कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विधेयकमा सहमति नजुट्दा प्रदेशसभा बैठक स्थगित

विनु तिम्सिना

(विराटनगर) — आइतबार दिउँसो २ बजेका लागि डाकिएको १ नम्बर प्रदेशसभाको बैठक बिजनेस अभावमा स्थगित भएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकमाथिको छलफलको प्रतिवेदन प्रदेशसभाको सामाजिक विकास समितिबाट आउने अपेक्षासहित गते शुक्रबार आइतबारका लागि बैठक बोलाइएको थियो । 

विधेयकमा सहमति नजुट्दा प्रदेशसभा बैठक स्थगित

विधेयकको प्रतिवेदन वा अन्य बिजनेस नहुँदा बैठक स्थगित भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । ‘संसद्‌ चलाउन बिजनेस चाहिन्छ, समितिबाट प्रतिवेदन आउने कुरा भएको थियो र बैठक बोलाइएको थियो,’ सभामुख भण्डारीले भने, ‘तर, प्रतिवेदन वा अन्य बिजनेस नभएका कारण पर्सि भदौ ३१ गते १ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।’


प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक सामाजिक विकास समितिमा छलफलमा छ । समितिको आइतबारको बैठकबाट दफावार छलफल सकिएको र विज्ञहरुसँगको परामर्श पनि गरिसकेको समिति सभापति सरिता थापाले जानकारी दिइन् । ‘छलफल त अरु विधेयकमा पनि गर्दा हुन्थ्यो, हामी छलफलमै भएको कारण मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकमा समितिको तर्फबाट फाइनल प्रतिवेदन छिटो दिने गरी छलफल गरिरहेका छौं,’ थापाले भनिन्, ‘दफावार छलफल सकिएको छ, विज्ञसँगको छलफल पनि सकिएको छ, सोमबारको बैठकबाट हामी टुंग्याउने प्रयासमा छौं ।’


सोमबारको बैठकबाटै फाइनल प्रतिवेदन आउने–नआउने अहिल्यै भन्न नसकिने थापाले बताइन् । सभापति थापाले आफ्नो समितिले प्रतिवेदन दिन नसक्दा बैठक नै स्थगित गर्नुपर्ने कारण नभएको बताइन् । ‘बैठक स्थगित हुनुको कारणबारे मलाई जानकारी भएन,’ थापाले भनिन्, ‘त्यो सभामुखको विषय हो, सरकारको विषय हो ।’


नेपाली कांग्रेसले भने उक्त विधेयकका कतिपय प्रावधान नसच्याएसम्म पारित हुन नदिने बताउँदै आएको छ ।

प्रकाशित : भाद्र २९, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?