको छ,’ उनले भने, ‘पुस्तौंदेखि चलिआएका असल चलनलाई कायम राखेर अन्धविश्वास हटाउनुपर्छ ।’ उनले चरित्र सुधार्न नैतिक शिक्षाको खाँचो रहेको बताउँदै दलितलाई अझै पनि कतिपय देवताका मन्दिरमा विभेद हुने गरेको सुनाए ।

देवीदेवताका शक्तिले केही धामीले रोटी पाकिरहेको तेल पिउनु, फलामे त्रिशुल औंलाको भरमा भाँच्नु, बलेको आगोमा घन्टौंसम्म खाली खुट्टा पर्तुन (नाच्न) सक्नुले देवताप्रति सर्वसाधारणको विश्वास कायमै रहेको खाडाचक्र–२, थामकोटका धामी करवीरे विश्वकर्माले बताए । जिल्ला अदालतमा परेका न्यून मुद्दाले पनि अदालती न्यायभन्दा देवीदेवतामा बढी विश्वास हुने गरेको कानुन व्यवसायी अमलराज शाहीको बुझाइ छ ।

कालीकोट जिल्ला अदालतको मुद्दा फाँटका डिट्ठा कपिलकुमार कार्कीका अनुसार गत वर्ष जिम्मेवारी सरेर आएका एक सय र चालु आर्थिक वर्षमा दर्ता भएका २१ थान मुद्दा अदालतमा छन् । अदालतमा सबैभन्दा बढी लेनदेनका ७ थान मुद्दा दर्ता भएको उनले जानकारी दिए ।

जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीले कानुनी साक्षरता र शिक्षाको कमीले न्यायालयभन्दा देवीदेवतामा बढी विश्वास हुने गरेको बताए । ‘जन्मेदेखि नै देवीदेवताको विश्वास हुँदै आएको समाजमा देवताको बढी विश्वास मान्नु स्वाभाविकै हो,’ उनले भने, ‘कानुनी प्रक्रिया लामो र केही झन्झिटिलो मानेर पनि मठमन्दिरमा जाने गरेको हुन सक्छ ।’ उनले पीडितलाई न्याय दिलाइएको दाबी गरे ।

प्रकाशित : भाद्र ३०, २०७६ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्